मकवानपुर/ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा-काठमाडौं जोड्ने छोटा मार्गमा सवारी चाप बढ्दा तीन घण्टाको यात्रालाई ६ देखि सात घण्टासम्म लागेको छ ।
भीमफेदी–कुलेखानी खण्डमा दुवैतर्फ जाम भएर यात्रुले सास्ती खेपिरहेका बेला मकवानपुर प्रशासनले कान्ति राजमार्ग चौबिसै घण्टा प्रयोग गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
धादिङको गलौदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं जाने सवारी मकवानपुर हुँदै आउन थालेका छन् । त्यसको प्रत्यक्ष असर हेटौँडा–भीमफेदी–देउराली–कुलेखानी हुँदै सिस्नेरी र फाखेलबाट काठमाडौं जोडिने मार्गमा परेको छ ।
यी मार्गमा नियमित चल्ने सवारीसँगै पश्चिमबाट आएका सवारीको चाप थपिँदा काठमाडौं जाने र हेटौँडातर्फ फर्कने दुवै दिशाका यात्रु प्रभावित भएका छन्। सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने यात्रामा अहिले थप तीनदेखि चार घण्टा लाग्ने गरेको छ ।
हेटौँडाबाट सिस्नेरी र फाखेल हुँदै काठमाडौं जाने सवारीले भीमफेदी–देउराली–कुलेखानी खण्ड प्रयोग गर्छन्। यही साझा खण्डमा दुवैतर्फ जाम हुँदा त्यसको असर दुवै मार्गको यात्रामा परेको छ।
विशेषगरी भीमफेदीदेखि कुलेखानीसम्म आवागमन सुस्त छ। विपरीत दिशाबाट आउने सवारीको समेत चाप हुँदा यात्रुले उक्त खण्ड पार गर्न लामो समय कुर्नुपरेको छ। पृथ्वी राजमार्गको विकल्प खोजेर आएका यात्रुसँगै हेटौँडा–काठमाडौं नियमित आवतजावत गर्ने यात्रु पनि जाममा परेका छन्।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा ठूला सवारीसाधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। छोटा मार्गमा समेत सवारीको चाप बढेपछि प्रशासनले चालकलाई ट्राफिक नियम र अनुशासन पालना गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख वसन्त अधिकारीले कान्ति राजमार्गमा हाल कुनै अवरोध नरहेको बताए । उनले हेटौँडाबाट काठमाडौं जान र काठमाडौंबाट हेटौँडा आउन उक्त राजमार्ग चौबिसै घण्टा प्रयोग गर्न सकिने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
‘अहिलेको अवस्थामा कान्ति राजमार्गमा कतै पनि अवरोध छैन। हेटौँडाबाट काठमाडौं जान र हेटौँडा आउन कान्ति राजमार्ग चौबिसै घण्टा प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाएका छौँ,' उनले भने ।
मकवानपुर प्रशासनले १० चक्केसम्मका सबै प्रकारका मालवाहक सवारीसाधन, यात्रुवाहक बस, बोलेरो, सुमो र पिकअपलगायत सवारी रातिको समयमा सञ्चालन गर्दा राजमार्गमा खटिएका सुरक्षाकर्मीसँग पर्याप्त सूचना लिन आग्रह गरेको छ ।
हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने सवारीको चाप अत्यधिक बढेको उल्लेख गर्दै प्रशासनले यात्रा सुरु गर्नुअघि सडक र ट्राफिकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ ।