प्रमुख प्रतिपक्षी दल कांग्रेसले एक साताकै अन्तरालमा केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक बोलाएको छ । २१ र २२ भदौमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि आइतबार पुनः बैठक आह्वान गरिएको हो ।महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसम्बन्धी निर्णय गर्न बैठक बोलाइएको बताए । ‘महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो । महाधिवेशन सर्दैन । वडा अधिवेशन निर्धारित समयमै ३ असोजमा सुरु हुन्छ । बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको हो,’ उनले भने ।
केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको बताए । बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा छलफल हुने उनले बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
कांग्रेसका संस्थापन र इतर पक्ष छुट्टाछुट्टै रूपमा १५औँ महाधिवेशनको तयारीमा छन् । कुनै ‘नाटकीय सहमति’ नभए दुईटा महाधिवेशन निश्चित देखिएको वेला बेलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले दुवै पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गरेका छन् । अदालतबाट अन्तिम फैसलाबाट न्याय पाइने विश्वास दुवै पक्षको छ ।
इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा फर्किनुपर्ने अडान लिएपछि सहमतिको सम्भावना नदेखिएको नेताहरू बताउँछन् । तर, विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्नेमा सभापति गगन थापा अडिग छन् । इतर पक्षका अन्य सबै माग पूरा गर्न उनी तयार देखिएका छन् । तर, इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निर्णय, आयोजना र अध्यक्षतामा १५औँ महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।
विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिले आगामी ३ असोजमा वडा अधिवेशन गरेर महाधिवेशन सुरु गर्दै छ भने १४औँ महाधिवेशन पक्षधर (देउवा पक्ष)ले १५ असोजमा वडा अधिवेशनको कार्यतालिका ल्याएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ । निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा सहजीकरणका लागि सातजना वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजक तोकेका हुन् । कोशीमा डिल्लीबहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संजोजक तोकिएको छ ।
निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न निर्वाचन अधिकृतहरूसँग समन्वय गर्ने जिम्मेवारी प्रदेश संयोजकहरूलाई दिइएको छ । कार्यतालिकाअनुसार ३ र ४ असोजमा वडा अधिवेशन, ७ असोजमा पालिका अधिवेशन र १० असोजमा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै छ । १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने १५औँ महाधिवेशनपछि गर्ने तयारी छ ।
देउवा पक्षले १५ असोजमा वडा अधिवेशन
सुरु गरेर २१, २२ र २३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । १७ र १८ भदौमा बसेको महाधिवेशन तयारी समितिको बैठकले १५ असोजदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समयसीमा पनि तोकिएको छ । जसअनुसार जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समिति ३ असोजभित्र गठन गरिसक्नुपर्नेछ ।
प्रदीप पौडेल, महामन्त्री
महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो । महाधिवेशन सर्दैन । वडा अधिवेशन निर्धारित समयमै ३ असोजमा सुरु हुन्छ । बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको हो ।