विराटनगर किङ्सले ड्रिम टु प्ले आयोजना गर्ने

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

 फ्रेन्चाइज क्लब विराटनगर किंग्सले आफ्नो तल्लो तहको क्रिकेट विकास कार्यक्रमअन्तर्गत ‘ड्रिम टु प्ले’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । १ देखि ५ असोजसम्म हुने कार्यक्रम कोशी प्रदेश क्रिकेट संघअन्तर्गत रहेका पाँच जिल्लामा हुनेछ । 

यस आयोजनामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली खेलाडीलाई एउटै प्लाटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले जानकारी गराएका छन् । ‘यो कार्यक्रम नेपाली क्रिकेट विकासमा तल्लो तहदेखि नै प्रतिभाको पहिचान, अवसर प्रदान गर्न र उचित मार्गदर्शन गर्न अत्यन्त महत्वपूर्ण रहेको छ,’ निर्देशक दीपेन्द्रले भने । 

टिम व्यवस्थापक विजयकुमार धितालले ड्रिम टु प्ले कार्यक्रम केवल एउटा क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको खोजी, विकास र भविष्य निर्माण गर्ने अभियान रहेको जनाए । ‘विराटनगर किंग्सले दोस्रोपटक आयोजना गर्न लागेको यस कार्यक्रमले कोशी प्रदेशमा क्रिकेटको आधार तहलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ,’ व्यवस्थापक घितालले भने । यो प्रतियोगितासँगै विराटनगरले आफ्नो आइकोनिक खेलाडीसमेत छनोट गर्नेछ । 

निर्देशक चौधरीले भने, ‘हरेक प्रतिभाको एउटा सपना हुन्छ, तर त्यो सपनालाई वास्तविकतामा बदल्न सही अवसर आवश्यक छ । ड्रिम टु प्ले त्यही अवसर सिर्जना गर्ने एउटा महत्वपूर्ण कदम हो ।’

सुझावित समाचार