साढे तीन वर्षमा पनि बनेन चक्रपथको ५२५ मिटर, दोस्रोपटक म्याद थपको तयारी

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण

चक्रपथको बल्खुबाट कलंकीतर्फ जाँदै गर्दा सीता पेट्रोलपम्पनजिकै सर्भिस लेनमा ट्रकसहितका सवारीसाधन लहरै पार्किङ गरिएका देखिन्छन् । मुख्य सडकमा गाडी गुडे पनि सर्भिस लेनको ५२५ मिटर भने निर्माण थालेको साढे तीन वर्षसम्म अधुरै छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका साइट इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार १५ फागुन ०८१ मा निर्माण सम्झौता भएकामा हालसम्म भौतिक प्रगति ४५% मात्र छ । गुराँस–साइटेक जेभीलाई यसअघि १५ असार ०८३ सम्मका लागि म्याद थप भएको थियो । फेरि एक महिनाका लागि म्याद थपको तयारी छ ।

‘प्लम वाल, सेयरवाल, फुटपाथ, मेनहोल र ह्युमपाइप निर्माणको काम सकिसकेको छ,’ श्रेष्ठले भने, ‘अब सडक ढलान र कालोपत्रको काम मात्र बाँकी छ । संशोधित सार्वजनिक खरिद ऐनअनुसार ठेक्काको म्याद थपको प्रक्रिया अगाडि बढेको छ ।’ विद्युत्का पोल हटाउन, वर्षा र मध्यपूर्वको युद्धले महँगी बढ्दा ढिलाइ भएको उनले बताए ।

पाँच करोड ६ लाख लागत सम्झौता भएकामा भेरियसन भएर पाँच करोड ३० लाख पुगेको छ । योमध्ये ४२.४% रकम भुक्तानी भइसकेको छ । चीनले चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म १०.४ किलोमिटर अनुदानमा निर्माण गरेर ०७५ मा हस्तान्तरण गरेको थियो । 

सुझावित समाचार