कांग्रेस अब गुटबन्दीमुक्त भएर अघि बढ्छ: पुष्पा भुसाल

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताएकी छन्। उनले अबका दिनमा कांग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै उनले पार्टीलाई चुनावी मोडमा लैजान र जनताको विश्वास जित्न संगठनलाई थप सुदृढ बनाउनु अपरिहार्य रहेको बताइन्। उपसभापति भुसालले कांग्रेसको गौरवपूर्ण इतिहास र लोकतान्त्रिक मूल्य-मान्यतालाई जोगाउँदै मुलुकका आर्थिक, सामाजिक र राष्ट्रिय मुद्दाहरूमा पार्टीले सशक्त भूमिका खेल्ने स्पष्ट पारिन्। विगतको निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसक्नुमा संगठन परिचालनको अभाव, समयको कमी र आन्तरिक गुटबन्दी मुख्य कारण रहेको स्वीकार गर्दै उनले अब त्यस्तो कमजोरी दोहोरिन नदिने बताइन्।

नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको उल्लेख गर्दै उनले संगठनलाई एकताबद्ध, बलियो र ऊर्जावान बनाउँदै जनसरोकारका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, सुशासन, लोकतान्त्रिक मूल्य-मान्यता र जनताका समस्यामा पार्टीले आफ्नो दृष्टिकोण भाषणमा मात्र होइन, कामबाट देखाउन आवश्यक छ।

 

सुझावित समाचार