सुनसरी। नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलगायतका चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लास्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा गस्ती, निगरानी तथा परिचालनलाई थप प्रभावकारी बनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनीषकुमार थापाको निर्देशन तथा नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक लभकुमार सापकोटाको सक्रियतामा चाडपर्वका समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गण तथा मातहतका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बिओपी) मार्फत विशेष निगरानी तथा सुरक्षा गतिविधि सञ्चालन भइरहेका छन्।
यसैक्रममा बाहिनीपति थापाले सुनसरीका विभिन्न सीमानाकाको निरीक्षण गरी नागरिक सहायता कक्ष स्थापना, सीमास्तम्भ तथा दसगजा क्षेत्रको निगरानी र अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन्। साथै, उच्च मनोबल, अनुशासन र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै सीमा सुरक्षा प्रभावकारी बनाउन भारतीय समकक्षी सुरक्षा अधिकारीहरूसँग समेत छलफल गरेका छन्।

सीमा सुरक्षामा आपसी समन्वय, सहकार्य तथा सूचना आदानप्रदानको महत्त्वलाई आत्मसात् गर्दै सीमावर्ती क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न दुवै देशका सुरक्षा निकायबिच समन्वय सुदृढ बनाउने प्रयास गरिएको छ।
त्यस्तै, ०८३ असोज ३१ गते दिउँसो सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका– ३, पाँचौँ सिमरस्थित सहायक सीमास्तम्भ नं. १८९/१ (WP 1) नजिक नेपाली तथा भारतीय सुरक्षा निकायका प्रतिनिधि, स्थानीय सीमावासीको सहभागितामा अन्तरक्रिया तथा छलफल, सीमा क्षेत्रको अनुगमन र संयुक्त सीमा गस्ती सञ्चालन गरिएको थियो।
सीमा क्षेत्रमा नियमित रूपमा हुँदै आएका सुरक्षा गतिविधिलाई निरन्तरता दिँदै चाडपर्वका समयमा हुन सक्ने अवैध ओसारपसार, अन्तरसीमा अपराध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले दैनिक रूपमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा टोली परिचालन गरिँदै आएको छ। जिल्लाभरका अन्तर्राष्ट्रिय सीमा नाका, सीमावर्ती बस्ती तथा संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर छोटो तथा लामो दूरीका गस्ती सञ्चालन गरिएका छन्।
सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पैदल गस्ती, मोबाइल गस्ती, आकस्मिक चेकजाँच, सवारीसाधन तथा सामानको निगरानी, सीमास्तम्भ र दसगजा क्षेत्रको अनुगमनका साथै नेपाल प्रहरीसँगको समन्वयमा संयुक्त गस्ती तथा चेकजाँच सञ्चालन गरिँदै आएको छ।

साथै, सुनसरी जिल्लाका अमडुवा, घुस्की, साहेबगन्ज, कप्तानगन्ज, हरिनगरा, बसन्तपुर, लौकही, भन्टाबारीलगायतका सीमावर्ती बस्तीमा स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरी सीमा सुरक्षा, नागरिक सहायता, सुरक्षा निकायप्रतिको अपेक्षा र सीमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न नागरिकको भूमिकाबारे विचार आदानप्रदान गरिएको छ।
सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले नेपाल प्रहरी, स्थानीय तह तथा स्थानीय समुदायसँग समन्वय र सहकार्य गर्दै आएको छ। साथै, सीमावर्ती क्षेत्रमा शान्तिसुरक्षा कायम गर्ने, सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्ने तथा आपसी समझदारी र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूसँग समेत आवश्यक समन्वय गर्दै आएको बताइएको छ।
सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति र निगरानीलाई प्रभावकारी बनाउनुका साथै सीमावासी नागरिकसँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नागरिक सहायता तथा सहजीकरणका गतिविधिलाई समेत प्राथमिकता दिइएको छ। स्थानीय तह, नेपाल प्रहरी तथा स्थानीय समुदायसँगको समन्वय र सहकार्यबाट सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने प्रयास गरिएको छ।
सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायको सक्रियता मात्र पर्याप्त नहुने भएकाले स्थानीय नागरिकसँगको सहकार्य, सूचना आदानप्रदान तथा आपसी विश्वाससमेत महत्त्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा सीमावासी नागरिकसँगको निरन्तर संवादले सीमा क्षेत्रमा हुन सक्ने शंकास्पद गतिविधिबारे समयमै जानकारी प्राप्त गर्न, गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न तथा नागरिकमैत्री सुरक्षा प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चाडपर्वका समयमा सीमावर्ती क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी सञ्चालन गरिएका गस्ती, निगरानी तथा सुरक्षा परिचालनले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुका साथै अन्तरसीमा अपराध नियन्त्रण, अवैध ओसारपसार निरुत्साहन र आमनागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्न प्रत्यक्ष तथा परोक्ष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सीमा सुरक्षा, राष्ट्रको सुरक्षा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले देशभर नियमित सुरक्षा परिचालनसँगै चाडपर्वलक्षित निगरानी तथा नागरिक सहकार्यलाई प्राथमिकता दिएको छ।