सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद

सोमबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लुकाएर ओसारपसार गरिरहेको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न चालक तथा अन्य व्यक्तिहरू भने फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबीको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दुहबी नगरपालिका– ६ स्थित बुढीखोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।

प्रहरीका अनुसार ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४च ६०६३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणमा गाँजा बरामद गरिएको हो। एम्बुलेन्सका चालक तथा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू घटनास्थलबाट फरार भएकाले उनीहरूको खोजी भइरहेको छ।

बरामद एम्बुलेन्स कुन संस्थाबाट सञ्चालित थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। एम्बुलेन्समा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई झुक्याउने प्रयास गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

यसैबिच, सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेटसमेत बरामद गरेको जनाएको छ। उक्त घटनाबारे थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

गाँजा बरामद भएको घटनामा संलग्न व्यक्तिको पहिचान, एम्बुलेन्सको वास्तविकता र लागुऔषध ओसारपसारको सञ्जालबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

सुझावित समाचार