बन्दी सहायता नियोग (पाम)ले २०औँ एसियाडमा सहभागी हुने आफ्ना खेलाडीसहित जुडो टोलीलाई बिदाइ गरेको छ । एसियाडमा जुडोबाट समान तीन पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछ । जुडोको खेल १४ असोजबाट हुनेछ ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्नेछन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुनेछन् । देवकी र विकासको दोस्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् । देवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् ।
प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् । एसियाडमै सहभागी हुन आइटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि जापान जाने छन् । यसपटक बहिनीसँग एसियाडमा सहभागी हुनलागेकी देवकीले चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा दाइ इन्द्रबहादुर श्रेष्ठसँगै सहभागी भएकी थिइन् । इन्द्रसहित ओलम्पियन मनिता श्रेष्ठ प्रधान पनि पामकै उत्पादन हुन् । पामकै कार्यकारी निर्देशकसमेत रहेका प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले सन् १९९० मा चीनको बेइजिङमा भएको एसियाडमा प्रतिस्पर्धा गरेका थिए ।