एमालेको कार्यदल आवासीय छलफलमा

सोमबारसम्म एकीकृत प्रतिवेदन बनाउने कार्यदलको सहमति

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका दुई समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमालेले शनिबारबाट आवासीय छलफल थालेको छ । उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग–अलग प्रतिवेदनलाई एकीकृत रूप दिन १५ सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुगेका छन् । पनौतीस्थित एक होटेलमा आवासीय छलफल गरेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने कार्यदलको सहमति छ । 

प्रचार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदन तयारीका लागि शनिबारबाट आवासीय छलफल सुरु भएको जानकारी दिँदै सोमबारभित्र पार्टी हितलाई केन्द्रविन्दुमा राखेर कार्यदलले प्रतिवेदन तयार पार्ने र त्यसपछि सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत हुने जानकारी दिए । ‘नेताहरूले सोमबारभित्र प्रतिवेदन बनाइसकेर फर्किनुहुन्छ,’ आचार्यले भने, ‘पार्टी हितलाई केन्द्रविन्दुमा राखेर प्रतिवेदन बन्नेछ ।’

केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार बसेको बैठकले शनिबारदेखि लगातार आवासीय छलफल गरेर दुवै दस्तावेज अध्ययन गर्ने र सहमतिका आधारमा एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको थियो । कार्यदलबाट पारित प्रतिवेदन केन्द्रीय सचिवालय बैठक हुँदै आगामी ५ देखि ७ असोजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । 
शुक्रबारको कार्यदल बैठकमा उपाध्यक्ष विष्णु पौडेलसहितका केही नेताले अर्का उपाध्यक्ष थापाको कार्यशैलीमाथि खुलेर आलोचना गरेका थिए । कार्यदलका संयोजकसमेत रहेका थापाले महासचिव पोखरेललाई ‘काउन्टर’ दिँदै अलग प्रतिवेदन बनाएर पेस गरेपछि नेताहरू उनीप्रति आक्रोशित भएका थिए ।

आलोचना गर्ने नेताहरूले केन्द्रीय सचिवालय र यसअघिको कार्यदल बैठकको निर्णयविपरीत थापाको प्रतिवेदन आएको बताएका थिए । १५ सदस्यीय कार्यदलमा पार्टी पुनर्गठनका क्रममा अध्यक्ष केपी ओलीलाई हटाउनुपर्ने र हटाउन नहुने दुवै मत राख्ने नेता रहे पनि थापाले पार्टीको निर्णयको मर्म नै नबुझेको भन्दै आलोचना भइरहेको छ । 

See More On

सुझावित समाचार