- प्रधानमन्त्री बन्ने महत्वाकांक्षासहित पार्टी नेतृत्वमा आएका गगन थापासामु एकीकृत पार्टी निर्माण गर्दै कांग्रेसलाई देशकै सबैभन्दा ठुलो राजनीतिक शक्ति बनाएर सिंहदरबारको कमान्ड सम्हाल्न चुनौती
गत पुसमा विशेष महाधिवेशनबाट कांग्रेसको अन्तरिम कमान्ड सम्हाल्दै आएका गगनकुमार थापा १५औँ नियमित महाधिवेशनबाट ९३ प्रतिशतभन्दा बढी मतसहित सभापति निर्वाचित भएका छन् । गत वर्ष २३ र २४ भदौको जेन–जी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट अन्तरिम नेतृत्व लिएका ५० वर्षीय थापाले अब चार वर्ष कांग्रेसको नेतृत्व सम्हाल्नेछन् । विद्यार्थी राजनीतिबाट उदाएका थापा सडक आन्दोलन, संसदीय राजनीति र सरकारको जिम्मेवारी हुँदै पार्टी नेतृत्वको शिखरमा पुगेका हुन् ।
थापासँग नेपालको विद्यमान राजनीतिक दलहरूमध्ये सबैभन्दा पुरानो पार्टी कांग्रेसको पूर्ण नेतृत्व आएको छ । थापाले अब कांग्रेसलाई रूपान्तरण गर्ने र राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनाउने जिम्मेवारी पाएका छन् । जेन–जी आन्दोलनपछि कांग्रेसमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण भएको छ । यद्यपि, कांग्रेसभित्र विशेष महाधिवेशन र त्यसपछि भएको नेतृत्व परिवर्तनको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
सभापति पदका लागि थापासँग श्यामकृष्ण खड्गीले प्रतिस्पर्धा गरेका थिए । सुरुमा सभापतिमा उम्मेदवारी दिएका अर्का नेता किशोरसिंह राठोरले भने थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । शनिबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी खड्गीले ३७५ मत पाएका छन् ।
शुक्रबार भएको मतदानमा कुल सात हजार १३ मत खसेको थियो । सभापतिको मतगणना शुक्रबार राति नै थालिएको थियो । निर्वाचन समितिका अनुसार कुल मतमध्ये ५४ मत बदर भएका थिए । खसेको सदर मतका आधारमा थापाले ९३.६३ प्रतिशत मत प्राप्त गरेको समितिले जनाएको छ । उनका प्रतिस्पर्धी खड्गीले ५.३५ प्रतिशत मत पाएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा जेन–जी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । थापासहितका नेताहरूको पहलमा गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनले उनलाई सभापति चयन गरेको थियो । त्यसपछि पार्टीको १५औँ महाधिवेशनबाट थापा औपचारिक रूपमा सभापति निर्वाचित भएका छन् ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । सभापति थापाले ६६ जना केन्द्रीय सदस्य मनोनयन गर्नेछन् भने केन्द्रीय सदस्यमध्येबाट चार सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनयन गरिनेछ ।
जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवर्तनसँगै कांग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस तथा अभियान तीव्र बन्यो । तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा बदलिँदो राजनीतिक परिस्थितिअनुसार नेतृत्व परिवर्तनको आवाज उठाउँदै त्यसलाई विशेष महाधिवेशनसम्म पुर्याउन सफल भए । जेन–जी आन्दोलनलाई आत्मसात् गर्नुपर्ने र यस्तो परिस्थिति सिर्जना हुनुमा कांग्रेस नेतृत्व पनि जिम्मेवार रहेको उनीहरूको भनाइ छ ।
निर्वाचित भएपछि थापाको घोषणा : जित्ने र हार्ने सबै पक्षलाई समेटेर नागरिकको विश्वास जित्न सक्रिय हुन्छु
नवनिर्वाचित सभापति गगन थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने उद्घोष गरेका छन् । सभापति पद अधिकार मात्रै नभई जिम्मेवारी र जवाफदेहिता पनि भएको उनले उल्लेख गरेका छन् । पार्टीमा नयाँ नेतृत्व चयन हुँदैमा मात्रै रूपान्तरण नहुने भन्दै सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने बताए । प्रतिस्पर्धी उम्मेदवार खड्गीलाई ‘दाइ’ भन्दै धन्यवाद दिएका थापाले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाएको र सबैलाई सँगै लिएर अघि बढ्ने योजना सुनाएका छन् । जित्ने र हार्ने सबै पक्षलाई समेटेर नागरिकको विश्वास जित्न सक्रिय हुने पनि उनले बताए । नागरिक र कांग्रेसबिचको विश्वास पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
गगनको ३७ वर्षे राजनीतिक यात्रा : बाल कांग्रेसदेखि पार्टी सभापतिसम्म
कक्षा ९ मा पढ्दै बाल कांग्रेसको सदस्य बनेर राजनीति सुरु गरेका गगन थापा ३७ वर्षपछि नेपाली कांग्रेसको शक्तिशाली सभापति निर्वाचित भएका छन् । ०४६ को जनआन्दोलनमा सहभागी थापा ०५१ मा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य भएका थिए । त्यसपछि ०६५ मा सचिव र ०५५ मा स्ववियु सभापति भए । उनी ०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य भए । थापा ०५७ नेविसंघको उपाध्यक्ष र ०५९ महामन्त्री भए ।
१८ असोज ०५९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै राजा ज्ञानेन्द्रले बर्खास्त गरेपछि सुरु आन्दोलनमा थापा पनि अग्रपंक्तिमा उभिए । १९ माघ ०६१ मा फेरि देउवालाई प्रधानमन्त्रीबाट बर्खास्त गरेर प्रत्यक्ष शासन सुरुवात गरेपछि गणतन्त्रका पक्षमा आवाज उठाएबापत उनलाई राजद्रोहको मुद्दा लागेको थियो । उनी ०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा थिए । उनी ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भए । त्यसयताका संघीय निर्वाचनमा निरन्तर जितेको उनी गत २१ फागुनको निर्वाचनमा भने सर्लाही ४ बाट पराजित भए ।
थापा पहिलोपकट ०६७ मा पार्टीको महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भए । संविधानसभाभित्र संविधान मस्यौदा समितिको सदस्यका रूपमा उनले भूमिका निर्वाह गरे । तर, ०७२ को कांग्रेस महाधिवेशनमा उनी महामन्त्रीमा पराजित भए । ०७३ मा थापा नौ महिना स्वास्थ्यमन्त्री भए । ०७४ मा उनी प्रतिनिधिसभामा निर्वाचित भए भने ०७८ मंसिरको पार्टी महाधिवेशनमा महामन्त्री निर्वाचित भए । उनी ०८२ पुसमा भएको दोसो विशेष महाधिवेशनबाट पार्टी सभापति सभापतिमा निर्वाचित भएका थिए ।
थापाले राजनीति सुरु गर्नुअघि बागबजारमा हिमाल ट्युसन सेन्टर सञ्चालन गरेका थिए । त्रिचन्द्र अध्ययनका क्रममा उनले एफएम अध्यात्म ज्योतिमा दैनिक बिहान साढे ५ देखि साढे ६ बजेसम्म रेडियोबाट प्रवचन दिएका थिए । त्यसपछि उनले क्लासिक एफएफ हुँदै इमेज एफएममा समाचारवाचक र प्रस्तोताका रूपमा काम गरे ।