सेलेब्रिटी क्रिकेट उत्सवको आधिकारिक एन्थम सार्वजनिक [भिडियाेसहित]

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । क्रिकेट, संगीत, मनोरञ्जन र राष्ट्रिय एकताको भावनालाई एकै सूत्रमा जोड्ने उद्देश्यसहित सेलेब्रिटी क्रिकेट उत्सवको आधिकारिक एन्थम ‘क्रिकेट उत्सव’ सार्वजनिक भएको छ।

‘स्टार्स युनाइट्स फर क्रिकेट राइज’ भन्ने मूल नारासहित तयार गरिएको एन्थम एक विशेष कार्यक्रमबिच सार्वजनिक गरिएकाे हाे । यस एन्थमले नेपाली क्रिकेटप्रतिको उत्साह, राष्ट्रिय गौरव, एकता र खेल संस्कृतिको प्रवर्द्धन गर्ने सन्देश दिएको छ । नेपाली क्रिकेटलाई थप लोकप्रिय बनाउँदै विभिन्न क्षेत्रका व्यक्तित्व तथा क्रिकेटप्रेमीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य एन्थमले राखेको छ।

एन्थमका शब्द प्रख्यात कवि तथा गीतकार विप्लव प्रतीकले रचना गरेका हुन्। उनी सेलेब्रिटी क्रिकेट उत्सवका संरक्षकसमेत हुन्। एन्थममा संगीत संयोजन तथा गायनतर्फ नेपाली संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्व न्ह्यु बज्राचार्यको योगदान रहेको छ भने गोपाल रसाइलीले एरेन्जरको भूमिका निर्वाह गरेका छन्।

एन्थममा लोकप्रिय गायिका इन्दिरा जोशी र गायक कालीप्रसाद बाँस्कोटासहित रोबिन भण्डारी, मृणाल मानन्धर, दर्शना गन्धर्व, राज सायमी, जिदान गुरुङ र पवन गिरीको स्वर समेटिएको छ । एन्थमका निर्माता सेलेब्रिटी क्रिकेट उत्सवका सञ्चालक सञ्जु उपाध्याय हुन् भने फाउन्डर विवेक खतिवडा हुन्। यसको रेकर्डिङ जमलस्थित डोरेमी स्टुडियोमा गरिएको हो। 

रेकर्डिङमा भानुभक्त ढकाल र श्याम बगदास तथा मिक्सिङ र मास्टरिङमा श्याम बगदासको योगदान रहेको छ।

एन्थम सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले क्रिकेट उत्सवकाे याे एन्थमले नेपाली क्रिकेटको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

त्यस्तै, सेलेब्रिटी क्रिकेट उत्सवका फाउन्डर विवेक खतिवडाले आधिकारिक एन्थम सार्वजनिक हुनुलाई उत्सवको यात्रामा नयाँ ढोका खुलेकाे बताए । उनका अनुसार यसले क्रिकेटप्रतिको उत्साहलाई थप विस्तार गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वलाई क्रिकेटमार्फत एकताबद्ध गर्न सहयोग पुर्याउनेछ।

सन् २०२३ देखि सक्रिय सेलिब्रेटी क्रिकेट उत्सवले नेपाली चलचित्र, संगीत, सञ्चार, खेलकुद, व्यवसाय तथा डिजिटल क्षेत्रमा आबद्ध व्यक्तित्वलाई क्रिकेटमार्फत जोड्दै आएको छ। क्रिकेटलाई मनोरञ्जनसँग जोड्नुका साथै खेल संस्कृतिको विकास, सामाजिक सद्भाव र राष्ट्रिय गौरवको प्रवर्द्धन गर्नु उत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

भिडियाे लिंक- https://youtu.be/OUReX50M7dQ?list=RDOUReX50M7dQ

 

 

सुझावित समाचार