दसैँअघि नै आरुघाट पुल सञ्चालनमा ल्याउने लक्ष्य, बेलिब्रिज जडान सुरु

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल पुनः सञ्चालनमा ल्याउन बेलिब्रिज जडानको काम सुरु गरिएको छ । दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले कामलाई तीव्रता दिएको हो ।

आइतबार बिहान आएको बाढीले पुलको तीन खण्डमध्ये गोरखातर्फको २२ मिटर लामो आरसिसी भाग बगाएको थियो । बाढीले पुलको एक भागमा क्षति पुर्याए पनि ट्रस संरचना भने बाँकी रहेको छ ।

बाँकी रहेको ट्रस संरचनामा बेलिब्रिज जडान गरी आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे प्राविधिक मूल्यांकन गरिएको थियो । मूल्यांकनपछि बेलिब्रिज जडान गरेर पुल पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको हो ।

दसैँ नजिकिँदै गर्दा गोरखा र धादिङबिचको आवागमन सहज बनाउन पुललाई चाडपर्वअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा दसैँमा आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।

सुझावित समाचार