अपांगता भएका दलितदम्पतीको १५ वर्षदेखि अर्काको गोठमा बास

बस्ने घर छ न अन्न उब्जाउने जग्गा, सात वर्षीया छोरीको पालनपोषणकै पिरलो

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण
अपांगता भएका दलितदम्पतीको १५ वर्षदेखि अर्काको गोठमा बास

बाजुराको हिमाली गाउँपालिका– ५, रुगिनका ५५ वर्षीय दलबहादुर दमाईं श्रीमती र छोरीका साथमा

बाजुराको हिमाली गाउँपालिका– ५, रुगिनका ५५ वर्षीय दलबहादुर दमाईं १५ वर्षदेखि रिथिराजाको गोठमा बस्दै आएका छन् । दलबहादुरको परिवारले धेरै वर्षदेखि रिथिराजाको खेतबारीमा काम गर्दै आफ्नो जीवन गुजारा गर्दै आएको थियो ।

जन्मजात शारीरिक अपांगता भएका दलबहादुर आमाबुबाको निधनपछि बिचल्लीमा अहिले परेका छन् । उनी आमा र बुबाको सहारामा बाँचेका थिए । दलबहादुरका आमाबुबाले गाउँकै अपांगता भएकी पन्छु दमाईंसँग उनको बिहेवारी गराइदिएका थिए । बिहे गरेको केही वर्षमै दलबहादुरले आमा र बुबा गुमाए । दलबहादुर र उनको श्रीमती पन्छु दमाईंबाट दुई छोरीको जन्म भयो । १० वर्षीया जेठी छोरी ममताको कोवाडी खोलामा पानी लिन जानेक्रममा दुई वर्षअगाडि बगेर मृत्यु भयो । अहिले उनीहरू सात वर्षीया छोरी इसरी दमाईंको सहारामा छन् । जन्मजात अपांगता दम्पतीको जग्गाजमिन केही छैन ।

दलबहादुरले शारीरिक अपांगताका कारण काम गरेर खान सक्ने अवस्था नरहेको बताए । ‘आफ्नो जग्गाजमिन छैन । भए पनि काम गरी खान सक्ने अवस्थामा छैन । पुर्ख्यौली रुंगिन गाउँका रिथिराजाको खेतबारीमा काम गरेर खाँदै आएका थियौँ । रिथिराजाले दिएको एक कट्ठा जमिन यियो, त्यसमा घर बनाउने सामर्थ्य पनि छैन । दुवैजना जन्मजात शारीरिक अपांगता छौँ, बस्नलाई बास छैन । खानालाई गाँस छैन । सात वर्षीया छोरी छ । त्यसलाई कसरी पाल्ने चिन्ताले मन साह्रै दुख्छ,’ उनले भने ।

दलबहादुर दमाईंको ख वर्गको अपांगता परिचयपत्र बनेको छ भने उनकी श्रीमती पन्छु दमाईको हालसम्म नागरिकता बनेको छैन । अपांगता दम्पतीका लागि न बस्ने बास छ, न खाने गाँस । १५ वर्षदेखि रुगिन गाउँका प्रबल बुढथापाको घरको गोठमा बस्दै आएका थिए । प्रबल बुढथापाको घर गत २८ साउनमा कवाडी खोलामा आएको बाढीले भत्काएपछि उनीहरू त्यहाँबाट विस्थापित भएको स्थानीय मणिजंग बुढथापाले बताए ।

‘दलबहादुर दमाईं जन्मजात अपांगता हुन् भने उनको श्रीमती जन्मजात मानसिक रूपमा अपांगता छिन् । एउटी छोरीको खोलामा पानी ल्याउन जाने क्रममा बगेर मृत्यु भयो । गाउँघरमा जग्गाजमिन छैन । दलबहादुर पहिला गाउँमा रिथिराजाहरूको काम गरेर ल्याएको अन्नबालीले परिवार पाल्थे । अहिले दलबहादुरको उमेर ढल्कँदै गयो, त्यसैमा शारीरिक अपांग आफू र श्रीमती कसरी पाल्ने, छोरीलाई कसरी शिक्षादीक्षा दिने भन्ने चिन्तामा छन्,’ उनले भने ।

हिमाली गाउँपालिका– ५ की वडासदस्य झुप्रा बुढथापाले दलबहादुर दमाईंको अवस्था निकै नाजुक रहेको बताए । आफ्नो घरजग्गा नभएकाले उनको परिवार गाउँमा कहिले कसको त कहिले कसको गोठमा बस्ने गरेको उनको भनाइ छ । ‘दलबहादुरले अरूकै गोठमा बस्दै जीवन बिताइरहेका छन् । उनको त्यो रहर हैन, बाध्यता हो । दुईमध्ये एउटी छोरी गुमाए, अब एउटी छोरीलाई कसरी पाल्न पोषण गर्ने भन्ने चिन्ता छ । गाउँपालिकाबाट कहिलेकाहीँ खाद्यान्न सहयोग गर्छौँ, तर त्यसले उनका लागि केही पुग्दैन । नाबालिक छोरीको पठनपाठन गर्ने सहयोगी हातको अपेक्षा गरेका छौँ,’ उनले भने ।

सुझावित समाचार