पार्टीमा समानान्तर अभ्यास गरेपछि कांग्रेसको संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा पक्षमाथि अनुशासनको कारबाही अघि बढाएको छ । देउवा पक्षले आगामी मंसिरमा समानान्तर १५औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि अनुशासन समितिले कारबाही प्रक्रिया थालेको हो ।
पूर्वसभापति देउवा, १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालालगायत नेतामाथि कांग्रेस अनुशासन समितिको बिहीबारको बैठकमा कारबाहीको विषयमा छलफल भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबाहेक संस्थापन इतर पक्षका सबै नेतामाथि कारबाहीका लागि प्रक्रिया अघि बढेको एक नेताले दाबी गरे । ती नेताका अनुसार देउवा, कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, दीपक खड्कालगायत इतर पक्षका सबै नेताको गतिविधि र अभिव्यक्ति अनुशासन समितिले संकलन गरेको छ । स्पष्टीकरण, निलम्बनदेखि निष्कासनसम्मको कारबाही हुने ती नेताको दाबी छ ।
केन्द्र, प्रदेश र जिल्ला तहमा भएका देउवा पक्षको भेलामा दिएका अभिव्यक्तिदेखि मिडियामा आएका अन्तर्वार्ता र समाचारसमेत समितिले संकलन गरेको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङले कारबाहीको संकेत गरे, तर विस्तृत बताउन चाहेनन् । सबै विवरण अध्ययनपछि आवश्यक कारबाही हुने उनले बताए । पार्टी नीति र विधानविपरीत काम गर्ने छुट कसैलाई नभएको उनले जिकिर गरे ।
बिहीबारको बैठकमा कारबाही फुकुवा, निलम्बनदेखि निष्कासनसम्मको निर्णय भएको उनले बताए । ‘कारबाही फुकुवा, निलम्बनदेखि निष्कासनसम्मको निर्णय भएको छ । कतिपय सवालमा अभिलेख संकलनको काम भइरहेको छ । भेला हुन पाउने हक सबैलाई छ । तर, विधान र पार्टी नीतिविपरीत जाने छुट कसैलाई पनि छैन,’ गुरुङले भने ।
समानान्तर भेलाको नाममा विधानविपरीत जानेमाथि कारबाहीबारे छलफल भएको र निर्णयमा पुग्न बाँकी रहेको उनले दाबी गरे । ‘विधानविपरीत जाने सबैलाई कारबाहीको दायरामा ल्याउँदै छौँ । पार्टीको अनुशासनमा नबस्नेले अनुशासनको कारबाही भोग्नुपर्छ,’ उनले भने, ‘गाउँले भाषामा भन्दा ‘जो अगुवा, उही ....’ जस्तो देखियो । यस्तो अवस्था आउनु राम्रो होइन । अनुशासनभन्दा बाहिर जाने केन्द्रीय नेताहरू पनि निलम्बनमा पर्नुहुन्छ ।’
कहाँ भेला भयो भन्ने विषयभन्दा पनि पार्टीको नीति र विधिविपरीत कसले गतिविधि गर्यो, क–कसले कहाँ–कहाँ के बोले भन्ने विषय हेरिने उनले स्पष्ट पारे । ‘पार्टीको नीतिविपरीत गएपछि कारबाही नगरी भयो त ?’ उनले प्रश्न गरे, ‘पार्टीमै नबस्ने, निर्वाचनमा रुख चिह्नमा भोट नहाल्ने भएपछि कांग्रेस भयो त ?’
अनुशासन समिति सदस्य धना खतिवडा समानान्तर महाधिवेशन गर्ने अधिकार कसैलाई नभएको दाबी गर्छिन् । ‘अर्को पार्टी खोल्न मिल्छ, तर समानान्तर महाधिवेशन गर्न मिल्दैन । विधानलाई मिचेर कोही पनि जान सक्दैन । हामी सबैलाई स्वागत गर्छौँ । रियल कांग्रेस, बदलिएको कांग्रेसमा बनाउने अभियानमा अनुशासनको दायरामा सबै आउनुपर्छ,’ उनले भनिन् ।
विधानमा के छ व्यवस्था ?
कांग्रेस विधानको परिच्छेद ९ मा अनुशासनसम्बन्धी व्यवस्था छ । जसको धारा ४३ (१) मा अनुशासन उल्लंघन गरेको मानिने व्यवस्था छ । जसमा पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कुनै पनि कार्य गरेमा, पार्टीको विधान, नियमावलीविपरीत कार्य गरेमा, पार्टीको आचारसंहिता उल्लंघन गरेमा, पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएमा वा त्यस्तो उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा वा निर्वाचनको समयमा पार्टीको उम्मेदवारका विरुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध गरेमा वा असहयोग गरेमा, पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि–नोक्सानी पुर्याएमा, कसैको पनि चरित्र हत्या हुने, व्यक्तिगत वा सामाजिक मर्यादा भंग हुने, सम्मानमा चोट पुग्ने वा वितृष्णा फैलिने, साम्प्रदायिक सद्भाव प्रतिकूल हुने कुनै पनि गतिविधि, व्यवहार, आचरण वा अभिव्यक्ति गरेमा अनुशासन उल्लंघन गरेको मानिने व्यवस्था छ ।
देउवा पक्षको १५औँ महाधिवेशन कार्यतालिका पारित
समानान्तर १५औँ महाधिवेशनका लागि देउवा पक्षको बैठक चुनदेवीस्थित इतर पक्षको सम्पर्क कार्यालयमा जारी छ । बुधबार सुरु भएको बैठक शुक्रबार समापन गर्ने तयारी छ । बिहीबारको बैठकले १५औँ केन्द्रीय महाधिवेशन आगामी २१, २२ र २३ मंसिरमा काठमाडौंमा गर्ने कार्यतालिका बैठकले अनुमोदन गरेको छ ।
त्यसअघि १५ असोजमा वडा अधिवेशन, २० असोजमा पालिका अधिवेशन, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, १५ कात्तिकमा जिल्ला अधिवेशन, ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । विदेशस्थित जनसम्पर्क समितिको कार्यतालिका भने आवश्यक परामर्शपछि प्रकाशित गरिने दीपक कुइँकेलले जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङमा अधिवेशन कार्यतालिका पछि प्रकाशित गर्ने निर्णय भएको छ । यस्तै, अधिवेशन, महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश ७७ वटा जिल्ला र जिल्लामार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनमा निर्वाचन अधिकृत र मतदान अधिकृतहरू पठाउने निर्णय भएको छ ।
अधिवेशन तयारी समिति गठन गर्ने निर्णय
बैठकले अधिवेशन तयारी समिति गठन गर्ने निर्णय गरेको छ । जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्न सम्बन्धित प्रदेशको केन्द्रीय सदस्यको सिफारिसमा ७७ वटै जिल्लामा सचिवालयले केन्द्रीय प्रतिनिधि पठाउने निर्णय भएको छ । ‘केन्द्रीय प्रतिनिधिले यथाशीघ्र जिल्लाहरूमा पुगी २५ भदौभित्र जिल्ला अधिवेशन तयारी समिति, २८ भदौभित्र संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति र प्रदेश सभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, ३ असोजभित्र पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति गठन गरिसक्नेछन्,’ सचिवालय संयोजक कुइँकेलले भने, ‘विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन तयारी समितिहरू आवश्यक परामर्श गरी सचिवालयले गठन गर्नेछ ।’
वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन तयारी समितिले ९ असोजभित्र नयाँ क्रियाशील सदस्य दिइसक्ने र नयाँ क्रियाशील सदस्य, १४औँ महाधिवेशनमा भाग लिएका सबै क्रियाशील सदस्य १५औँ महाधिवेशनमा भाग लिने गरी १४औँ महाधिवेशनमा निर्णय गरेका सबै क्रियाशील सदस्य, गत १० पुसभित्र नवीकरण गरिसकेका क्रियाशील सदस्य र गत १० पुसभित्र क्रियाशील फाराम भरिसकेको नयाँ कियाशील सदस्यलाई १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय बैठकले गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कुनै विवाद आएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने निर्णय पनि बैठकले गरेको छ ।
प्रदेश र स्थानीय तहमा उम्मेदवार उठाउने
देउवा पक्षले प्रदेश र स्थानीय तहमा छुट्टै उम्मेदवार उठाउने तयारीसमेत गरेको छ । इच्छुक उम्मेदवारको नामावली संकलन र उपयुक्त उम्मेदवारको छनोटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय बैठकले गरेको छ । ‘प्रदेश सभा, स्थानीय तह गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख/उपप्रमुख र वडाध्यक्ष, सदस्य निर्वाचनका लागि सम्बन्धित तह र समितिले इच्छुक उम्मेदवारको नामावली संकलन र उपयुक्त उम्मेदवारको छनोटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरियो,’ कुइँकेलले भने ।