होल्डिङ सेन्टरमा फैलिँदै झाडापखाला

३६ जनामा झाडापखाला तथा करिब २२० जनामा रुघाखोकी र ज्वरोको समस्या

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा झाडापखाला, रुघाखोकी र ज्वरो फैलिन थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकै तथ्यांकअनुसार मंगलबारसम्म ३६ जनामा झाडापखाला तथा करिब २२० जनामा रुघाखोकी र ज्वरो देखिएको हो ।

कतिपय होल्डिङ सेन्टरमा पर्याप्त जाँच नहुँदा भित्रभित्रै सरुवारोग फैलिन सक्ने जोखिम देखिएको छ । सामाजिक दूरी कायम नभएको सामूहिक बसाइमा संक्रमणजन्य रोग सर्न थालेको र फाट्टफुट्ट झाडापखाला पनि देखिएकाले सचेतना अपनाउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ‘अहिले बाढी प्रभावित क्षेत्रमा झाडापखाला, रुखाकोकी र ज्वरोका बिरामी देखिएका छन्,’ उनले भने, ‘होल्डिङ सेन्टरमा सचेत गराउने, उपचार र औषधि सेवा प्रवाह भइरहेको छ, सचेत नभए सरुवा तथा संक्रमणजन्य रोग फैलिने भएकाले सावधानी अपनाउन अनुरोध गरिरहेका छौँ ।’ 

बाढी प्रभावितलाई रसुवा, धादिङ र नुवाकोटमा गरी ३४ होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा २२, काठमाडौंमा तीन, रसुवामा ६ र धादिङमा ३ वटा होल्डिङ सेन्टरमा दुई हजार ७८१ व्यक्ति छन् । तीमध्ये केहीमा रुघाखोकी र ज्वरो देखिएपछि उनीहरूलाई अरूमा नसर्ने गरी व्यवस्थापन गरिएको र औषधि पनि वितरण भएको अधिकारीले बताए । 

त्यस्तै, झाडापखाला देखिएका होल्डिङ सेन्टरमा खानपान र खानेपानीमा ध्यान दिन पनि अनुरोध गरिएको छ । हाल होल्डिङ सेन्टरमा विभिन्न संघसंस्था र सरकारी टोलीले स्वास्थ्य परीक्षणको काम पनि गरिरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए । 

‘अहिले झाडापखाला ३६ जनामा देखिएको छ, हैजा देखिएको छैन, हैजाविरुद्धको खोप वितरण पनि सुरु भइसकेको छ,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा केन्द्रबाट गएका १२० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकसहितको टोली पुगेको छ । होल्डिङ सेन्टरमा खानेकुराको सहज प्रबन्ध गर्न, जंकफुडजन्य खानेकुराभन्दा सन्तुलन मिलाएर वितरण गर्न पालिकालाई ध्यानाकर्षण गराएका छौँ ।’ उनका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न सरुवाजन्य रोगको खोप पर्याप्त नभएकाले विभिन्न दातृ निकायसँग माग गरिएको बताए । नसर्ने रोगको १० कार्टुनभन्दा बढी औषधि पनि मन्त्रालयले पठाएको छ । तर, वितरणमा भने समस्या देखिएको सचिव देवकोटाले बताए । राख्दा र वितरण गर्दा व्यवस्थापन गर्न अनुरोध गरिएको र त्यसको निरीक्षण गरिएको उनको भनाइ छ । 

‘अहिले समस्या भनेको दीर्घरोगी, भर्खर जन्मिएका शिशु, सुत्केरी, वृद्धवृद्धालाई हो । उहाँहरूलाई सहज होस् भनेर औषधि वितरण गरेका छौँ,’ उनले भने, ‘दादुरा, झाडापखाला, कुनै फिभर, मलेरिया, डेंगु, स्क्रब टाइफसजस्ता महामारीजन्य रोग फैलन नपाओस् भनेर सावधानी अपनाएका छौँ ।’

खानेपानीकै कारण झाडापखाला र सरुवा रोग फैलिने त्रास
बाढी प्रभावित क्षेत्रमा कतिपयले स्थानीय धारा, कुवा र मुलकै पानी प्रयोग गरिरहेका छन् जुन यतिबेला दूतिष छ । होल्डिङ सेन्टरमा वितरण गरिएको बोतल र जारको पानी पर्याप्त नभएपछि स्थानीयहरूले धाराकै पानी प्रयोग गरेका हुन् । तर, खानेपानीकै कारण झाडापखालाजन्य रोग भयावह हुनसक्ने भन्दै मन्त्रालयले बाढी क्षेत्रका मुल–मुहानको पानी नपिउन अनुरोध गरेको छ । हाल होल्डिङ सेन्टरमा बोतल र जारको पानी वितरण भइरहेको पनि अपुग हुने गरेको छ । होल्डिङ सेन्टरमा वितरण गर्ने खाद्यान्न सँगै खानेपानी पनि काठमाडौंबाट पठाउने गरिएको छ । दाताहरूले अन्य सहयोगसँगै खानेपानीका बोतल र जार समेत सहयोग गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १५ हजारभन्दा जार र ३० हजारभन्दा बढीे काटुर्न खानेपानी बाढी प्रभावित क्षेत्रमा वितरण भएको छ । हाल खाद्यान्न संकलन गरिएको जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सहरी विकास तथा भवन निर्माण विभाग, नेपाल प्रहरीको तालिम केन्द्रलगायत स्थानमा बोतलको खानेपानी चाङ लगाएर राखिएको छ । आवश्यकताअनुसार उक्त पानी रसुवा र नुवाकोटका क्षेत्रमा लैजाने गरिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले यो समयमा खानेपानीमा सावधानी नअपनाए महामारीजन्य रोग फैलिने बताए ।

बाढी प्रभावितलाई धमाधम हैजाविरुद्धको खोप वितरण
बाढी प्रभावित क्षेत्रमा हैजाको संक्रमण फैलन सक्ने भन्दै सरकारले हैजाविरुद्धको करिब एक लाख एक हजार भन्दा बढी डोज खोप नुवाकोट र रसुवामा पठाइएको छ । हालसम्म नुवाकोटमा २१ हजार ६ सय र नुवाकोटमा  ८० हजार जोड खोप खोप पठाइएको छ । उक्त खोप गत बुधबारदेखि नै वितरण भइरहेको थियो । मंगलबारसम्म नुवाकोटमा २८ हजार ९९ र रसुवाका ९ हजार ७३१ जनालाई वितरण गरिएको छ । मुख्यतः बालबालिका र महिलालाई लक्षित गरेर खोप वितरण गरिएको छ । त्यस्तै, होल्डिङ सेन्टरमा राखिएकामा झाडापखाला देखिएपछि १० हजारभन्दा बढी जीवनजल प्याकेट पनि वितरण भएको छ । प्रभावितलाई राखिएका स्थानमा खानेपानी र खानेकुरामा ध्यान दिन अनुरोध गरिएको छ भने बसाइमा पनि उच्च सतर्कता अपनाइएको मन्त्रालयले जनाएको छ । 

बाढी प्रभावित क्षेत्रमा प्रहरीको अस्थायी अस्पताल 
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले अस्थायी अस्पताल सञ्चालन गरेको छ । होल्डिङ सेन्टर र त्यसआसपास बसोबास गर्नेलाई लक्षित गर्दै विदुर क्षेत्रमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालन गरिएको हो । नेपाल प्रहरी अस्पताल महाराजगन्जको विशेषज्ञ चिकित्सकसहितको टोली त्यहाँ पठाइएको छ । अब उक्त अस्थायी अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा पनि सञ्चालन हुनेछ भने नियमित ओपिडी सेवा प्रदान गरिएको छ । नेपाल प्रहरीका अनुसार अस्पतालमा प्रयोगशाला, औषधिलगायत सुविधा पनि छन् । अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा पनि उपलब्ध छ ।

सुझावित समाचार