कांग्रेस महाधिवेशन आजदेखि

‘ऊर्जाशील कांग्रेस : नयाँ संकल्प’ मूल नारासहित इतिहासकै धेरै प्रतिनिधि सहभागी हुन लागेको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण
  • आकांक्षी बढेपछि पदाधिकारी संख्या बढाउने तयारी
  • उपसभापति एक महिलासहित तीनजना (हाल दुई), महामन्त्री तीन (हाल दुई) र सहमहामन्त्रीको संख्या १५ (हाल आठ) पुर्याउने गरी छलफल अघि बढेको छ
  • प्रतिनिधिको नाम दर्ता गर्न ३५ सय रुपैयाँ
  • महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार कोठा बुकिङ

प्रमुख प्रतिपक्षी दल कांग्रेसको १५औँ महाधिवेशनको आज (आइतबार) खुलामञ्चमा उद्घाटन हुँदै छ । गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिले खुलामञ्चमा १५औँ महाधिवेशन गर्न लागेको हो । तर, १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन ।

‘ऊर्जाशील कांग्रेस : नयाँ संकल्प’ मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले बताए । उद्घाटन सत्रमा करिब ५० हजार सहभागी हुने र बन्दसत्रमा करिब सात हजार सात सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ ।

सोमबारदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयक मुख्य राजनीतिक प्रस्ताव सभापति गगन थापाले प्रस्तुत गर्नेछन् । उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा प्रस्ताव प्रस्तुत गर्नेछन् । उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव, संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले र विधान संशोधन प्रस्ताव अर्का महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्नेछन् । कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिवेदनमाथि भौगोलिक आधारमा समूह बनाएर तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डमार्फत सहभागीले प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा नयाँ संकल्पका विषयमा गहन छलफल हुनेछ र त्यसको कार्यान्वयनको खाका तयार गरिनेछ । महाधिवेशनले लिएका संकल्प कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन हुने उनले बताए । ‘यो महाधिवेशनको सम्पूर्ण प्रयास कांग्रेसमा विधि र पद्धति निर्माणमा केन्द्रित हुनेछ । यो महाधिवेशन नेतृत्व चयनमा सीमित रहनेछैन । लोकतन्त्रलाई नयाँ पुस्तासँग जोड्ने, सुशासनलाई राज्यको संस्कार बनाउने र युवालाई भविष्य देखाउने राष्ट्रिय संकल्प बोकेको महाधिवेशन हुनेछ,’ चालिसेले भने, ‘नेपाली राजनीतिमा नेपाली कांग्रेसले धेरै इतिहास रच्यो र अब हामी नयाँ इतिहास निर्माण गर्न चाहन्छौँ । नेपाली कांग्रेसले अब बिपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्नेछ । यसका लागि देशको समृद्धिको वैचारिक आधार बिपी विचारलाई बनाइनेछ ।’

ऐतिहासिक रूपमा महाधिवेशन सम्पन्न हुन लागेको चालिसेको दाबी छ । ‘यो यसकारण ऐतिहासिक महाधिवेशन हो, जुन त्यही टुँडिखेलमा सम्पन्न हुँदै छ, जहाँ निर्वासनबाट स्वदेश आगमनपछि बिपी कोइरालाले पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको थियो । यो त्यही टुँडिखेल हो, जहाँ गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको ०४६ को जनआन्दोलन सफलताको उद्घोष गर्नुभएको थियो,’ उनले भने ।

उनले महाधिवेशनमार्फत नयाँ पुस्ताका ५० हजारभन्दा बढी युवा जिम्मेवारीमा आएको र उनीहरूसहित छानिएका साढे सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताए । ‘३५ वर्षमुनिका युवासहित लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीले समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन्,’ चालिसेले भने ।

धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङस्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान र दरबारमार्गस्थित अन्नपूर्ण होटेलको पार्किङस्थलमा सहभागीको सवारी पार्किङको व्यवस्था मिलाइएको छ । यस्तै, काठमाडौं उपत्यकाबाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठुला गाडीका लागि माइतीघर मण्डला र भद्रकालीबिचको सडकको एक भागमा पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको कांग्रेसले जनाएको छ । धरहरा अन्डरग्राउन्ड पार्किङ र अन्नपूर्ण होटेलको पार्किङस्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क छ ।

आकांक्षी बढेपछि पदाधिकारी संख्या बढाउने तयारी

null

कांग्रेसले बन्दसत्रबाट पदाधिकारी संख्या थप्ने तयारी गरेको छ । विधान मस्यौदा समितिका तर्फबाट पदाधिकारी थपसम्बन्धी प्रस्ताव बन्दसत्रमा प्रस्तुत हुनेछ । एक पदाधिकारीका अनुसार उपसभापति एक महिलासहित तीन, महामन्त्री तीन र सहमहामन्त्रीको संख्या १५ जना पुर्याउने गरी छलफल अघि बढेको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले संख्या बढाउने प्रस्ताव प्रस्तुत गर्नेछ । उद्घाटनअघि समितिको बैठक बसेर निष्कर्षमा पुग्ने समितिका सदस्यसचिव प्रताप पौडेलले जानकारी दिए । पौडेलले कार्यसमिति चुस्त बनाउने, पदाधिकारी समावेशी बनाउनेलगायत विभिन्न सुझाव तल्लो तहबाट प्राप्त भएको, तर समितिले टुंगो लगाउन बाँकी रहेको बताए । ‘उद्घाटन सत्रअघि समितिमा छलफल गर्छौँ र निष्कर्षमा पुग्छौँ । केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेपछि बन्दसत्रमा प्रस्ताव प्रस्तुत हुन्छ,’ उनले भने ।

विशेष महाधिवेशनबाट संशोधन गरिएको हालको विधानमा पदाधिकारी संख्या १७ छ । जसमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् । एक कोषाध्यक्ष र तीन सहमहामन्त्री भने सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने वैधानिक व्यवस्था छ । प्रवक्ता देवराज चालिसेले पदाधिकारी संख्या निर्क्योल गर्ने विषय महाधिवेशन हलको भएको बताए । विधानमा २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । तर, विधान संशोधनको क्रममा रहेकाले केही तलमाथि हुन सक्ने प्रवक्ता चालिसेले बताए । कांग्रेसको १४औँ महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित १३ पदाधिकारी निर्वाचित भएका थिए । वैधानिक व्यवस्थाअनुसार कोषाध्यक्ष भने सभापतिले मनोनीत गरेका थिए ।

प्रतिनिधिको नाम दर्ता गर्न ३५ सय रुपैयाँ
पार्टी कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको नाम दर्ता सुरु भएको छ । महाधिवेशन प्रतिनिधिले ३५ सय तिरेर नाम दर्ता{ गराउनुपर्नेछ । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । दर्तामा एनसी आइडी नम्बर, नाम, जिल्ला, निर्वाचन क्षेत्र, फोन नम्बर र रकम उल्लेख हुनेछ । दर्तापछि प्रतिनिधिले एउटा झोला पाउनेछन् । झोलामा विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको कुपनका साथै प्रतिनिधि कार्ड राखिएको छ । 

मनोनयन राष्ट्रिय सभागृहमा
केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सोमबार हुनेछ । केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकिएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । हालसम्म सभापतिमा वर्तमान सभापति गगन थापा र पूर्वसहमहामन्त्री किशोरसिंह राठोरको उम्मेदवारी पर्ने देखिएको छ ।

उपसभापति र महामन्त्रीमा दर्जनौँ नेताले आकांक्षा राखेका छन् । उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । उपसभापतिमा हालका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल स्वाभाविक दाबेदार छन् । महालक्ष्मी उपाध्याय ‘डिना’, मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले उपसभापतिका लागि छलफल चलाएका छन् ।

महामन्त्रीमा बहालवाला महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेका साथै उदयशमशेर राणा, डिला संग्रौला, जीवन परियार, देवराज चालिसे, महेन्द्र यादव, रामहरि खतिवडा, नैनसिंह महर, मधु आचार्य, आङगेलु शेर्पा, सुनील शर्मा, रञ्जित कर्ण, अमरसिंह पुनलगायत आकांक्षी छन् ।

सहमहामन्त्री र केन्द्रीय सदस्यमा भने उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । सहमहामन्त्रीमा हालका सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, बहादुरसिंह लामा, योगेन्द्र चौधरी, मुक्ताकुमारी यादव, कर्णबहादुर बुढा, प्रकाश स्नेहीले दोहोरिने इच्छा राखेका छन् । सोहीअनुसार उनीहरूले छलफल अघि बढाएको एक नेताले जानकारी दिए । यस्तै, संसदीय दलका उपनेता अभिशेकप्रताव शाहसहित नेताहरू प्रतिमा गौतम, मनोजमणि आचार्य, जीवनबहादुर शाही, लक्ष्मी परियार, अजयबाबु शिवाकोटी, जितनारायण श्रेष्ठ, नारायण भट्टराई, विनिता खड्कालगायतले सहमहामन्त्रीका लागि लबिङ सुरु गरेका छन् ।

अस्वाभाविक रूपमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको कांग्रेस नेताहरू बताउँछन् । ‘सबैलाई केन्द्रमा आउनुपर्नेछ । त्यसमाथि पनि पदाधिकारी नै बन्नुपर्ने महŒवाकांक्षा देखिएको छ,’ एक नेताले भने, ‘सोही कारण उम्मेदवारको संख्या धेरै हुने देखिएको छ ।’ आकांक्षीको संख्या बढ्दै गएपछि निर्वाचन समितिले १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति यसपश्चात् हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने सूचना जारी गरेको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गरेर पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको पनि स्पष्ट पारेका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार कोठा बुकिङ
आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एकजना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको प्रबन्ध मिलाएको छ । काठमाडौंका विभिन्न स्थानमा होटेल बुकिङ गरिएको छ । केन्द्रीय सदस्य रमेश धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधिका लागि सुन्धारा, ठमेल, लाजिम्पाट, नयाँ बसपार्क{, बालाजु, कोटेश्वर र कलंकीमा होटेल बुकिङ गरेको छ । १० हजार मानिस बस्न मिल्ने गरी पाँच हजार कोठा बुकिङ गरिएको समितिले जनाएको छ ।

समितिले कोशी र मधेश प्रदेशका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमतीका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका प्रतिनिधिका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलंकीमा बस्ने व्यवस्था मिलाएको छ । जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा बस्ने व्यवस्था मिलाइएको छ । समितिका अनुसार प्रतिनिधिलाई सहुलियत दरमा बसोबासको व्यवस्था मिलाइएको छ भने होटेल खर्च भने सम्बन्धित प्रतिनिधिले नै व्यहोर्नुपर्नेछ ।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा बाहिरै
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा महाधिवेशनमा सहभागी नहुने भएका छन् । देउवा पक्षले आगामी २१–२३ मंसिरमा छुट्टै १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको छ । जसअन्तर्गत गत १५ असोजमा समानान्तर वडा अधिवेशन सुरु गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले भने पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि अनुरोध गरिएको बताए । ‘कांग्रेसको परम्परा सभापतिले महाधिवेशन उद्घाटन गर्ने भए पनि यसपटक निवर्तमान सभापतिलाई आग्रह गरेका छौँ,’ उनले भने । सभापति थापाको निमन्त्रणापत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरी देउवानिवास पुगेका थिए । देउवाले भेट नदिएपछि पत्र छाडेर फर्किएको चौधरीले बताए । ‘सुदूरपश्चिम उपसभापति जनकराज चौधरी, लम्कीका मेयर सुशीला शाही र डा. नहकुल केसीसहित निमन्त्रणपत्र लिएर गएका थियौँ, निवासै भए पनि उहाँले भेट दिनुभएन, स्वकीय सचिव पनि निस्किसक्नुभएको रहेछ, पत्र निवासमै छाडेर फर्कियौँ,’ सहमहामन्त्री चौधरीले भने ।

देउवापक्षीय नेता डा. प्रकाशशरण महतले खुलामञ्चको कार्यक्रममा देउवा सहभागी नहुने बताए । ‘अनावश्यक हल्ला फैलाउने काम भएको छ । उहाँ (देउवा) खुला मञ्चको कार्यक्रममा सहभागी हुनुहुन्न । १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आगामी २१–२३ मंसिरमा महाधिवेशन गर्दै छ,’ महतले भने ।

यसपटक नयाँ के हुँदै छ ? 

null३५ वर्षमुनिका २१ युवाको प्रतिनिधित्व 
महाधिवेशनबाट ३५ वर्षमुनिका कम्तीमा २१ युवा केन्द्रीय सदस्य निर्वाचित हुँदै छन् । जसमा प्रत्येक प्रदेशबाट एक महिलासहित दुईजना र खुलामा सातजना निर्वाचित हुनेछन् । विधानमा नै युवाको प्रतिनिधित्वको स्पष्ट व्यवस्था गरिएको छ । ‘विशेष महाधिवेशनपछि एक लाखभन्दा बढी युवा पार्टीमा जोडिनुभएको छ । त्यसमध्येबाट करिब ४४ हजार युवा विभिन्न तहमा पुग्नुभएको छ । महाधिवेशनपछि ३५ वर्षमुनिका कम्तीमा २१ युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ,’ विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलले भने, ‘५० वर्षमुनिको सभापति हुनुहुन्छ । उहाँ पहिलोपटक केन्द्रीय समितिमा पुग्दा ३५ वर्षमुनिको युवा उहाँ मात्रै हुनुहुन्थ्यो ।’ 

पेसागतबाट कम्तीमा सातजना, श्रमिकको पनि प्रतिनिधित्व
पेसागत क्षेत्रबाट कम्तीमा सातजना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । डाक्टर, इन्जिनियर, वकिल, पत्रकारलगायत पेसागत क्षेत्रबाट मात्रै सो क्लस्टरमा प्रतिस्पर्धा हुनेछ । जसमा न्यूनतम दुईजना मजदुरको प्रतिनिधित्व हुने पौडेलले बताए ।

जनसम्पर्क समितिबाट ६ जना 
नेपालबाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन । तर, यसपटक भने जनसम्पर्क समितिबाट कम्तीमा ६ जना निर्वाचित हुँदै छन् । 

अल्पसंख्यक र अपांगता भएकाको प्रतिनिधित्व
अपांगता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यो क्लस्टरमा अपांगता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन् । जसमध्येबाट एकजना निर्वाचित हुनेछन् । यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ । अल्पसंख्यकबाट न्यूनतम एकजना केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन् ।

null

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले देशमा लोकतन्त्र र संविधानमाथि संकट देखिएका वेला कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउँदै लोकतान्त्रिक शक्तिहरूलाई समेत एक ठाउँमा ल्याउन अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको राजनीतिक संस्कार र उदार चरित्रबाट अन्य दलले समेत सिक्नुपर्ने उल्लेख गर्दै उनीहरूले एकतालाई केन्द्रमा राखेर पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने कडीका रूपमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, इतिहासदेखि वर्तमानसम्म पार्टीले खेलेको भूमिकाको समीक्षा गर्दै महाधिवेशनमार्फत कांग्रेसले नीति, नेतृत्व र कार्यशैलीमा परिवर्तनको अनुभूति गराउन सक्नुपर्ने ती नेताहरूको सुझाव छ । पुस्तान्तरणको सवालमा अतिवादी दृष्टिकोणभन्दा परिपक्व सोचका साथ अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।

एमाले उपमहासचिव योगेश भट्टराईले देशमा लोकतन्त्र र संविधानमाथि नै संकट देखापरिरहेको वेला आन्तरिक एकता सुदृढ गर्दै लोकतन्त्रका लागि लडेको दलले अन्य दलसँगको सहकार्यलाई पनि बलियो बनाउन आफूलाई बहुआयामिक रूपमा पुनर्गठित गर्नुपर्ने बताए । ‘लोकतन्त्र, संविधान, खुला समाज, मानव अधिकार र प्रेस स्वतन्त्रतामाथि देखिएको संकट समाधानमा लोकतन्त्र र संविधानका लागि लडेको कांग्रेसजस्तो पार्टीको अग्रणी भूमिका आवश्यक छ । महाधिवेशनबाट कांग्रेसजस्तो पार्टी समयानुकूल विचार, संगठन, नेतृत्व र कार्यशैलीमा पुनर्गठित हुनु अनिवार्य छ,’ भट्टराईले भने, ‘त्यसैले बहुआयामिक पुनर्गठनमा कांग्रेसलाई सफलता मिलोस् र महाधिवेशनले देशलाई निराशा र शिथिल मनस्थितिबाट उत्साह र आशावादीतातर्फ अघि बढाओस्, लोकतान्त्रिक शक्तिहरूबिचको एकतालाई अझ सुदृढ बनाओस् ।’

भट्टराईले एमाले र कांग्रेसजस्ता दल लोकतन्त्र र संविधान जोगाउने देशको मुद्दामा एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए । ‘दुवै दल आन्तरिक रूपमा अझ सबल, सुदृढ र एकताबद्ध हुनु आवश्यक छ । यो महाधिवेशनसँगै कांग्रेसलाई त्यसमा पनि सफलता मिलोस्,’ उनले भने । 

रास्वपाका नेता मनीष झाले परिवर्तन अवलम्बन गरेर पुस्तान्तरणको लडाइँसमेत महाधिवेशनमार्फत जित्न लागेकोमा शुभकामना दिए । ‘नेपाली कांग्रेसले परिवर्तन अवलम्बन गरेर त्यसलाई संस्थागत गर्न एक कदम चाल्दै छ । परिवारवाद र भ्रष्टाचारबाट उन्मुक्त भएको गम्भीर सन्देश दिने प्रयास गरिरहेको छ । पुस्तान्तरणको लडाइँ प्रक्रियाबाट जित्न खोज्दै छ । यो महाधिवेशनले नेपाली राजनीतिक अभ्यास र भविष्यमा गम्भीर सम्बन्ध राख्नेछ । पार्टीको नेतृत्व र प्रतिनिधिहरूलाई शुभकामना,’ झाले नयाँ पत्रिकासँग भने ।

अन्य दलले पनि कांग्रेसको लोकतान्त्रिक लडाइँ र उदार चरित्रबाट सिक्नुपर्ने धारणा उनले राखेका छन् । ‘नेपाली कांग्रेस यो देशमा लोकतान्त्रिक राजनीतिक चरित्र र उदारवादी राजनीतिक अभ्यासको अभिभावक हो । अहिलेको राजनीतिक परिवर्तनमा अप्रत्यक्ष राजनीतिक आधारभूमि र बहुदलीय लोकतान्त्रिक संघीय गणतन्त्रको खाका कोर्ने दल हो,’ झाले भने, ‘नेपाली राजनीतिक यात्रामा आएका नयाँ दलहरूले पनि राजनीतिक संस्कार सिक्ने ठाउँ यही हो । लोकतान्त्रिक लडाइँ, उदारवादी राजनीतिक चरित्र सिक्न सकिन्छ ।’

नेकपा प्रचार विभाग प्रमुख रेखा शर्माले दुवै पक्षले लचकता देखाएर सुदृढ एकतासहित अघि बढ्न सुझाव दिइन् । साथै, उनले पुस्तान्तरण राम्रो कुरा भए पनि अतिवादका रूपमा बुझ्नु गलत भएको बताइन् । ‘लोकतन्त्रमा कुनै पनि दल कमजोर या विभाजित हुनु राम्रो होइन । त्यसैले उहाँहरूले आफूमै भएका समस्या समीक्षा गरेर बलियो कांग्रेस बनाउन सक्नुहोस् भन्ने सुझाव छ । लोकतन्त्रका लागि लड्दै आएको दलले यसलाई थप सुदृढ गर्न त्यस्तै कार्यदिशा र नेतृत्व तय गर्न सक्नुपर्छ । त्यसका लागि एकताबद्ध पार्टी बनाउने दुवै पक्ष लचक पनि बनुन्,’ शर्माले भनिन्, ‘पुस्तान्तरण महत्वपूर्ण मुद्दा भए पनि पुरानो पुस्ता केही पनि होइन भन्ने ठान्ने र नयाँ पुस्ताप्रति विश्वास नगर्ने दुवै अतिवाद गलत छन् । आजको उपलब्धिमा पुरानो पुस्ताको सम्मान गर्दै उहाँहरूलाई समेत समेट्दै नयाँ पुस्तालाई अघि बढाउनुपर्छ । दुवै पुस्ताले एकले अर्कोलाई नकारात्मक ढंगले बुझ्नुभन्दा परिपूरक ढंगको बुझाइका साथ अघि बढ्न जरुरी छ ।’

राष्ट्रिय संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेसले इतिहासको समीक्षा गर्दै आफूलाई पुस्तान्तरणमार्फत अघि बढ्न खोजेको भन्दै महाधिवेशनबाट राम्रो सन्देश जाने टिप्पणी गरे । ‘लोकतान्त्रिक अभ्यास गर्दै आएको देशको पुरानो पार्टीले आफूलाई फर्किएर इतिहासको समीक्षा गर्दा धेरै ठुलो योगदान रहेको पाउँछ । तथापि, समयक्रममा त्यति ठुलो र पुरानो पार्टीलाई जनताले उसलाई हेर्ने नजरमा निराशा देखिएकै हो,’ राईले भने, ‘कांग्रेसले आन्तरिक विवाद र टुटफुटबिच महाधिवेशन गरिरहेको भए पनि त्यसप्रति हाम्रो कुनै टिप्पणी छैन । मिलेर जान सक्नुभयो भने अझ राम्रो हुन्छ । तर, समग्रमा पुस्तान्तरणको सन्देश जाने गरी नयाँ युवाहरूलाई आकर्षित गर्ने गरी अघि बढ्दा राम्रो सन्देश जानेछ ।’ 

सुझावित समाचार