कांग्रेसको १५औँ महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात् सात हजार सात सय प्रतिनिधि सहभागी हुँदै छन् । संविधान र पार्टी विधानअनुसार ३३ प्रतिशत न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ । यसबाहेक खुलासहित अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको अझै बढ्न सक्ने कांग्रेसले जनाएको छ । महाधिवेशन काठमाडौंको खुलामञ्चमा आइतबारदेखि सुरु हुँदै छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन् । सभापतिले ७५ जना प्रतिनिधि मनोनीत गर्न सक्ने वैधानिक व्यवस्था छ । ‘मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनीत गर्नुहुनेछ । ७५ जना मनोनीत गर्ने वैधानिक व्यवस्था छ,’ चालिसेले भने । कांग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौं आउने क्रम सुरु भएको छ ।
१८ असोजमा उद्घाटनपछि १९ र २० मा पार्टीको विधान र राजनीतिक प्रतिवेदनकेन्द्रित छलफल सत्र चलाएर २१ र २२ असोजमा निर्वाचन प्रक्रिया आरम्भ गर्ने गरी कांग्रेसले महाधिवेशन कार्यतालिका बनाएको छ । बन्दसत्रमा छलफल अलग–अलग टिम बनाएर तीन ठाउँमा गर्ने तयारी छ । ६ हजारसम्म खुलामञ्चमा र बाँकी राष्ट्रिय सभागृहमा छलफलको व्यवस्था गरिँदै छ । मतदान पनि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा गर्ने तयारी छ । आचार्यका अनुसार मतगणना भने राष्ट्रिय सभामा गर्ने कि पार्टी कार्यालयमै भन्ने टुंगो लाग्न बाँकी छ ।
महाधिवेशनका लागि कांग्रेसले व्यवस्थापकीय काम तीव्र पारेको छ । उद्घाटनस्थल खुलामञ्चमा मञ्च निर्माणको काम भइरहेको छ । खुलामञ्चमै उद्घाटन र बन्दसत्रका साथै केन्द्रीय पदाधिकारी र सदस्यहरूका लागि मनोनयन दर्ता र मतदानसमेतको व्यवस्था मिलाइँदै छ ।
ऐतिहासिक स्थल भएकाले खुलामञ्चको प्रतीकात्मक महत्वलाई ध्यानमा राख्दै १५औँ महाधिवेशन त्यहीँ गर्ने निर्णयमा पुगेको प्रवक्ता चालिसले बताए । ‘खुलामञ्च ०३६ को जनमतसंग्रहका वेला बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जनताको स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा ऐतिहासिक सम्बोधन गर्नुभएको स्थल हो । पञ्चायती व्यवस्थाविरुद्ध र बहुदलीय प्रजातन्त्रको पक्षमा जनमत सिर्जना गर्न ती सम्बोधनले महत्वपूर्ण भूमिका खेलेका थिए,’ उनले भने, ‘त्यसको प्रतीकात्मक महत्वलाई ध्यानमा राखेर खुलामञ्चमै महाधिवेशन गर्दै छौँ ।’
प्रवक्ता चालिसेका अनुसार १५औँ महाधिवेशन केवल नेतृत्व चयनका लागि नभई पार्टीमा आवश्यक परिवर्तन र सुधारलाई संस्थागत गर्ने अवसरका रूपमा अघि बढाइनेछ । ‘परिवर्तनको एजेन्डा बोकेर विशेष महाधिवेशन भएको थियो । अब त्यस एजेन्डालाई संस्थागत गर्नेछौँ,’ उनले भने ।
उनका अनुसार आवास, भोजन तथा अतिथि सत्कारलगायत व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेका छन् । महाधिवेशनका लागि प्रचारप्रसार संयन्त्रसमेत मितव्ययी बनाइएको प्रवक्ता चालिसेले बताए ।
मञ्च व्यवस्थापनमा खटिएका नेता सुरेश आचार्यका अनुसार मञ्च निर्माणको काम द्रुत गतिमा भइरहेको छ । संविधानसभामा भएका सबै राजनीतिक दल र अहिले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई अतिथिलाई रूपमा आमन्त्रण गरिएको छ । विदेशबाट समेत केही दलबाट अतिथि आउनेछन् । मिडिया सेन्टर र स्वास्थ्यको क्याम्प पनि टुँडिखेलमै रहनेछ । स्वयंसेवकका रूपमा भूतपूर्व सैनिक संघ, भूतपूर्व प्रहरी संघका साथै तरुण दल र नेविसंघका नेता तथा कार्यकर्ता खटिनेछन् ।
केन्द्रीय समितिको आकार बढ्दै
१४औँ र विशेष महाधिवेशनमा १६८ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको भए पनि कांग्रेसले १५औँ महाधिवेशनबाट आकार बढाउने तयारी गरेको छ । विधान मस्यौदा समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको बन्दसत्रमा पदाधिकारीसहितको केन्द्रीय कार्यसमितिसम्बन्धी नयाँ व्यवस्थासहितको विधान पेस गर्नेछन् । विधान पास भएपछि केन्द्रीय कार्यसमितिको आकार बढाउने विकल्प खुला हुनेछ ।
विधानमा कम्तीमा १७ सदस्यीय पदाधिकारीसहित २४० सदस्यीय कार्यसमिति रहने व्यवस्था आउनेछ । प्रवक्ता चालिसेले त्यसमा पनि बढ्न सक्ने सम्भावना रहेको सुनाए । ‘अहिले सभापतिलाई सहमहामन्त्री मात्र मनोनीत गर्ने अधिकार दिइएकोमा अन्य पदाधिकारी पनि दिने कि भन्ने आन्तरिक छलफल पनि चलिरहेकै छ । त्यसैले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने गरी हलले निरूपण गर्न पनि सक्छ,’ चालिसले भने । १४औँ महाधिवेशनमा १३ जना पदाधिकारी थिए ।
१७ सदस्यीय प्रस्तावित पदाधिकारी संरचनाअनुसार १३ जना निर्वाचित र अन्य मनोनीत रहनेछन् । प्रस्तावअनुसार सभापति एकजना (निर्वाचित), उपसभापति दुईजना (निर्वाचित), महामन्त्री दुईजना (निर्वाचित) र सहमहामन्त्री ११ जना (आठ क्लस्टरबाट आठजना र सभापतिले केन्द्रीय सदस्यबाट मनोनयन गर्ने तीनजनामा एक महिला अनिवार्य) रहनेछन् । यस्तै, एक कोषाध्यक्ष (केन्द्रीय सदस्यमध्येबाट मनोनयन हुने वा अन्य व्यवस्थाअनुसार) रहनेछन् ।
विधानमा देउवाको भूमिका सुनिश्चत गर्ने तयारी
विधान मस्यौदा समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावमाथि छलफल गरी पास गर्ने तयारी छ । अहिलेसम्म पूर्वसभापतिहरूको मर्यादाक्रम र भूमिका के रहने विषय विधानमा नरहे पनि अबको विधानमा भने निवर्तमान सभापति शेरबहादुर देउवाको स्थान र जिम्मेवारी पनि निरूपण गर्ने गरी विधान बनाउने तयारी भइरहेको प्रवक्ता चालिसेले बताए । पार्टी एकताको स्पिरिट ख्याल गरेरै देउवाको स्थान सुनिश्चित गर्ने तयारीमा कांग्रेस लागेको हो । यद्यपि, अहिले कांग्रेसको देउवा समूह पनि समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ ।
लामिछाने, ओली, प्रचण्ड अतिथि वक्ता
कांग्रेसको १५औँ महाधिवेशनमा रास्वपाका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टी महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेलले पनि उद्घाटनका क्रममा शुभकामना सम्बोधन गर्नेछन् । त्यस्तै, विदेशबाट सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको उनले बताए । अन्तर्राष्ट्रिय अतिथि आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।
यस्तो छ महाधिवेशनको व्यवस्थापन तयारी

- बन्दसत्र खुलामञ्चमा र राष्ट्रिय सभागृहमा हुने व्यवस्था गरिँदै छ । मतदान पनि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा गर्ने तयारी छ । मतगणना भने राष्ट्रिय सभामा गर्ने कि पार्टी कार्यालयमै भन्ने टुंगो लाग्न बाँकी छ ।
प्रतिनिधिलाई भृकुटीमण्डपमा चार दिन खानाको व्यवस्था
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि कांग्रेसले भृकुटीमण्डपमा चार दिन खाना तथा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि क्याटरिङ अर्डरसमेत गरिसकिएको भोजन व्यवस्थापन समितिले जनाएको छ ।
भोजन व्यवस्थापन समितिका सदस्य मनोजमणि आचार्यका अनुसार प्रतिनिधिका लागि बिहानको खाजा, खाना, दिउँसोको चियानास्ता र बेलुकीको खानाको व्यवस्था गरिनेछ । एक दिनमा एक छाक मासुको परिकारसमेत राखिएको छ । ‘७५ सय प्रतिनिधि, सचिवालय, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई ध्यानमा राखेर करिब आठ हजारजनाका लागि खानाखाजाको व्यवस्था गरिएको छ,’ नेता सुरेश आचार्यले भने, ‘सबैका लागि भृकुटीमण्डपमै खानाखाजा खुवाउने प्रबन्ध गरेका छौँ ।’
पार्टीले होटेल खोज्ने, प्रतिनिधिले खर्च व्यहोर्ने
महाधिवेशन प्रतिनिधिका लागि कांग्रेसले आवासको व्यवस्थापन गर्ने भएको छ । तर, होटेलमा बस्ने तथा खाने खर्च भने सम्बन्धित प्रतिनिधिले नै व्यहोर्नुपर्नेछ । काठमाडौंमा घर भएका, आफन्तकोमा बस्न सक्ने तथा डेरा गरी बस्ने प्रतिनिधिले आफैँ आवासको व्यवस्था गर्न सक्नेछन् । अन्य प्रतिनिधिका लागि पार्टीले होटेलको व्यवस्थापन गर्नेछ ।
भोजन व्यवस्थापन समितिका सदस्य मनोजमणि आचार्यका अनुसार नेपाल लोकतान्त्रिक होटेल व्यवसायी संघसँगको समन्वयमा सुन्धारा, नयाँ बसपार्क, एयरपोर्ट, गौशाला, कलंकीलगायत क्षेत्रमा प्रतिनिधिका लागि होटेल व्यवस्थापन भइरहेको छ । ‘पार्टीले होटेलको व्यवस्था मिलाइदिन्छ, तर महाधिवेशन प्रतिनिधिले बस्ने तथा खाने खर्च आफैँ व्यहोर्नुपर्नेछ,’ आचार्यले भने ।
डाक्टर, नर्स र स्वास्थ्यकर्मीको एम्बुलेन्स स्ट्यान्डबाई
कांग्रेसले महाधिवेशन अवधिभर प्रतिनिधिको स्वास्थ्य सुरक्षाका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई स्ट्यान्डबाई राख्ने भएको छ । स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार २५ देखि ३० जना चिकित्सक र त्यति नै संख्यामा नर्स तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनेछन् । ‘आठ घण्टाको सिफ्टमा दुई सिफ्ट र आकस्मिक ड्युटीसहित तीन सिफ्टमा स्वास्थ्य सेवा दिने व्यवस्था गरेका छौँ,’ केसीले भने, ‘कुनै प्रतिनिधिलाई असहज भएमा फोन गरेको केही समयमै सम्बन्धित स्थानमा पुग्ने गरी व्यवस्था मिलाइएको छ ।’
स्वास्थ्य समितिले प्राथमिक उपचारदेखि आवश्यक परे थप उपचार र अस्पताल रेफरसम्मको व्यवस्था मिलाएको छ । वीर अस्पताल, ट्रमा सेन्टर र बिपी स्मृति अस्पताललाई रेफरल अस्पतालका रूपमा राखिएको छ । महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा रहने स्वास्थ्य समितिले जनाएको छ ।