वर्षापछि गएको पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग १५ घण्टापछि सञ्चालनमा आएको छ । राप्ती राजमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिका– ५, खारखोला र कपुरकोट गाउँपालिका– ३, चोरखोलामा मंगलबार साँझ गएको पहिरो हटाइएसँगै सडक सञ्चालनमा आएको हो ।
पहिरो हटाए पनि तत्काल चोरखोलामा साना सवारीसाधन मात्र पास हुन सकिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । ठुला सवारीसाधन सञ्चालन हुन केही समय अझै लाग्ने उनको भनाइ छ ।
सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन बिचबाटोमा अलपत्र परेका थिए । कर्णाली प्रदेशको प्रवेशद्वारका रूपमा रहेको राप्ती राजमार्ग सल्यान, रुकुम पश्चिम, पूर्व र रोल्पाका नागरिक आवतजावत गर्ने मुख्य सडक हो ।