भारतीय राजदूत श्रीवास्तवले गरे परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए।

परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। उनले नेपाल–भारतबिच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका महत्त्वपूर्ण प्रगति र दुई देशका जनताबिचको सम्बन्धबारे चर्चा गरे।

यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालप्रति भारतले देखाएको ऐक्यबद्धता तथा विपतपछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गरे। मन्त्री खनालले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गर्दै उनी आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहिरहने विश्वास व्यक्त गरे।

भेटमा श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गरे। उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे।

सुझावित समाचार