मुगु । मुगुको छायानाथ रारा नगरपालिका– १२ स्थित सुनात खोलामा माथिबाट आएको पहिरोले बोलेरो जिप पुरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाका अनुसार बुधबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनात गई फर्किने क्रममा विशान खत्रीले चलाएको लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिप पहिरोमा पुरिएको हो।
जिप पहिरोमा पुरिएको खबर प्राप्त भएपछि अ.प्र.पोस्ट रोवा, मुगुबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा दुईजनाको सुरक्षा टोली घटनास्थलतर्फ खटाइएको थियो। प्रहरी टोली दिउँसो करिब १ः२० बजे घटनास्थल पुगेको डिएसपी थपलियाले जानकारी दिए।
प्रहरीका अनुसार घटनास्थलमा पुगेर जाँच गर्दा जिपमा कुनै यात्रु नरहेको र मानवीय क्षति नभएको पाइएको छ। जिप भने पूर्ण रूपमा पहिरोले पुरिएको अवस्थामा रहेको छ।
पुरिएको जिप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अ.प्र.पोस्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ रहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।