- तराईका किसानको दसैँ खर्च धान्ने नगदे बाली हो जुटखेती, जसको मूल्य प्रतिमन ६५ सयसम्म पुगेपछि दंग छन् किसान
झापाको गौरादह नगरपालिका– ६ का किसान सुकदेवप्रसाद गन्गाईं यसपटक जुटको राम्रो मूल्य पाएपछि उत्साहित छन् । विगतमा नगदेबाली जुट (सनपाट) खेतीमा मूल्यभन्दा मिहिनेत बढी हुन्थ्यो । तर, अहिले राम्रो मूल्य पाएको उनले बताए ।
कुनै समय उनी धेरै जमिनमा जुटखेती लगाउँथे, तर मिहिनेतअनुसार राम्रो मूल्य नपाउने नियति दोहोरिन थालेपछि यसपटक गन्गाईंले पाँच कट्ठामा मात्र जुटखेती लगाएका छन् । बाजे पुस्तादेखि नै जुटखेती गर्दै आएका उनले यसपटक विगतको तुलनामा धेरै मूल्य पाउने बताए । ‘सनपाट खेतीमा मिहिनेत धेरै छ । तर, मूल्य नपाउँदा खेती गर्न कम हुँदै गएको थियो,’ उनी भन्छन्, ‘तर, गत वर्षदेखि मूल्य राम्रो पाउन थालेका छौँ । मैले गत वर्ष अन्तिममा बेच्दा प्रतिमन पाँच हजार सात सयसम्म मूल्य पाएँ । यो वर्ष ६ हजार पाँच सयसम्म पुगेको छ ।’
पूर्वी तराईको खासगरी दक्षिणी भेगका किसानले जुटखेती लगाउँदै आएका छन् । जुटको बिउ फागुन–चैतमा छरिन्छ । साउनमा जुटको बोट काटेर पानीको दह (खाडी)मा कम्तीमा १६ देखि १८ दिनसम्म डुबाएपछि जुटको रेसा निकाल्ने गरी खाडीभित्रै चुटिन्छ । यसरी निकालेको रेसालाई सुकाएर जुट तयार हुने गरेको गन्गाईंले बताए । किसानले पाउने मूल्य बढ्दै गएकाले क्रमशः खेती पनि बढ्ने उनले बताए । ‘कुनै समय सबैको खेतमा सनपाट हुन्थ्यो । अहिले त थोरै मात्र देखिन्छ । सनपाट त हाम्रो संस्कृतिसँग पनि जोडिन्छ । तिहारका वेलामा हुक्काहुक्की खेल्नका लागि सन्ठी चाहिन्छ । यसका लागि मात्र रोप्ने चलन छ,’ उनी भन्छन्,‘ रोपेर मात्रै के गर्नु ? यसको दाम नै थिएन । अहिले दाम बढ्न थालेको छ, खेती पनि बढ्छ भन्ने अपेक्षा छ ।’
गौरादह– ६, दामुनका सगिर खानले पनि विगत लामो समयदेखि जुटखेती गर्दै आएको बताए । । जग्गा अधियाँमा लिएर खेती गर्दै आएका खानले राम्रो मूल्य नपाएपछि बिचमा केही समय जुटखेती छाडे । तर, पछिल्लो समय मूल्य बढेपछि उनले तीन वर्षयता पाँच कट्ठामा जुट लगाउन थालेका छन् । उनी खाडीमा डुबाएर निकालिएको जुट धमाधम सुकाउँदै गरेको अवस्थामा भेटिए ।
विगतको भन्दा राम्रो मूल्य पाएपछि उत्साहित भएको उनले प्रतिक्रिया दिए । पाँच कट्ठामा १० मन हाराहारी जुट उत्पादन हुने उनको अनुमान छ । अर्को वर्ष खेती विस्तार गर्ने योजनामा रहेको उनले सुनाए । ‘सनपाट खेती गर्न पैसा त धेरै लाग्दैन । तर, मिहिनेत धेरै छ । खेती गर्न पनि झन्झटिलो छ । दाम नपाएपछि खेती नै गर्न छाडेको थिएँ । पोहोर सालदेखि राम्रो मूल्य पाउन थालेको छु । यस्तै दाम पाइयो भने नियमित खेती गर्छु,’ उनी भन्छन्, ‘हामी किसानलाई उत्पादन गरेपछि बेचिहाल्न पाए हुन्थ्यो भन्ने हुन्छ । पोहोर साल अन्तिम समयमा त मूल्य प्रतिमन सात हजारसम्म पुग्यो । तर, मैले चाहिँ प्रतिमन चार हजार दुई सयमा बेचेँ । योपटक अहिले नै ६ हजार पाँच सय पुगेको छ भन्ने सुनेको छु ।’
किसानबाट जुट किनेर मिलसम्म लगेर बेच्दै व्यापारी बाबुराजा श्रेष्ठले गत वर्षदेखि मूल्य बढ्न थालेको बताए । गत वर्षको अन्तिमसम्म जुटको मूल्य प्रतिमन आठ हजारसम्म पुगेको उनले जानकारी दिए । यद्यपि, त्यो मूल्य किसानले भने नपाएको उनको भनाइ छ । ‘गत वर्ष जुटको मूल्य अहिलेसम्मकै उच्च थियो । व्यापारीले मिललाई प्रतिमन आठ हजारसम्म बेचे । तर, त्यो मूल्य किसानले पाएनन्,’ उनले भने, ‘किसानले दैनिक उपभोग्य वस्तु किन्न उत्पादन हुनेबित्तिकै बेच्नुपर्छ । उनीहरूले भण्डारण गरेर राख्न सक्दैनन् । गत वर्ष किसानले सुरुमा चार हजार दुई सय प्रतिमन मूल्य पाए । कतिपय ठुला किसानले भण्डार गरेर राख्दा ६ हजारसम्म पाए ।’
तर, यो वर्ष सिजनको सुरुवातमै जुटको मूल्य प्रतिमन ६ हजार पाँच सयसम्म खरिद भइरहेकाले उक्त मूल्य किसानले पाएको उनी बताउँछन् । यद्यपि, अहिले जुटको उत्पादन घटेको उनको भनाइ छ । ‘भदौ सकिँदासम्म विगतमा हाम्रा गोदाममा पाँच सय मनसम्म सनपाट हुन्थ्यो । अहिले २५ मन मात्रै छ,’ उनी भन्छन्, ‘आजभन्दा १५ वर्षअघिसम्म दक्षिणी क्षेत्रमा पर्याप्त सनपाट खेती हुन्थ्यो । अहिले कसै–कसैले मात्रै खेती गरेका छन् ।’ नगदेबाली जुटखेतीका लागि सरकारले किसानलाई प्रोत्साहन गर्न नसक्दा खेती घटेको श्रेष्ठको भनाइ छ ।