राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले मापदण्ड मिचेर राजदूत सिफारिस गरेको भन्दै सरकारको आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा नेता शाहीले आफैँ बनाएको मापदण्ड लागू गर्न नसकेकोमा सरकारसँग जवाफ मागे।
मापदण्डअनुसार अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट परिचालित कुनै पनि गैरसरकारी संस्थामा कार्यरत रहेको व्यक्ति राजदूतका लागि योग्य नरहने उल्लेख गर्दै उनले भने, ‘तर, सरकारले आफैँ बनाएको मापदण्ड आफैँ मिच्यो।’
उनले अगाडि भने, ‘यदि यसअघि कुनै विदेशी राज्यद्वारा तलबसहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्छ। अन्यथा उक्त व्यक्ति अयोग्य ठहरिन्छ भनेर परराष्ट्र मन्त्रालयले आफ्नो मापदण्ड लागू गरेको छ।’
अमेरिका, स्पेन, जर्मनी, ओमान, दक्षिण कोरियालगायत अन्य देशका लागि सिफारिस राजदूतहरू विभिन्न अन्तर्राष्ट्रिय संस्थामा कार्यरत रहेको उल्लेख गर्दै नेता शाहीले सरकार कुशासनमा लागेको टिप्पणी गरे।
‘त्यस्तो के आपत्ति आइलाग्यो आफैँले बनाएको मापदण्ड आफैँ आगू गर्न नसक्ने ? यो जम्मा दुई कारणले मात्र आउँछ– कि विदेशी दबाब कि अर्बौँको चलखेल । होइन भने मापदण्डविपरीत सरकारले किन नियुक्ति गर्याे ? यसको जवाफ हामीलाई संसदमा चाहिन्छ,’ उनले भने।