‘शव मेरै श्रीमानकाे हो । कान, आँखा, अनुहार सबै मेरो श्रीमान्कै हुन् । मैले प्रस्ट चिनेँ । तर, शव खाल्डोमा गाडिसकिएको रहेछ । त्यो सबै शवको फोटो हेरेर चिनेकी हुँ । अब डिएनए परीक्षण नगरीकन शव नपाइने रहेछ । चितवनमा शव गाडेको खाल्डोमाथि हेरेर घर फर्कंदै छु ।’
फोनमा मेनुका सार्कीको आवाज पटक–पटक रोकियो । केहीबेर मौन बसिन् । अनि फेरि भनिन्, ‘मेरो श्रीमान् हो भन्ने मलाई थाहा छ । म श्रीमान् नचिनी भन्छु त ?’ तर, श्रीमान्को शव आफ्नै आँखाले चिनेको दाबी गरे पनि उनी शव लिएर घर फर्किन पाइनन् । बरु, गाडिसकिएको शव रहेको खाल्डोमाथि उभिएर फर्किनुपर्यो । मेनुकालाई अहिले प्रश्नले घेरिरहेको छ । ‘शव अब कहिले पाउने ? कहिले काजकिरिया गर्ने ?’
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका उदयपुर कटारी नगरपालिका– ५, भोर्लेका ४० वर्षे मोहनबहादुर सार्कीको शव फेला परेको आशंकामा उनकी श्रीमती मेनुका चितवन पुगेकी थिइन् । शवको तस्बिर हेरेपछि उनी ढुक्क थिइन् । त्यो आफ्नै श्रीमान्को शव हो ।
तर, एउटै शवमा तीन परिवारले दाबी गरेपछि कानुनी रूपमा पहिचान गर्न डिएनए परीक्षण आवश्यक बन्यो । शव पहिल्यै गाडिसकिएको थियो । श्रीमान्को शव लिन पुगेकी मेनुका अन्ततः शव गाडिएको ठाउँ हेरेरै घर फर्किन बाध्य भइन् ।
मोहनबहादुर सार्कीको पहिचानका लागि उनका छोरा अजितको रगतको नमुना डिएनए परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आउन दुईदेखि तीन महिनासम्म लाग्न सक्ने जानकारी पाएपछि परिवारको पीडा झन् बढेको छ । मृत्युको पीडासँगै अब उनीहरूले श्रीमान् र बाबुको शव पाउन पनि महिनौँ कुर्नुपर्ने भएको छ ।
भोर्लेमा मेनुकालाई श्रीमान्को प्रतीक्षा मात्र छैन, तीन साना सन्तानको भविष्यको चिन्ता पनि उत्तिकै छ । उनका १४ र नौ वर्षका दुई छोरा तथा अढाई वर्षकी छोरी छन् । ऐलानी जग्गामा बनेको सानो घरमा बस्दै आएको यो परिवारको जीवन ज्याला–मजदुरीमै निर्भर थियो ।
मोहनबहादुर नै परिवारको मुख्य सहारा थिए । गाउँमा मजदुरी गरेर परिवारको खर्च धान्न कठिन भएपछि उनी रसुवाको हाइड्रोपावर आयोजनामा मजदुरका रूपमा काम गर्न पुगेका थिए । परिवारको भविष्य बनाउने आशामा घर छाडेर गएको व्यक्ति बाढीमा बेपत्ता भएपछि अहिले परिवारको भविष्य नै अन्योलमा परेको छ ।
बेपत्ता मोहनबहादुरका भतिज प्रकाश सार्की भन्छन्, ‘हामी मजदुरी गरेर खाने परिवार हौँ । अब काका सकिनुभयो । परिवारको बिचल्ली छ । शव पनि तुरुन्त पाउन सकिएन । डिएनए रिपोर्ट आउन दुई महिना लाग्छ भनेका छन् । अब कहिलेसम्म कुर्नुपर्ने हो थाहा छैन । हामीले फोटोमा देखेको शव मेरै काकाको हो ।’
मोहनबहादुरको शव भएको दाबी परिवारले मात्र गरेको छैन । कटारी नगरपालिका– ५ का वडाध्यक्ष मोहनबहादुर तामाङ पनि शव उनकै हुन सक्ने बताउँछन् । ‘मैले उहाँलाई धेरैपटक देखेको व्यक्ति हुँ । तर, कानुनी रूपमा पहिचान नभई शव लैजानु उचित हुँदैन भनेर परिवारलाई डिएनए परीक्षणमा सहयोग गरेको छु ।
उहाँ (बेपत्ता मोहनबहादुर सार्की) परिवार शव गाडेकै ठाउँ हेरेर फर्किँदै गरेको जानकारी पाएको छु ।’ वडाध्यक्ष तामाङले औपचारिक रूपमा पहिचान भएपछि शव ल्याउन आवश्यक सहयोग गर्ने पनि बताए । उनका अनुसार कटारी हालसम्म नगरपालिका–५ निवासी लोकबहादुर विश्वकर्मा, ओमकुमार सार्की, प्रेमबहादुर रोक्का र बुद्धिमान नेपाली सम्पर्कविहीन छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलका अनुसार आफन्तले तस्बिरका आधारमा शव मोहनबहादुरकै भएको प्रारम्भिक पहिचान गरेका छन् । तर, अन्तिम पुष्टि भने डिएनए परीक्षणबाट मात्रै हुनेछ । ‘डिएनए परीक्षणका लागि नमुना संकलन गरेर पठाइसकेका छौँ,’ उनले भने, ‘रिपोर्ट आएपछि मात्र शवको पहिचान कानुनी रूपमा टुंगो लाग्छ ।’
भोटेकोशी बाढीपछि उदयपुरका २१ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये पाँचजना परिवार तथा प्रहरीको सम्पर्कमा आएका छन् । बाँकी १६ जनामध्ये मोहनबहादुरको शव फेला परेको आशंका गरिएको छ ।
उदयपुर प्रहरी प्रमुख एसपी राजन चापागाईँका अनुसार फेला परेको शवमा तीन परिवारले दाबी गरेकाले डिएनए परीक्षण गर्नुपरेको हो । ‘हालसम्म सम्पर्कविहीन रहेका कटारीका मोहनबहादुर सार्कीको शव फेला परेको भन्ने छ,’ उनले भने, ‘तर अन्य परिवारले पनि दाबी गरेकाले डिएनए परीक्षणमा पठाइएको छ । रिपोर्ट आएपछि मात्र शव कसको हो भन्ने टुंगो लाग्छ ।’