बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि सिराहको भगवानपुर गाउँपालिकाले साढे पाँच लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्ने भएको छ ।

विनाशकारी भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पालिकाले उद्धार, राहत र सुरक्षित पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको पालिका अध्यक्ष उग्रनारायण यादवले बताए।  उनका अनुसार संघीय सरकारले गरेको निर्णय र आह्वानबमोजिम गाउँपालिकाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट कट्टा हुने गरी उक्त रकम कोषमा दाखिला गर्ने निर्णय गरिएको हो । 

त्यसअघि कोषमा सिरहाको मिर्चैया नगरपालिका २५ लाख ५८ हजार रुपैयाँ, लहान नगरपालिका ११ लाख, गोलबजार नगरपालिका पाँच लाख ५५ हजार ५५५ रुपैयाँ, कल्याणपुर नगरपालिका पाँच लाख र सिराहा नगरपालिका पाँच लाख दाखिला गर्ने निर्णय गरेका थिए ।

पछिल्लोपटक भगवानपुर गाउँपालिकासहित कोषमा जिल्लाका १७ पालिकामध्ये ६ पालिकाले ५६ लाख ६९ हजार ११० रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यसैबिच, जिल्लाका व्यापारी व्यवसायीहरूको पेसागत संस्था लहानस्थित जिल्ला उद्योग वाणिज्य संघले पनि भोटेकोशी बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संघका अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार संघले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मंगलबार दुई लाख २२ हजार २२२ रुपैयाँको चेक दाखिला गरेको हो।   

सुझावित समाचार