सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आगलागी भएको छ । आगलागीमा तीनवटा फाँटमा क्षति पुगेको छ । विद्युत् सर्ट भएर आगलागी भएको आकलन गरिएको छ । यसअघि १७ भदौमा पनि यसैगरी आगलागी भएको थियो । सो घटनाको छानबिन चलिरहेकै वेला फेरि आगलागी भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइराला निर्माणाधीन नयाँ भवनमा विद्युत्को अस्थायी व्यवस्थापन गरेर काम भइरहेकाले विद्युत् सर्ट भएर आगलागी भएको बताउँछन् । आगलागीबाट मुद्दाको मिसिल भने नजलेको उनको भनाइ छ । बारम्बार आगलागी भएपछि बुधबार सर्वोच्चले कार्यालयभित्र विद्युत्का लाइन बन्द गरेर मात्र निस्कन आग्रह गरेको छ ।
गत वर्षको जेन–जी आन्दोलनमा सर्वोच्चको मूल भवन जलेपछि निर्माणाधीन भवनबाट कामकाज भइरहेको छ । करिब ६ अर्ब लागतको नयाँ भवन ठेकेदारले समयमा निर्माण नगर्दा सर्वोच्चलाई थप समस्या भएको छ ।