भोटेकोशी बाढीमा सम्पर्कविहीन भएको १०औँ दिन । परिवारमा न भोक थियो, न निद्रा । हरेक पल एउटै प्रार्थना– ‘कतैबाट सुखद खबर आओस् ।’ आशाको त्यान्द्रो समातेर आफन्तजन दिन गन्दै थिए ।
कृष्ण अष्टमीको बिहान अचानक आएको खबर अप्रत्याशितजस्तो थियो– ‘माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सञ्जय साह र कविर महर्जन जीवितै भेटिए ।’ तर, खबर सत्य थियो । भोटेकोशी बाढीपछि पीडाले थलिएको परिवारमा यही खबरले खुसीको भेल ल्याइदियो ।
बाढीले तहसनहस पारेको त्रिशूली– ३ ‘ए’को सुरुङमा १० दिनसम्म जीवन र मृत्युबिच संघर्ष गरेका सञ्जय र कविरलाई सकुशल उद्धार गरिनु धेरैलाई चमत्कार लाग्यो । तर, परिवारका लागि त्यो आफ्ना मान्छेले पाएको दोस्रो जीवन अर्थात् पुनर्जन्मको क्षण थियो ।
आयोजनाको पावरहाउसमा कार्यरत सञ्जय र कविरलाई सेनासहितको प्राविधिक टोलीले बिहान ८:५५ मा सकुशल उद्धार गरेको थियो । मेकानिकल इन्जिनियर सञ्जय तीन वर्षदेखि र मेकानिकल सुपरभाइजर कविर करिब १८ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् ।
गत १० भदौको प्रलयकारी बाढीमा हराएकाका परिवार बेचैन छन् । यही बेचैनीबाट गुज्रिरहेका थिए– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ का ५५ वर्षीय रामफल साह र उनकी ४५ वर्षीय पत्नी ।
सञ्जय रामफलका छोरा हुन् । कृष्ण जन्माष्टमीको दिन भगवान्को पूजाआजाको काममा व्यस्त रहेका रामफलका दम्पतीले हराइरहेको छोराको उद्धारको खबर पाएपछि हर्षको आँसु थाम्न सकेनन् ।
सेनाले उद्धार गरेको फोटो र भिडियो बिहानैदेखि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल थिए । रामफलले पनि मोबाइलमा फोटा–भिडियो देखेर छोराको उद्धार गरेको थाहा पाएको बताए ।
भोटेकोशी बाढी गएको दिनदेखि बेखबर रहेको छोराको चिन्ता कति थियो ? शब्दमा व्यक्त गर्न पनि सक्दैनन्, रामफल । सञ्जयका बुबा रामफल भन्छन्, ‘कहनलायक छैन हजुर ।’ सञ्जय हराएदेखि उनकी पत्नीको आँखामा आँसु ओभाएका थिएनन् । दुई वर्षीया छोरी आफ्नो बाबा खोजिरहेकी छिन् ।
उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरिएको खबर पाएपछि झटपट काठमाडौं आउने चाँजोपाँजो मिलाउन लागे । बुबा, काका–काकी र भान्जा चारजना भएर सञ्जयलाई भेट्न काठमाडौं आउन १० बजे घरबाट हिँडे । ‘एम्बुलेन्स रिजर्भ गरेर विराटनगर आयौँ,’ उनले भने, ‘विराटनगर एयरपोर्टबाट ३:२५ मा फ्लाइट गरेर ४ बजे काठमाडौं ओर्लेको । त्यहाँबाट अस्पताल आएका हौँ ।’
काठमाडौं आएपछि उनी विमानस्थलबाट सिधै वीरेन्द्र सैनिक अस्पताल गए । त्यहाँ छोराको उपचार कक्षमा पुगे । जब छोरालाई देखे, रामफल नि:शब्दजस्तै भए । बाबु–छोराको आँखाबाट आँसु खसे । ‘छोरालाई भेटेँ । कुराकानी भयो । हातमा, ढाडमा घस्सिएजस्तो छ । अलिअलि चोट लागेको छ,’ उनले नयाँ पत्रिकासँग भने । उपचारमा संलग्न चिकित्सकले पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
१० भदौमा बाढी आउनुअघि सप्तरीमा रहेका परिवारसँग सञ्जयको कुराकानी भएको थियो । सञ्जयका बुबा रामफलले भने, ‘१० गते पौने ८ बजे हाम्रो छोरा ड्युटीमा गएको थियो । छोरी (सञ्जयकी छोरी)सँग भिडियो देखाएर कुरा गर्दैगर्दा तीन–चार सेकेन्डमै उनको मोबाइल अफ भयो । त्यसअघि फोन लाग्दै लागेन ।’ रामफलका अनुसार ५ साउन ०८० देखि सञ्जय नेपाल विद्युत् प्राधिकरणमा कार्यरत थिए । प्राधिकरणले उनलाई रसुवा खटाएको थियो ।
भोटेकोशीको प्रलयकारी बाढी, बाढीमा परेर सयौँ मानिसको मृत्युको खबर र हजारौँ बेपत्ता रहेको समाचार सुन्दा सञ्जयको परिवार पीडामा थियो । उद्धार हुनुअघिका करिब १० दिन परिवारले कसरी गुजारे होला ?
रामफल भन्छन्, ‘सकुशल छ कि छैन भन्ने केही थाहा थिएन हजुर । त्यसकी आमा त बेहोसै छे घरमा । आमाको मायाले छोरालाई धेरै कठिनले पालेकी थिइन् ।’
छोरालाई अस्पतालमा भेटेपछि रामफलले घरमा फोन गरेर खबर सुनाए । ‘अस्पतालमा छोरालाई भेटेर मैले फोन गरेर घरमा बताएँ, तब उसले (सञ्जयकी आमा) खुसी पाई,’ उनले सुनाए ।
छोरा बेपत्ता भएपछि बाबुआमाको मन कति गुज्रियो होला, त्यो शब्दमा भन्न कठिन छ, तर आशा भने मरेको थिएन । ‘आशा त थियो हजुर, भगवान्को दयाले । भगवान्को करुणा, पूजापाठ र प्रार्थना गरिरहन्थ्यौँ,’ रामफलले भने ।
उनका अनुसार छोराको जीवनका लागि देशवासी, गाउँसमाज र आफन्त सबैले प्रार्थना गरिरहेका थिए । ‘भगवान्को आशीर्वाद, देशवासी र गाउँसमाज सबैको आशीर्वाद लाग्यो । सरकारले हाम्रो छोराको उद्धार गरिदियो,’ उनले भने ।
सञ्जयलाई उद्धार गरेर छाउनीस्थित अस्पतालमा ल्याएपछि उनलाई भेटेका भान्जा ऋषिदेव साहको खुसीको पनि सीमा रहेन । ‘यति लामो समयपछि मान्छे सकुशल भेटियो । भगवान्को आज जन्मदिन रहेछ । यही दिन उहाँको पुनर्जन्म नै भयो,’ उनले भने ।
सञ्जयजस्तै दोस्रो जीवन पाएर फर्किएका छन् ललितपुर बालकुमारीका कबिर महर्जन पनि । यसले उनको परिवारमा पनि खुसी दिएको छ ।
कबिरको उद्धार भएको खबर परिवारले पाउनासाथ घरमा खुसीको रुवाबासी नै चल्यो । उनकी पत्नी हिराशोभाले १० दिनको पीडापछि आएको खबरले दिएको खुसी शब्दमा व्यक्त गर्न नसकिने बताइन् ।
‘१० दिन कुर्यौँ । आज पनि हामीलाई त्यति विश्वास थिएन । तैपनि एकैछिनमा मैले उहाँको फोटो देखेँ । अनि खुसीले सबै रोयौँ । खुसीले घरमा रुवाबासी नै भयो,’ उनले भनिन्, ‘१० दिनदेखि उहाँबारे केही थाहा पाएनौँ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने केही मेसो भएन । अनुहार त देख्ने कुरै भएन । आज उद्धार भएको खबरले परिवारमा खुसी ल्याइदियो । उहाँलाई आफ्नै आँखाले देख्न पायौँ । घरमा सबैको खुसीको आँसु आयो ।’
भाइ अमितका अनुसार ४५ वर्षीय महर्जनले नेपाल विद्युत् प्राधिकरणमा जागिर खाएको १८ वर्ष भइसकेको छ । उनी अहिले प्राधिकरणमा मेकानिकल सुपरभाइजर छन् । ‘रिसेन्ट्ली उहाँको सरुवा कुलखानीमा भएको थियो । फेरि मर्मतको कामका लागि एक दिनअगाडि मात्रै रसुवा जानुभएको हो,’ अमितले भने ।
भाइ अमितका अनुसार कबिर भोटेकोशी बाढी आउनुभन्दा दुई दिनअघि मात्रै साइटमा पुगेका थिए । ‘सोमबार राति (८ गते) म अफिसबाट फर्किएपछि घर आउने वेला दाइसँग भेटेर कुराकानी भएको थियो,’ उनले भने, ‘मंगलबार बिहानै जानुभयो । सँगै चिया खाएर उहाँ निस्किनुभएको थियो ।’
त्यसपछि भने अमित र कबिरबिच कुराकानी हुन सकेन । तर, बाढी आएको दिन बिहान भने कविरले परिवारसँग कुराकानी गरेका थिए ।
१० गतेदेखि दाइ बेपत्ता भए पनि अमितलाई कबिर फर्किनेमा विश्वास थियो । ‘कहिले समाचार सुन्दा ढुक्क लाग्थ्यो, कहिले नराम्रो लाग्थ्यो । तर, मनभित्र मलाई कहिल्यै नकारात्मक सोच आएन,’ उनले भने, ‘सुरुदेखि नै मलाई उहाँ आउनुहुन्छ, हामीले देख्न पाउँछौँ, भेट्न पाउँछौँ भन्ने लागिरहेको थियो ।’
घरमा सबै पीडामा भए पनि अमितको आशा जीवितै थियो । ‘उहाँ त्यहाँ जानुभएको पनि सुरुङको मर्मतका लागि हो । त्यहीँभित्रै हुनुपर्छ भन्नेमा हामी निश्चित भयौँ,’ उनले भने ।
पछि प्राधिकरणसँग बुझ्न जाँदा पनि कबिरको अन्तिम मोबाइल ट्रेसमा त्यहीआसपास देखिएको जानकारी परिवारले पायो । त्यसपछि उनीहरूलाई सायद त्यहीँभित्र छन् र एक दिन भेटिन्छन् भन्ने आस जाग्यो ।
कबिरको परिवार आशावादी हुनुको पछाडि अर्को कारण पनि थियो । अमितका अनुसार सुरुङको अवस्थाबारे उनीहरू केही हदसम्म जानकार थिए । ‘हामीले दुई–तीनपटक भ्रमण गरिसकेका थियौँ । त्यहाँको वस्तुस्थिति कस्तो छ भन्ने अन्दाज थियो । दाइसँगै हिँडडुल गरेका कारण यस्तो विपत्ति आइपर्दा कहाँ बस्ने ठाउँ हो, कहाँ जान मिल्छ र कहाँ सुरक्षित हुन सकिन्छ भन्ने जानकारी हामीलाई पहिल्यै थियो,’ अमितले भने, ‘त्यसैले पनि कुनै न कुनै हिसाबले उहाँ सुरक्षित ठाउँमा हुनुहुन्छ भन्ने भित्रैदेखि विश्वास थियो ।’
सैनिक अस्पतालमा कबिरलाई भेटेपछि उनकी पत्नी हिराशोभाले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् । ‘अलिअलि बोल्न सक्नुहुन्छ । सुरुमा त उहाँले मलाई नै चिन्नुभएन । अहिलेचाहिँ ठिक हुनुहुन्छ । पानी खान्छु भन्नुभयो, मैले पानी खुवाएँ । पछि चिन्नुभयो छ । उहाँको खुट्टामा चोट छ । अक्सिजन पुगेन कि अनुहार पहेँलो छ । चिसोले हातखुट्टा चलाउन पनि सक्नुभएन । अरू स्वास्थ्य ठिकै छ, आराम गर्नुपर्छ रे,’ उनले भनिन् । कबिरपत्नी हिराशोभाले उद्धारमा खटिएको नेपाली सेना, नेपाल सरकार र सम्पूर्ण उद्धार टोलीप्रति भावुक हुँदै आभार व्यक्त गरिन् ।
उद्धारमा सुरुवातमा केही अलमल र तयारी नपुगेजस्तो अवस्था देखिए पनि अन्ततः दाइलाई जीवितै बाहिर निकाल्न सफल भएकोमा कबिरका भाइ अमित खुसी छन् । कबिरका भाइ अमितले पनि उद्धारमा खटिएका सबैप्रति कृतज्ञता व्यक्त गरे ।
उनले नेपाल सरकार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत् प्राधिकरणको टोली, विज्ञहरू र त्यहाँ खटिनुभएका सबैप्रति विशेष आभार व्यक्त गरे । ‘उहाँहरूको लगाव र २४सै घण्टाको मिहिनेतकै कारण आज हाम्रो दाइ जीवितै फर्किनुभएको छ,’ उनले भने । र, थपे, ‘जसले उद्धार गर्नुभयो उहाँहरू हाम्रा लागि भगवान्सरह नै हुनुभयो ।’
उद्धारपछि सञ्जयले भने– सबैलाई बाहिर पठाउँदा– पठाउँदै मेरो समय गयो
त्रिशूली– ३‘ए’ प्राधिकरणकै जलविद्युत् आयोजना हो, जहाँ भूमिगत सुरुङ र विद्युतगृह निर्माण गरिएको छ । आयोजना नियमित सञ्चालनमै थियो । १० भदौमा यहाँ वार्षिक मर्मतसम्भारको काम भइरहेको थियो । सामान्य अवस्थामा आयोजनामा ५–६ जना कर्मचारी मात्रै खटिन्थे । तर, मर्मतसम्भारका लागि त्यस दिन ४० जनाभन्दा बढी मजदुर, प्राविधिक र कर्मचारी आयोजनामा परिचालन भएका थिए । बाढी आएपछि आयोजनापरिसरमा रहेका ४२ मध्ये ३५ जना सुरुङभित्रै फसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो ।
जीवितै उद्धार भएका सञ्जय साहले आफू अन्तिमसम्म सहकर्मीलाई बचाउने प्रयासमै रहेको बताए । बाढी आएपछि अरूलाई भाग्न लगाएको र आफूलाई भाग्ने समय नपुग्दा सुरुङभित्रै फसेको पनि उनको भनाइ छ । उद्धारपछि साहले सुरुङभित्र अरू पनि बाँकी रहेको हुन सक्ने बताए । ‘अरू वेला चार–पाँचजना मात्रै हुन्थ्यौँ । त्यस दिन मर्मतका लागि ४०–५० जना नै थियौँ,’ शाहले उद्धारपछि भने, ‘कन्ट्रोल रुममा म भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो ।’
बाढीको भेल आयोजनातर्फ बढ्दै गएपछि उनले आफू एक्लै भागेर ज्यान जोगाउने विकल्प रोजेनन् । बरु, एकपछि अर्को गर्दै सहकर्मीलाई सुरक्षित स्थानतर्फ पठाउन थाले । ‘बाढी आएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउनुपर्यो । सबैलाई बाहिर पठाउने क्रममा मेरो समय गयो,’ उनले भने ।
सुरुङभित्र फसेपछि केही सहकर्मी नजिकै भएको उनले बताए । अँध्यारो र अप्ठ्यारो परिस्थितिमा तीन–चारजना एकअर्कासँग कुरा गर्दै बसेका थिए । बाहिरबाट आउने उद्धार टोलीको आवाज सुन्ने आशामा उनीहरू पर्खिरहेका थिए । ‘साथीहरू कुरा गर्दै थिए । पावरहाउसतिर पनि मानिसहरू हुन सक्छन् भनेर आवाज दिइरहेका थियौँ,’ साहले भने ।
यसरी गरिएको थियो उद्धार
नेपाली सेना, विदेशी प्राविधिक तथा विद्युत् प्राधिकरणका प्राविधिकसहितको उद्धार टोलीको निरन्तरको कठोर मिहिनेतपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुईजनालाई जीवितै बाहिर निकाल्न सम्भव भएको हो । १३ भदौदेखि खोज तथा उद्धारको काम थालिएको थियो । त्यसयता २४ घण्टाजसो उद्धार कार्य जारी थियो ।
आयोजनाको बाँधबाहेक अधिकांश संरचना भूमिगत छन् । बाढीले नदीको सतह र किनारमा ठुलो मात्रामा ढुंगा, माटो तथा लेदो थुपारेपछि आयोजनाको संरचना कहाँ छ भन्ने पहिचान गर्नसमेत कठिन भएको थियो । बिहीबार मात्रै सुरुङको मुख खुलाएर उत्खनन सुरु गरिएको थियो । प्रवेशद्वारसम्मै ठुला ढुंगा थुप्रिएका थिए । विस्फोटक पदार्थ प्रयोग गरेर ती ढुंगा फुटाउँदै बाटो बनाइएको थियो ।
सुरुङभित्र पनि लेदो, ढुंगा र माटो थुप्रिएको थियो । मेसिनको प्रयोग गरेर ती अवरोध बाहिर निकाल्दै उद्धार टोली बिस्तारै अगाडि बढेको थियो । यिनै निरन्तर प्रयासपछि शुक्रबार उद्धार टोली सुरुङमा करिब ३० मिटरसम्म प्रवेश गर्न सफल भयो । र, त्यहीँबाट आयो लामो प्रतीक्षापछिको खुसीको खबर । सुरुङभित्रबाट दुईजनालाई जीवितै र एकजनाको शव बाहिर निकाल्न सकियो । यस परियोजनामा दुईजनाको जीवित उद्धार भएपछि अन्य सुरुङबाट पनि जीवित उद्धार हुने आशा पलाएको छ ।
अन्य आयोजनको अवस्था के छ ?
माथिल्लो त्रिशूली– १ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले शुक्रबार माथिल्लो त्रिशूली– १ बाट ६ जनाको शव संकलन गरेको जानकारी दिएको छ । तर, फेला परेका शवको पहिचान हुन सकेको छैन । इप्पानले शव सेनाले जिम्मा लिएको बताए पनि सेनाले यसबारे औपचारिक जानकारी दिएको छैन । इप्पानका अनुसार परियोजनाका ५५१ जनाको अवस्था अज्ञात छ, उनीहरूमध्ये तीन सयभन्दा बढी सुरुङभित्र फसेको अनुमान छ । सेनाका अनुसार परियोजनाको सुरुङभित्रको पानी फाल्ने काम भइरहेको छ ।
माथिल्लो त्रिशूली– ३ बी : साना मेसिनरी उपकरणबाट उत्खनन गर्दा विद्युत्गृह रहेको स्थानमाथि खोला बगेको पाइएको छ । तर, त्रिशूली नदीको सतहदेखि दुई मिटर तलसम्म उत्खनन गर्दासमेत विद्युत्गृहको संरचनाको भेटिएको छैन । अब १२ मिटरसम्म खन्ने तयारी गरिएको छ । आयोजनाको सर्जट्यांकदेखि पेनस्टकसम्म खोजी कार्य गर्दा केही भेटिएको छैन । आयोजनाको अडिट सुरुङबाट थप मेसिनरी उपकरण लैजान सकिन्छ कि भन्ने सम्बन्धमा प्रयास गरिएको छ । निरन्तरको वर्षा तथा नदीमा पानीको सतह बढिरहेकाले ठुलो मेसिनरी उपकरण आयोजना स्थलमा पुर्याउन कठिनाइ भइरहेको बताइएको छ ।
रसुवागढी : नदीमा निरन्तर बढिरहेको पानीको सतह तथा खराब मौसमपछि शुक्रवार ११ मेगावाटको रसुवागढीमा उद्धारको प्रयासमा काम हुन सकेन । शेर्पाहरूको समूह लगेर सम्पर्कविहीन भएकाहरूको खोजी प्रयास गरिएको थियो । आवश्यक उपकरण त्रिशूलीबाट धुन्चेसम्म लगिए पनि आयोजना स्थलसम्म पुर्याउन सकिएको छैन ।
लाङटाङ : उद्धार टोलीले २० मेगावाटको लाङटाङ जलविद्युत्बाट शुक्रबार थप दुईजनाको शव निकालेको छ । बिहीबार पनि त्यस परियोजनाबाट दुई शव निकालिएको थियो । परियोजनाको सुरुङबाट हालसम्म चारजनाको शव भेटिएको छ । सेनाले थप खोज तथा उद्धार जारी रहेको बताएको छ । यस परियोजनामा अझै ३७ जनाको अवस्था अज्ञात छ ।
चिलिमे : आठजना बेपत्ता भएको चिलिमे जलविद्युत्को सुरुङमा जमेको पानी फाल्ने काम भएको छ । सेना सय मिटरसम्म भित्र पुगे पनि केही फेला पार्न सकेन । मंगलबार यस आयोजनाको सुरुङ पूर्ण रूपमा भरिएको अवस्थामा भेटिएको थियो । त्यसपछि सेनाले साउन्ड डिटेक्टरबाट मोनिटरिङ सुरु गरेको थियो । यसमा शुक्रबारदेखि सुरुङबाट लेदोसमेत फाल्न सुरु गरिएको छ ।
मैलुङको विद्युत्गृह : बाढीले क्षति पुर्याउँदा पाँच मेगावाटको मैलुङको विद्युत्गृहबाट हराइरहेका सातजनाको अवस्था नौ दिन बितिसक्दा पनि अज्ञात छ । विद्युत्गृह बाढीमा बगेको छ ।
रसुवा भोटेकोशी : १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का चार, २४ मेगावाटको त्रिशूली जलविद्युत्का तीन, १४.१ मेगावाटको देवीघाट जलविद्युत्का एक र १५.६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । यस्तै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् ।