काठमाडौं महानगरद्वारा कीर्तिपुर अस्पताललाई एक करोड र स्वास्थ्य उपकरण हस्तान्तरण

जलनको उपचारमा थप सहयोग पुग्ने अपेक्षा

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले कीर्तिपुरस्थित कीर्तिपुर अस्पताललाई एक करोड रुपैयाँसहित विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।

शुक्रबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले अस्पताललाई एक करोड रुपैयाँको चेकसहित एक्सरे मेसिन, एनेस्थेसिया मेसिन र जेनेरेटर हस्तान्तरण गरेकी हुन्। महानगरपालिकाका अनुसार अस्पताललाई हस्तान्तरण गरिएका उपकरण जडान भइसकेका छन्।

विशेषगरी जलनका बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले एक करोड रुपैयाँ उपलब्ध गराइएको महानगरले जनाएको छ। उक्त रकम अस्पतालको कोषमा रहने र त्यसबाट बिरामीले उपचार सेवा लिन सक्ने कार्यवाहक प्रमुख डंगोलले बताइन्।

कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डा. शंकरमान राईले अस्पतालमा देशका विभिन्न स्थानबाट मात्रै नभई भारतबाट समेत जलनका बिरामी उपचारका लागि आउने गरेको बताए।

उनका अनुसार पछिल्ला वर्षमा जलनका बिरामीको उपचार सफल हुने दर उल्लेख्य रूपमा बढेको छ। करिब आठ–नाै वर्षअघि अस्पतालमा जलनका एक सय बिरामी उपचारका लागि आउँदा निकै कम बिरामीको मात्र उपचार सम्भव हुने अवस्था रहे पनि अहिले उपचारबाट निको हुनेको संख्या बढेको उनले बताए।

हाल अस्पतालमा उपचारका लागि आउने जलनका बिरामीमध्ये करिब ८९ प्रतिशत निको हुने गरेको डा. राईले जानकारी दिए।

महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले महानगरले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले काम गरिरहेको बताइन्।

‘एक्सरे मेसिन, एनेस्थेसिया मेसिन र जेनेरेटरले अस्पतालको सेवा सहज बनाएको रहेछ। एक्सरे सेवा लिनेको संख्या पनि बढेको रहेछ,’ उनले भनिन्, ‘जलनको उपचारमा सहज होस् भनेर यी उपकरण दिएका हौँ। अस्पताललाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्न महानगर तयार छ।’

उनले अस्पतालको सेवा विस्तारका लागि भवन तथा भौतिक पूर्वाधारसँगै आवश्यक उपकरण पनि महत्त्वपूर्ण हुने बताइन्।

‘अस्पतालको सेवा भनेको भवन वा भौतिक पूर्वाधार मात्रै होइन, आवश्यक उपकरण पनि चाहिन्छ,’ डंगोलले भनिन्।

कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले उपलब्ध गराएको एक करोड रुपैयाँ अस्पतालको कोषमा रहने र आवश्यकताअनुसार त्यसबाट बिरामीले उपचार सेवा लिन सक्ने स्पष्ट पारिन्।

यसक्रममा उनले अस्पतालका विभिन्न सेवा तथा उपकरणको निरीक्षणसमेत गरेकी थिइन्।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले आफ्नै अस्पताल सञ्चालन गर्ने तयारीसमेत गरिरहेको जानकारी दिइन्। महानगरले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

सुझावित समाचार