सर्लाहीको लालबन्दी नगरपालिका– १ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका– ७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ।
लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा आएको हो। सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुईवटा र ३३/११ केभी, २४ एमिए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभिए पुगेको छ।
स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेसनबाट ३३ केभीका पाँचवटा र ११ केभीका ६ वटा फिडर निकालिएका छन्। प्रसारणलाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीका मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ। यसबाट विद्युत् चुहावट घट्नुका साथै न्यून भोल्टेज र बारम्बार हुने ट्रिपिङजस्ता समस्या न्यूनीकरण हुनेछन्।
त्यस्तै, स्थानीय क्षेत्रमा बढ्दै गएको विद्युतकाे माग व्यवस्थापन गर्न तथा विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउनसमेत आयोजनाले सहयोग पुग्ने बताइएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए। उनले विद्युत् प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका काम योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गरे ।
करिब २० किलोमिटर लामो प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि ०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता ०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो।