बारा/ बाराको कलैया उपमहानगरपालिका–९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वनगर सभापति पुरुषोत्तमसिंह पाण्डेको निधन भएको छ। मस्तिष्कघात भएपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत पाण्डेको सोमबार निधन भएको हो।
पाण्डेलाई असोज १४ गते मस्तिष्कघात भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सघन उपचार कक्ष (आइसियू) मा भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
वडाध्यक्ष पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै कलैया उपमहानगरपालिकाले मंगलबार सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले सोमबार सूचना जारी गर्दै असोज २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक शोक बिदा रहने जनाएको छ।
नगरप्रमुख विनोदप्रसाद साहद्वारा जारी शोक सूचनामा पाण्डेको निधनले उपमहानगरपालिकालाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। सूचनामार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
स्थानीय तहमा जनप्रतिनिधिका रूपमा सक्रिय पाण्डे नेपाली कांग्रेसको नगर नेतृत्वमा समेत रहेर काम गरेका थिए। उनको निधनले कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकमाझ शोक छाएको छ।
स्वर्गीय पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन्।