मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली जिल्लामा रेडअलर्ट जारी गरेको छ। महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै पूर्वी ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका १६ जिल्लामा रेडअलर्ट जारी गरेको हो।
महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर ठुलोदेखि अत्यधिक वर्षा हुन सक्ने आकलन सोमबार नै गरेको थियो। तर, अहिलेको अवस्था हेर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा ठुलो हिमपात हुन सक्ने र त्यसले जनजीवन प्रभावित पार्न सक्ने भएकाले सचेतना अपनाउन रेडअलर्ट जारी गरिएको महाशाखाकी मौसमविद् विनु महर्जनले नयाँ पत्रिकालाई बताइन्।
‘उत्तर अन्डमान सागर तथा आसपासमा न्यूनचापीय क्षेत्र हाल बंगालको खाडी क्षेत्रमा छ। यसको पनि प्रभाव रहने र पश्चिमी वायुको पनि सँगै प्रभाव रहने भएकाले वर्षासँगै हिमपात हुने देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्, ‘अहिले ट्रेकिङको पनि सिजन भएको र हिमपातले असर गर्न सक्ने भएकाले हामीले सचेत हुन भनेका हौँ।’