अनलाइन ठगी गरेको आरोपमा १७ वर्षीय किशाेर पक्राउ

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

कास्की । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले १७ वर्षीय एक किशाेरलाई पक्राउ गरेको जनाएको छ।

३० साउन ०८३ मा सामाजिक सञ्जाल टिकटकमा ‘सन्ध्या कलेक्सन’ (@sandhyacollection35) नामको आइडीबाट विभिन्न किसिमका कपडा सस्तो मूल्यमा बिक्रीमा राखी खरिद गर्न चाहने व्यक्तिहरूसँग ह्वाट्सएप नम्बर ९७०८४७१९११ मार्फत कुराकानी गर्ने, रकम जम्मा गर्न लगाउने र रकम प्राप्त नभएको भन्दै ओटिपी कोड मागेर ठगी गरेको भन्ने जाहेरीका आधारमा ती बालकलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

उजुरीपछि जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटी, काठमाडौंले उक्त ह्वाट्सएप नम्बरको आइपी ठेगाना अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न धनुषाको जनकनन्दिनी गाउँपालिका– १ बस्ने १७ वर्षीय परिवर्तित नामथर २०८३/०८४ कास्की (२५) लाई धनुषा प्रहरीको सहयोगमा उनकै घरबाट पक्राउ गरिएको हो।

प्रहरीले उनको साथबाट ठगीमा प्रयोग भएको दुई थान मोबाइल, एक थान ट्याब र एक थान वाइफाई राउटरसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

धनुषाबाट पक्राउ गरी पोखरा ल्याइएका उनलाई कास्की जिल्ला अदालतबाट मंगलबार ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका बालकले प्रयोग गरेका बैंक खाता तथा इसेवा वालेटबाट ठगीमा परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सिद्धार्थ बैंक लिमिटेडको खाता नम्बर ००४५२१३२८१, गरिमा विकास बैंक लिमिटेडको खाता नम्बर ०५७०१३०१३९३९३३०००००१, एनएमबि बैंक लिमिटेडको खाता नम्बर ०८००२१६८७३४०००१२ र इसेवा वालेट नम्बर ९८२९९७६३६० बाट कारोबार भएको जनाइएको छ।

सुझावित समाचार