नेपाल भलिबल लिग (एनभिए) अन्तर्गत मंगलबार मधेश वारियर्सले आफ्नो चौथो खेलमा पहिलो जित दर्ता गर्यो । शीर्ष स्थानको होडबाट बाहिरिसकेको मधेशले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा अंकतालिकाको पुछारमा रहेको खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो । एकपक्षीय जित निकालेको मधेश २५–२१, २५–२० र २५–२३ ले विजयी भयो । जितसँगै मधेश चार खेलमा चार अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा सगरमाथा स्म्यासर्स र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग मधेशले ३–१ सेटको हार सामना गरेको थियो । तर, दोस्रो खेलमा काठमाडौं रेड्सविरुद्ध मधेशले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गरे पनि हार व्यहोरेको थियो । प्रतिस्पर्धात्मक भिडन्तमा काठमाडौंले मधेशलाई ३–२ ले हराएको थियो । तीन खेल खेलिसक्दा खप्तडले अंकको खाता खोल्न सकेको छैन । टोलीले यसअघि कर्णाली शिवराज र सगरमाथा स्म्यासर्ससँग पनि सोझो सेटमा पराजित भएको थियो । मधेशका जिविन सेबास्टियन म्यान अफ दी म्याच घोषित भएका छन् ।
काठमाडौंले निकाल्यो दोस्रो जित
काठमाडौं रेड्सले एनभिएमा दोस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार भएको दोस्रो खेलमा काठमाडौंले सगरमाथालाई ३–१ को सेटमा पाखा लगाएको हो । यस खेलमा काठमाडौंका अहमद मुस्तफा म्यान अफ दी म्याच भए । काठमाडौं रेड्सले सगरमाथालाई २५–१२, २२–२५, २५–१८ र २५–२० को सेटमा पाखा लगाएको हो ।
यसअघि काठमाडौंले रोमाञ्चक खेलमा मधेशलाई ३–२ ले हराएको थियो । लिगमा काठमाडौंले एक हार सामना गरेको छ । अन्नपूर्ण स्पाइकर किंग्सले काठमाडौंमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो । सगरमाथाको चार खेलमा यो दोस्रो हार हो । सगरमाथाले सोमबार अपराजित रहेको कर्णालीविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । पाँचौँ सेटसम्म प्रतिस्पर्धात्मक रूपमा चलेको खेलमा कर्णालीले सगरमाथालाई ३–२ ले हराएको थियो । सगरमाथाले पहिलो खेलमा मधेशलाई ३–१ तथा खप्तडलाई ३–० ले पन्छाएको थियो । प्रतियोगिताको बुधबार पहिलो खेल अन्नपूर्ण र खप्तडबिच हुनेछ । दोस्रो खेलमा कर्णालीले काठमाडौंको सामना गर्नेछ ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन् । सहभागीले एकल सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलिरहेका छन् । शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख पुरस्कार प्राप्त गर्नेछ । पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल २७ भदौमा हुनेछ ।
पाँच लाख ९० हजार रुपैयाँ उद्धार कोषमा
केडिया ग्रुपको आयोजनामा भइरहेको एनभिएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम बाढीपीडितलाई सहयोग गरिएको छ । केडिया ग्रुपले पाँच लाख ९० हजार १५० रुपैयाँ बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । प्रतियोगिता सुरु हुनुअगाडि नै आयोजकले रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार, उपचार र पुनर्स्थापनाको अभियानमा सहयोग गर्ने जनाएको थियो ।
सोहीअनुसार पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको थियो । केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । एनभिएलका प्रबन्ध निर्देशक अश्विन केडिया, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय तथा सिइओ विकास खेतानको पनि उपस्थिति थियो ।