सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

‘सुशासन नारा होइन, काम हो। हामी काम गरिरहेका छौँ’

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार संविधान दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयासमा सरकार अझ बलियो र सक्रिय भएर अघि बढिरहेको बताए।  

उनले भने, ‘म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर, त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्।’
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई अवलम्बन गरेको बताए। 

‘सुशासन नारा होइन, काम हो। र, हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने। संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वय आवश्यक रहेको उनको  भनाइ छ। यी तीनै तहबिचको समन्वय र सहकार्यका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारे। 

सुझावित समाचार