काठमाडौं उपत्यकामा रात्रिबसमा यात्रुको चाप बढेसँगै एकैपटक २३ बस थपिएको छ । १ वैशाखदेखि सात रात्रिबस सञ्चालन हुँदै आएकोमा शनिबार संविधान दिवसको दिनदेखि ३० बस चलाउन थालिएको हो । काठमाडौं महानगरपालिकाको नेतृत्व र वरपरका स्थानीय तहको समन्वयमा ६ रुटमा यी बस चल्न थालेका छन् । सबै साझा यातायातका विद्युतीय बस हुन् ।
रात्रिबस राति ८ बजेदेखि ११ बसेसम्म तोकिएका रुटमा गुड्छन् । रात्रिबस चढ्ने यात्रुको चाप बढ्दै गएपछि सेवा विस्तार गरिएको काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले बताइन् । ‘रात्रिबसको संख्या सातबाट ३० पुर्याएका छौँ । हाम्रो प्रयासमा अन्य आठ पालिकाले पनि सहकार्य गरेका छन्,’ उनले भनिन्, ‘अझै विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन, निरन्तर दिगो चल्छ ।’
सुरुमा काठमाडौं महानगरले नमुनाको रूपमा सञ्चालन गरेको बससेवामा अहिले अन्य आठ स्थानीय तहले सहकार्य गरेका छन् । जसमा काठमाडौंकै बुढानीलकण्ठ, कीर्तिपुर र चन्द्रागिरि नगरपालिका, भक्तपुरका भक्तपुर, मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका तथा ललितपुरका ललितपुर महानगरपालिका र गोदावरी नगरपालिका जोडिएका हुन् । बुधबार सरोकारवालाहरूको बैठकको निर्णयसँगै उपत्यकाका उत्तर–दक्षिण र पूर्व–पश्चिम चारै दिशा समेट्ने गरी सेवा विस्तार गरिएको डंगोलको भनाइ छ ।
रात्रिबसको कुनै पनि रूटमा वारपार गर्दा ८० रुपैयाँ भाडा तिर्नुपर्छ । भाडा पुरानै यथावत् छ । बरु सेवा सञ्चालनमा रकम अपुग भएर स्थानीय तहको क्षमताअनुसार दायित्व व्यहोर्ने कार्यवाहक मेयर डंगोल बताउँछिन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साझा बस निःशुल्क सञ्चालन गर्न पनि आफू तयार रहेको बताए ।
‘उपत्यकावासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालनका विषयमा योजना ल्याउनुपर्ने थियो, त्यो विषय अहिले आएको देखिएन । मेट्रो नभएपछि बिआरटी (बस र्यापिड ट्रान्जिट) हुनुपथ्र्यो,’ उनले भने, ‘यसकारण हामीले स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ । यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ, सकेसम्म निःशुल्क गर्नुपर्छ भन्नेमा म सहमत छु ।’
त्यस्तै, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले रात्रिकालीन यातायात सेवा यात्रुका लागि भरपर्दो भएको बताए । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सेवा सञ्चालन गरिएपछि लाभ लागतको मासिक समीक्षा गरेर सेवा दिगो रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरीसम्म चल्ने रात्रिबस सेवालाई चापागाउँ, लामाटार, लुभुसम्म रुट विस्तारको सम्भावनामा छलफल गर्नुपर्ने बताए । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले रात्रिकालीन बसले उपत्यकाका लामो रुटमा ओहोरदोहोर गर्ने यात्रुलाई सहज भएको बताइन् । ‘यसले काठमाडौं र ललितपुरसँग भक्तपुरको सम्बन्ध नजिक ल्याउनेछ, यात्रुहरूलाई सहज हुनेछ,’ उनले भनिन्, ‘राति ८ बजेपछि बस नपाइने समस्या थियो, अब सहज हुनेछ ।’
त्यस्तै, रात्रिकालीन बससेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायातसम्बन्धी कानुनमा समयसापेक्ष संशोधनको माग गरिएको छ । त्यसका लागि सरकारसमक्ष अनुरोध गर्ने, रात्रिकालीन सहरी जीवन प्रवद्र्धन गर्न काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा जात्रा, पर्व, मेला, महोत्सव आयोजना गरी रात्रिकालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय भएको काठमाडौं महानगरका कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।
उनका अनुसार बससेवालाई सहज बनाउन केही स्थानमा चार्जिङ स्टेसन निर्माण गरिनेछ । उक्त दायित्व साझा यातायातले नै लिएको छ । त्यस्तै, यात्रु चढ्ने तथा ओर्लने स्थान डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गरिनेछ । यसमा सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।
उपत्यकामा रातको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार भएपछि अस्पताल, विमानस्थल, श्रम, बजार तथा अन्य अत्यावश्यक सेवामा आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ । बसको टिकटमा समेत इटिकेटिङ प्रणाली लागू भएको छ । यात्रुले क्युआरबाट वा क्यास नै दिएर पनि टिकट लिन सक्नेछन् । साझा यातायातमा नेपाल सरकारको तीन अर्ब र काठमाडौं महानगरपालिकाको १५ करोड सेयर लगानी छ । साझा यातायातका हाल १११ बस छन् ।
साझा यातायातका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले यसअघि नमुनाको रूपमा सञ्चालन भएको रात्रिकालीन बससेवा प्रभावकारी देखिएपछि बस र रुटसंख्या विस्तार गरिएको बताए । ‘रात्रिकालीन श्रमिक, उद्यमी, अस्पताल आउने स्वास्थ्यकर्मी, बिरामी र कुरुवा, रात्रिकालीन समयमा यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरेर रात्रिबस सेवा सञ्चालन गरेका हौँ, यसले आर्थिक क्षेत्रलाई उकास्छ, बजारलाई थप चलायमान बनाउँछ,’ उनले भने, ‘सुरुमा तीन महिना नमुनाको रूपमा भयो, त्यसको अध्ययन पनि भयो, अध्ययन प्रतिवेदनले आवश्यकता छ भन्ने देखाएपछि विस्तार भएको हो ।’ उनका अनुसार हाल बस सञ्चालन गरिएका रुटमा अस्पताल, बजार र होटेलहरू पनि बढी भएकाले ती क्षेत्रमा सहयोग पुर्याउन रात्रिबसले सहयोग पुग्ने बताए । उनका अनुसार पालिकाहरूले उक्त बसको खर्च व्यहोर्न सके निःशुल्कसमेत गर्न सकिनेछ ।
यात्रुबाट उठेको आम्दानीले खर्च नपुगे पालिकाले व्यहोर्ने
रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित नगरपालिकाले समान रूपमा व्यहोर्ने छन् । उक्त ५० प्रतिशतमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल भन्छिन्–रात्रिबसको संख्या सातबाट ३० पुर्याएका छौँ । हाम्रो प्रयासमा अन्य आठ पालिकाले पनि सहकार्य गरेका छन् । अझै विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन, निरन्तर दिगो चल्छ ।
यी रुटमा चल्नेछन् रात्रिबस
रात्रिबस सेवाले उपत्यकाका तीन जिल्लालाई समेटेको छ । जसमा जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६, साबिक लगनखेल–बुढानीलकण्ठ रुटलाई विस्तार गरी गोदावरीसम्म ६, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८, कीर्तिपुर–जमलमा ४, गोदावरी ताखेल–ठमेलमा २ तथा साबिक नागढुंगा–एयरपोर्ट रुटमा ४ बस सञ्चालन गरिनेछ । यसअघि ७ बस लगनखेलदेखि बुढानीलकण्ठ तथा नागढुंगादेखि एयरपोर्टसम्मको रुटमा मात्रै चल्थे ।