सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री मीनेन्द्र रिजाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सो कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको जग्गा बिक्री गर्न नेपाल अध्यक्षताको मन्त्रिपरिषद्ले नै सहमति दिएको थियो।
दुईवटा अध्यादेश ल्याउने सरकारको निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ ।
एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन
सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अनलाइन तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन्।
सुरुमा दुई हजार युवालाई मात्रै सहभागी गराउने लक्ष्य राखिएको भए पनि आवेदन अत्यधिक आएपछि सरकारले सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ नामक तालिममा युवाहरूको उल्लेख्य आकर्षण देखिएको हो।
३४ करोड कर्जा दुरुपयोगको आरोपमा व्यवसायी बानियाँ पक्राउ
३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोपमा व्यवसायी दीक्षान्त बानियाँ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।
विभिन्न बैंकको कर्जा दुरुपयोगबारे राष्ट्र बैंकको पत्रका आधारमा उनलाई पक्राउ गरिएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले भूगर्व सिमेन्ट कम्पनीको नाममा लिएको कर्जा अन्य कम्पनीमा लगानी गर्नुका साथै सेयर खरिदमा प्रयोग गरेका थिए।
पत्रकार पक्राउबारे प्रवक्ता भन्छन् – सरकारसँग अनुमति लिएको थिएन
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको जानकारीविना प्रहरीले पत्रकारलाई छलफलका लागि लगेको बताएका छन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ताले भने, ‘सरकारसँग अनुमति लिएर गरेको होइन। त्यसमा सरकारलाई, प्रधानमन्त्रीज्यूलाई केही पनि जानकारी थिएन।’
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू
मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले एडिबीबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने, नेपाल पुनर्बिमा कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिनेलगायतका निर्णयहरू गरेको छ।
यी हुन् रिजाल टासी जग्गा भ्रष्टाचार प्रकरणका प्रतिवादीहरू (सूचीसहित)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मोरङको विराटनगरस्थित हदबन्दी छुटमा प्राप्त जग्गा कानुनविपरीत सट्टापट्टा गरी सरकारी सम्पत्तिमा हानि पुर्याएको आरोपमा आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
रोमाञ्चक खेलमा विराटनगर दुई रनले विजयी
तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले जित निकालेको छ।
रोमाञ्चक खेलमा विराटनगर दुई रनले विजयी भएको हो। विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटियो। विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे। ओपनर सेहान जयसुरिया तीन बलमा मात्र एक रन जोडेर पेभेलियन फर्किँदा लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतक बनाएका थिए।
पोखराविरुद्ध लुम्बिनीको सहज जित
तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले ८ विकेटकाे सहज जित निकालेको छ। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो।
त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले नटआउट ४७ रन बनाए। ३२ बलमा उनले तीन चौका र तीन छक्का प्रहार गरे। निरोसन डिकबेलाले नटआउट २७ रन जोडे। आशिफ शेख सात रन बनाएर रनआउट हुँदा डार्सी सट १३ रन जाेडेर पेभेलियन फर्किएका थिए।
लुम्बिनी मन्त्रिपरिषद् बैठकले गर्यो १० निर्णय
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले घाइतेहरूको उपचारसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष ०८२/८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदनसमेत स्वीकृत गरेको छ। त्यस्तै, प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पनि पारित गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए।