रसुवा–नुवाकोट सडकखण्डमा दैनिक ७ घण्टा सवारी आवागमन बन्द

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

 पासाङल्हामु सडकखण्डअन्तर्गत रसुवा र नुवाकोटका विभिन्न स्थानमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले दैनिक रूपमा निश्चित समय सवारी आवागमन बन्द गरिने भएको छ। नेपाल–चीन सीमाक्षेत्रको ल्हेन्दे खोलाबाट भोटेकोशी नदी हुँदै आएको बाढीले सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सडक मर्मत तथा स्तरोन्नतिको काम अघि बढाइएको हो।

वैकल्पिक सडकमा अत्यधिक सवारी चाप बढ्नुका साथै सवारीसाधन फस्ने र पहिरो जाने समस्या देखिएपछि मर्मत कार्यलाई सहज बनाउन सडक आवागमन आंशिक रूपमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार २०८३ भदौ २१ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक दुई चरणमा सवारी आवागमन बन्द हुनेछ। बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सडकमा सवारी सञ्चालन गर्न रोक लगाइनेछ।

सवारी आवागमन बन्द हुने स्थानमध्ये रसुवा खण्डमा फाम्चेत तथा नुवाकोट खण्डमा बाहुनबेँसी र चोगते रहेका छन्। जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयअनुसार सडक मर्मत कार्यलाई तीव्र गतिमा अघि बढाई सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने उद्देश्यले आवागमन व्यवस्थापन गरिएको हो।

सम्बन्धित निकायले सर्वसाधारण तथा सवारीचालकलाई तोकिएको समयतालिकाअनुसार मात्र यात्रा गर्न र सडक मर्मत कार्यमा आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

सुझावित समाचार