भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवा जिल्लामा रहेका नेपाली सेनाका सुरक्षा बेसहरूमा समेत क्षति पुगेको छ। नुवाकोटस्थित शेर गण, श्रीडाँडा ब्यारेकअन्तर्गत देवीघाट, टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रमा तैनाथ सेनाको सुरक्षा बेस बाढीबाट प्रभावित भएका छन्।
यी सुरक्षा बेसहरूबाट बाढीले हातहतियार, गोलीगठ्ठा, सैनिक सामग्री तथा उपकरणहरू बगाएको शेर गण, श्रीडाँडा ब्यारेकलाई उदृत गर्दै जिल्ल प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ।
सेनाका हातहतियार तथा सैनिक सामग्रीहरू फेला परे यथाशीघ्र नजिकैको नेपाली सेनाको ब्यारेक वा नेपाल प्रहरीलाई खबर दिन प्रशासनले आग्रह गरेको छ।
