अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथमा आलोपालो सवारी सञ्चालनको व्यवस्था गरेको छ । दुवै राजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारीकाे चाप अत्यधिक बढेपछि हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने सवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।
शुक्रबार बिहान पृथ्वी राजमार्गको धादिङखण्ड र कान्ति लोकपथको ललितपुरखण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सवारीकाे चाप व्यवस्थापन र राजपथमा आवागमन सहज बनाउन शुक्रबारदेखि समयतालिका लागू गरिएको हो । प्रशासनले तोकिएको समय हेरेर मात्रै यात्रा गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ ।
शुक्रबार र शनिबार कुन समयमा चल्छन् सवारी ?
प्रशासनका अनुसार शुक्रबार हेटौँडाबाट काठमाडौं जाने सवारी बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । ती सवारीलाई हेटौँडाको चौकीटोलबाट प्रस्थान गर्न दिइनेछ । काठमाडौंबाट हेटौँडा आउने सवारीलाई भने शुक्रबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभन्ज्याङ चौकीबाट सञ्चालन गर्न दिइनेछ ।
शनिबार हेटौँडाबाट काठमाडौं जाने सवारीका लागि दुईवटा समय निर्धारण गरिएको छ । पहिलो चरणमा बिहान ४ बजेदेखि ८ बजेसम्म र दोस्रो चरणमा शनिबार राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ । काठमाडौंबाट हेटौँडा आउने सवारीलाई शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म तथा आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।
ठुला मालवाहक सवारी सञ्चालनमा रोक
सवारी चाप व्यवस्थापनका लागि प्रशासनले त्रिभुवन राजपथमा ठुला मालवाहक सवारी सञ्चालनमा समेत रोक लगाएको छ । अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्काभन्दा बढी भएका र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई राजपथमा सञ्चालन गर्न नदिइने भएको हो ।
यात्रुवाहक बसको हकमा भने ११ मिटर लम्बाइसम्मका बस मात्रै सञ्चालन गर्न पाइनेछ । प्रशासनले पृथ्वी राजमार्ग र कान्ति लोकपथको अवरोधका कारण वैकल्पिक मार्गमा सवारीको चाप बढेको भन्दै समयतालिकाको पालना गर्न आग्रह गरेको छ । निर्धारित समयबाहेक यात्रा सुरु नगर्न र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न पनि चालक तथा यात्रुलाई अनुरोध गरिएको छ ।