जाजरकोटमा स्क्रब टाइफस संक्रमितको संख्या १३४ पुग्यो

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

जाजरकोट । जिल्लामा पछिल्लो समय स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या उकालो लागेको छ। गत साउनदेखि हालसम्म १३४ जनामा संक्रमण पुष्टी भएको स्वस्थ सेवा कार्यालय जाजरकोटका प्रमुख सुनील पुनले जानकारी दिए।

सो अवधिमा स्वास्थ्य सेवा कार्यालयमा ४२, नलगाड‌ नगरपालिकामा ७५, छेडागाड नगरपालिकामा १२ र बारेकोटको लिम्सा क्षेत्रमा ५ जनामा स्क्रब टाइफस देखिएको छ।

पछिल्लो समय संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित कार्यालयहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी नवराज बरालको अध्यक्षतामा बसेको बैठकले संक्रमण रोकथामका लागि परीक्षण, उपचार तथा जनचेतनाका कार्यक्रम गर्ने लगायतका निर्णय गरेको हो।

जिल्लामा संक्रमण देखिएको र छिमेकी जिल्लामा समेत स्क्रब टाइफस फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै जोखिम नियन्त्रणका लागि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।

जिल्लाका सबै स्थानीय तह, जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई आवश्यक पूर्वतयारी गर्न पत्राचार गर्ने निर्णय बैठकले गरेको छ। संक्रमणको शंका भएका बिरामीको समयमै परीक्षण, पहिचान र उपचार गर्ने व्यवस्था मिलाउनसमेत स्वास्थ्य संस्थालाई भनिएको छ।

सुझावित समाचार