२०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपाली बक्सर खगेन्द्र रोकामगरले आफ्नो तौल समूहको पहिलो चरण पार गरेका छन् । नेपालले बक्सिङ स्पर्धामा चन्द्रबहादुर थापामगरले पदक दिलाउन नसकेको पृष्ठभूमिमा खगेन्द्रले नयाँ आशा जगाएका छन् । गत वर्ष विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य जितेपछि चन्द्रबहादुरबाट एसियाडमा पदकको आशा गरिएको हो । तर, उनी आफ्नो बाउटको पहिलो चरणमै भारतका डेब्यु गरेका खेलाडीबाट बाहिरिए । एसियाडको पाँचौँ दिन बुधबार खगेन्द्रले भने पहिलो चरणमै जित निकाल्न सफल भएका छन् ।
मुक्केबाज खगेन्द्र रोकामगर ६० केजी तौल समूहको प्रतिस्पर्धाअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार निसियो जिम्नेसियममा भएको स्पर्धामा खगेन्द्रले पहिलो चरण (अन्तिम–३२)मा मकाओका अल्भिन जोन रेयेसलाई अंकका आधारमा ५–० ले पराजित गर्दै दोस्रो चरण स्थान पक्का गरेका हुन् । अब दोस्रो चरणमा खगेन्द्रले फिलिपिन्सका जुनमिलार्डो ओगायरेको सामना गर्नेछन् । खगेन्द्रको पक्षमा तीनवटै राउन्डमा सबै निर्णायकले अंक दिएका थिए । एसियाली खेलकुदमा नेपाली मुक्केबाजले पहिलो जित दर्ता गरेका हुन् । यसअघि पुरुष ७० केजीमा दानबहादुर दर्लामी इराकका अली कासिम हमदान अल–सर्रेसँग पराजित भएका थिए । ५५ केजीमा चन्द्रबहादुर थापामगर भारतका मन्देगबाम जादुमणि सिंहबाट हारे । महिला ५१ केजीमा रमिशा श्रेष्ठ भियतनामी एनगुएन थी टामसँग पराजित भइन् । अब खगेन्द्रसँगै रविन नेपाल (९० केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) ले प्रतिस्पर्धा गर्न बाँकी छ ।
महिला कबड्डीमा नेपाल चाइनिज ताइपेईसँग पराजित
नेपाली महिला कबड्डी टोली समूह ‘बी’को दोस्रो खेलमा चाइनिज ताइपेईसँग ३७–१८ ले पराजित भएको छ । टोकाइ सिटिजन जिम्नेसियममा नेपालले ताइपेईलाई पहिलो हाफमा १३–१३ को बराबरीमा रोकेको थियो । दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन नसक्दा २४–५ ले गुमायो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपालले रेड र ट्याकलबाट ११ र बोनसबाट सात अंक जोड्यो । पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ४६–४३ को रोमाञ्चक जित दर्ता गरेको थियो । अब नेपालले बिहीबार श्रीलंकाको सामना गर्नेछ । यस खेलमा जित निकाल्दा नेपाल सेमिफाइनलमा पुग्नेछ ।
टेबलटेनिसमा इभाना पहिलो चरणमै सीमित
नेपाली टेबलटेनिस खेलाडी इभाना थापा महिला एकलको पहिलो चरणमै पराजित भएकी छिन् । नागोयास्थित स्काई हल टोयोटामा इभाना उज्वेकिस्तानकी अरुजन कमलोभासँग ४–० ले पराजित भइन् । अरुजनसँग इभाना ३–११, ६–११, २–११ र ८–११ ले हारिन् ।
इभाना र रुविन महर्जनको जोडी मिक्स डबल्सको दोस्रो चरणमा हङकङका क्वान टु यी र विङ लाम एनजीको जोडीसँग ३–० को सोझो सेटमा निराश भए । मिक्स डबल्समै संयोग कपाली र नविता श्रेष्ठको जोडी पहिलो चरणमै सीमित बनेको थियो । पुरुष तथा महिला टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
यसैगरी, अनुभवी नेपाली टेबलटेनिस खेलाडी नविता श्रेष्ठ महिला एकलको पहिलो चरणमै रोकिएकी छिन् । स्काई हल टोयोटामा नविता चाइनिज ताइपेईकी सु यु चेनसँग ४–१ ले पराजित भइन् । नविताले अग्रतालाई जोगाउन सकिनन् । पहिलो सेट ११–९ ले आफ्नो पक्षमा पारेकी नवीताले त्यसपछिका ४–११, ४–११, ०–११, ३–११ ले गुमाइन् ।
स्क्वासमा पहिलो चरणमै सीमित
नेपाल स्क्वासको मिक्स डबल्सको पहिलो चरणबाट बाहिरिएको छ । आर्हन्तकेशर सिंह र विपना ब्लोनको जोडी पाकिस्तानका असिम खान र मेहविश अलीसँग २–० को सोझो सेटमा पराजित भए । खानको जोडी ६–११ र १०–११ ले पराजित भए । एसियाडमा नेपाली स्क्वास टोलीले तेस्रोपटक सहभागिता हो । सन् २०१८ देखि नेपालले स्क्वासमा सहभागिता जनाउँदै आएको छ । यसपटक भने नेपालले मिक्स्ड डबल्समा मात्र प्रतिस्पर्धा गरेको हो ।
डुवाना २०औँ स्थानमा
नेपाली पौडीबाज डुवाना लामा महिला सय मिटर ब्रेस्ट्रोकमा हिट चरणबाटै बाहिरिएकी छिन् । टोकियो एक्वाटिक सेन्टरमा १ मिनेट १९.४७ सेकेन्डको समय निकाल्दै डुवाना हिट २ को सातौँ स्थानमा रहिन् । समग्रमा उनी २०औँ स्थानमा रहिन् । यो स्पर्धामा २५ खेलाडी सहभागी थिए । यसअघि डुवानाले महिला दुई सय मिटर फ्रिस्टाइलमा १९औँमा रहेकी थिइन् । आर्या महर्जन महिला ५० मिटर ब्याकस्ट्रोकमा २७औँ र सय मिटर फ्रिस्टाइलमा ३०औँ रहेकी थिइन् । पुरुष सय मिटर ब्रेस्ट्रोकमा जादेन श्रेष्ठले ३०औँ स्थान पाएका छन् । एर्भिन श्रेष्ठले ५० मिटर फ्रिस्टाइलमा ३८औँ र सय मिटर फ्रिस्टाइलमा ३६औँ स्थान प्राप्त गरेका थिए । पुरुष सय मिटर फ्रिस्टाइलमै अविभ प्रधान २८औँ स्थानमा रहेका छन् । अभिवले ५० मिटर बटरफ्लाई र जादेनले ५० मिटर ब्रेस्ट्रोकमा प्रतिस्पर्धा गर्न बाँकी छ ।
उसुमा नेपालको चुनौती समाप्त
नेपाली उसु टोली एसियाडमा पदकविहीन भएको छ । आइची प्रिफेक्चुरल मार्सल आर्टस् हलमा थाउलोको डाउसु एन्ड गुन्सुमा राजीव तामाङ १९.९१३ अंकका साथ पुछारमा रहे । यो स्पर्धामा १० खेलाडीको सहभागिता थियो । उसुमा नेपालको यो अन्तिम प्रतिस्पर्धा थियो । राजीवले डाउसुमा ९.३१३ र गुन्सुमा ८.६०० अंक जोडे ।
प्रतियोगितामा थाउलोमा ६ र सान्डामा चार गरी १० खेलाडीले सहभागिता जनाएका थिए । थाउलोमा यसअघि हरिप्रसाद गोले पुरुष ताइजिछ्वान तथा ताइजिजियानमा १४औँ स्थानमा रहेका थिए । सविता राई महिला ताइजिक्वान तथा ताइजिजियानमा ११औँ, विजय सिजाली पुरुष छानछ्वानमा १९औँ, सुस्मिता तामाङ महिला छानछ्वानमा १३औँ स्थानमा रहे । दीपक हमालले नक्वान र नानगुन अलराउन्डमा ११औँ स्थान हासिल गरेका थिए । सान्डामा नेपालको प्रदर्शन निराशाजनक रह्यो । महिला ६० केजीमा रीता ठकुल्ला तुर्कमेनिस्तानकी मेर्जेन जोरायेभासँग पराजित भएकी थिइन् । पुरुष ५६ केजीमा रोहित चुनारोले चीनका ओउ जियामिङसँग हारको सामना गरे । ६५ केजीमा अमर सुनारले चीनकै वाङ चेङजिनलाई नतिजा सुम्पिए । पुरुष ७५ केजीमा सञ्जीव महर्जनले काजकिस्तानका अब्दुरासिद अब्दुल्लायेभसँग पराजित भए ।