नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १८.०७ अंकले बजार बढेसँगै नेप्से परिसूचक २५६०.८४ विन्दुमा बन्द भएको छ । १६ भदौयता नेप्से लगातार बढेको छ । यस अवधिमा चार दिन बजार खुल्दा नेप्से ५२.८९ अंकले बढेको छ । १६ गते ९.२४, १७ गते १५.४४ र १८ गते ४.६६ अंकले बढेको बजार सोमबार १८.०७ अंकले बढेको हो । १६ भदौअघि लगातार ६ कारोबार दिनमा नेप्से कुल ११५.९८ अंकले घटेको थियो । भदौमा मात्रै बजार ८२.९९ अंकले घटेको नेप्सेको तथ्यांक छ ।
नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सय ९५ वटाको मूल्य बढेको छ भने ७९ वटाको घटेको छ । यस्तै, कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । गत बिहीबार तीन अर्ब ४६ करोड रुपैयाँबराबरको धितोपत्र किनबेच भएकामा सोमबार तीन अर्ब ८३ करोड पुगेको छ ।
नेप्सेका अनुसार प्योर इनर्जीको मूल्यमा सकारात्मक सर्किट लाग्दा इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्समा नकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ बैंकले सिन्धु र जानकीलाई प्राप्ति गर्ने घोषणासँगै यी कम्पनीको सेयरमा दबाब देखिएको हो । नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बिमा समूह सर्वाधिक २.०९ प्रतिशतले बढेको छ । त्यसपछि उत्पादन तथा प्रशोधन र बैंकिङ समूह क्रमशः १.२४ र १.१५ प्रतिशतले बढेका छन् । अन्यको वृद्धि ०.७१ प्रतिशतमुनि छ ।
सोमबार रिलायन्स स्पिनिङ मिल्सको २५ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, गरिमा विकास बैंकको १७ करोड ८८ लाख, सोलु हाइड्रोपावरको सवा १६ करोड २७ लाख, एसवाई प्यानलको १३ करोड ४४ लाख र सुपर मादी हाइड्रोपावरको १० करोडको धितोपत्र कारोबार भएको छ ।
त्यसैगरी, गरिमा विकास बैंकको सेयर सर्वाधिक खरिद–बिक्री भएको छ । सोमबार यस बैंकको चार लाखभन्दा बढी कित्ता किनबेच भएको हो । बैंकको गत आर्थिक वर्षका लागि बोनस र नगद गरी कुल २० प्रतिशत आकर्षक लाभांश प्रस्ताव गरेको छ । यससँगै यो स्टकमा लगानीकर्ता झुम्मिएका हुन् ।
पुँजीबजार सुधारका उपाय पेस गर्न निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । उनले सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गरी निर्देशन दिएका हुन् । बैठकमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर किरण पण्डित, बोर्ड अध्यक्ष डा. गोपाल भट्ट र उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए ।