भोटेकोशी बाढीको पर्यटनमा असर : ५% पर्यटक घट्ने आकलन

प्रभावित क्षेत्रबाहेक काठमाडौं, पोखरा, चितवनलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटन गतिविधि सामान्य रहेको र नेपाल सुरक्षित रहेको सन्देश दिन पर्यटन बोर्डको आग्रह

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपालमा पर्यटनको मुख्य सिजन सुरु हुने समयमा आएको विनाशकारी भोटेकोशी बाढीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सिजन मानिन्छ । तर, २६ अगस्टमा आएको भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायका जिल्लामा व्यापक धनजनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् । 

सिजन सुरु हुन लागेको समयमा आएको बाढीले पर्यटकमा मनोवैज्ञानिक असर परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले बताए । उनले भने, ‘अहिले सिजन भर्खर सुरु हुन लागेको छ । त्यसैले कति प्रतिशत बुकिङ रद्द भयो भन्ने यकिन भन्न सकिन्न, तर यो बाढीले सिजनमा करिब पाँच प्रतिशतसम्म असर गर्छ कि भन्ने अनुमान छ ।’ यद्यपि, कैलाश यात्राबाहेक पोखरा, लाङटाङलगायतका अन्य प्रमुख पर्यटकीय गन्तव्यमा ठुलो संख्यामा बुकिङ रद्द हुने अवस्था नरहेको होटेल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । ‘अहिले सिजन सुरु हुन लागेको अवस्था हो । त्यसैले केही बुकिङ रद्द भएका छन् । तर, अहिलेसम्मको अवस्थालाई हेर्दा पर्यटन क्षेत्रमा करिब पाँच प्रतिशतसम्म असर पर्न सक्छ,’ पाण्डेले भने ।

नेपाल आउने अधिकांश पर्यटकले टिकट विदेशमै खरिद गर्ने भएकाले कतिले रद्द गरे भन्ने यकिन तथ्यांक नरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष भरतजंग पाण्डेले जानकारी दिए । उनले भने, ‘हामी पर्यटन क्षेत्रका सरोकारवाला रसुवा क्षेत्रबाहेकका पर्यटकीय स्थल सुरक्षित रहेको सन्देश प्रवाह गर्न प्रयत्न गरिरहेका छौँ । यद्यपि, टिकट रद्द गरिरहेको जानकारी आइरहेको छ । अधिकांश पर्यटकले विदेशमै टिकट लिने भएकाले रद्द गरेको यकिन जानकारी प्राप्त गर्न भने कठिन देखिन्छ ।’

गत वर्ष पनि २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा असर पारेको थियो । जसले गर्दा अघिल्लो वर्ष सन् २०२४ को तुलनामा पर्यटक आगमन घटेको थियो । गत वर्ष २०२५ को सेप्टेम्बरमा ७८ हजार सात सय ११ विदेशी पर्यटक आएका थिए । तर, अघिल्लो वर्ष सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार तीन सय दुई पर्यटक नेपाल घुम्न आएका थिए । 

यो वर्ष अगस्टमा गत वर्षको तुलनामा विदेशी पर्यटकको आगमन तीन हजार दुई सय ३६ जनाले घटेको छ । यो वर्ष अगस्टमा भने अघि ८५ हजार चार सय ४४ विदेशी पर्यटक भित्रिएको बोर्डको तथ्यांक छ । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६ सय ८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । 

 कैलाश यात्रामा असर, लाङटाङमा वैकल्पिक बाटोबाट पर्यटक 
प्रभावित क्षेत्रको अवस्थाले कैलाश जाने पर्यटकलाई प्रत्यक्ष असर पारेको छ । त्यस्तै, मनाङतर्फको यात्रामा समेत प्रशासनले अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरिएको छ । तर, लाङटाङ क्षेत्रको पर्यटनमा केही असर पारे पनि बाटो खुलेपछि गतिविधि पुनः सञ्चालन गर्न सकिने पाण्डेले बताए । लाङटाङ जाने मुख्य बाटोमा समस्या भए वैकल्पिक ट्रेकिङ रुट विकास गरेर पर्यटकलाई गन्तव्यसम्म पुर्याउन सकिने उनको भनाइ छ ।

धुन्चे हुँदै जाने रुटमा ठुलो समस्या नभएकाले लाङटाङबाहेकका धेरै ट्रेकिङ तथा पर्यटन गतिविधि निरन्तर सञ्चालन गर्न सकिने अवस्था छ । ‘लाङटाङलाई अलिकति हिट गरेको छ । तर, बाटो खोल्नेबित्तिकै माथिल्लो क्षेत्रमा जान समस्या हुँदैन । वैकल्पिक ट्र्याक बन्यो भने त्यहाँबाट पनि पर्यटक जान सक्छन्,’ उनले भने । बाढीको असरले ट्रेकिङ र क्लाइम्बिङमा जाने पर्यटकले भने केही सतर्कता अपनाउनुपर्ने भएको छ । 

 नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह 
भोटेकोशी बाढी तथा पहिरोको अवस्थालाई लिएर सिंगो नेपाल नै असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरोकारवालाले आग्रह गरेका छन् । विपत् प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धार आवश्यक रहे पनि देशका अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेको भन्दै नेपाल पर्यटन बोर्डले पर्यटकलाई नेपाल भ्रमण रद्द नगर्नसमेत आग्रह गरेको हो ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार विपत्पछि अवस्थाको निरन्तर अनुगमन, सूचना संकलन तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सही सूचना उपलब्ध गराउन पर्यटन क्षेत्रका विभिन्न निकाय सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको छ ।

बाढी आएका केही क्षेत्रमा अवस्था संवेदनशील रहे पनि काठमाडौं, पोखरा, चितवनलगायत प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटन गतिविधि सामान्य रहेको होटेल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । ‘अहिलेको अवस्था रसुवातिर मात्रै हो । तर, बाहिर सिंगो नेपालमै समस्या भएकोजस्तो समाचार गइरहेको छ । काठमाडौं, पोखरा, चितवन जाँदा वा अन्य गन्तव्यमा त्यस्तो समस्या छैन,’ शाहले भने । सरकारले पर्यटन क्षेत्रसँग सम्बन्धित निकाय, पर्यटन बोर्ड तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत वास्तविक अवस्थाबारे नियमित सूचना प्रवाह गर्न पनि उनले आग्रह गरे ।

बाढी तथा पहिरोबाट प्रभावित रसुवा, लाङटाङलगायतका क्षेत्रमा अहिले पर्यटकलाई जान सिफारिस नगरिएको हानका अध्यक्ष शाहले बताए । तर, ती क्षेत्रबाहेकका प्रमुख पर्यटकीय गन्तव्यको सामान्य अवस्थामा रहेको उनको भनाइ छ । विभिन्न देशले जारी गर्ने ‘ट्राभल एडभाइजरी’ले पर्यटक आगमनमा प्रभाव पार्ने गर्छ । ठुला अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीले आफ्नो निश्चित प्रक्रिया र जोखिम मूल्यांकनका आधारमा समूह पठाउने भएकाले तत्कालै बुकिङमा प्रभाव पर्न सक्ने उनको भनाइ छ । ‘विभिन्न देशको ट्राभल एडभाइजरीले पनि यसमा रेफरेन्स हुन्छ । कतिपयले अहिले ‘वेट एन्ड सी’को अवस्था अपनाइरहेका छन्,’ उनले भने । 

बाढीका कारण नेपालका पर्यटकीय गन्तव्य नै असुरक्षित रहेको सन्देश बाहिरिँदा पर्यटन व्यवसायमा असर पर्न थालेको बोर्डको निष्कर्ष छ । त्यसैले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई वास्तविक अवस्थाबारे नियमित ब्रिफिङ भइरहेको बोर्डका निमित्त कार्यकारी प्रमुख कार्यकारी अधिकृत ऐरले बताए । उनले भने, ‘अहिले करिब २० वटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि नेपालमा आएर अवस्थाबारे रिपोर्टिङ गरिरहेका छन् ।

जापानको एनएचके, सिएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग समन्वय गरी विपत् भोटेकोशी–रसुवा र त्रिशूली बेसिनको निश्चित क्षेत्रमा केन्द्रित रहेको स्पष्ट पार्न आग्रह गरेका छौँ । एउटा क्षेत्रको अवस्थालाई लिएर सिंगो नेपाल नै जोखिममा छ भन्ने सन्देश नजाओस् । अरू पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने कुरा पनि स्पष्ट गरिदिनुपर्छ । गलत सूचनाका कारण टुर प्याकेज रद्द हुन थालेका छन् ।’ पर्यटन बोर्डले यही सन्देशसहित ‘नेपाल कलिङ’ अभियानसमेत अघि बढाएको छ । भोटेकोशी क्षेत्रको टिमुरेआसपासमा प्रारम्भिक तथ्यांकअनुसार एक सय २४ वटा होटेल पूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब एक अर्ब दुई करोडबराबरको क्षति भएको विवरण छ । 

सुझावित समाचार