मेसीले लिए दोस्रोपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण
  • अर्जेन्टिनी कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा हस्तलिखित नोटको फोटो राख्दै राष्ट्रिय टोलीबाट बिदा भएको जनाए

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले दोस्रोपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । अर्जेन्टिनालाई फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका ३९ वर्षीय मेसीले आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका छन् । ‘यो निर्णय घोषणा गरिरहँदा पीडा महसुस भइरहेको छ, तर समय आएको छ । मैले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको छु,’ मेसीले भनेका छन् । सन् २०१४ देखि ०१५ सम्म अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनल पराजित भएपछि मेसीले पहिलोपटक सन्न्यास लिएका थिए ।

अर्जेन्टिनी जनताको आग्रहमा उनले सन्न्यास फिर्ता लिँदै अन्तर्राष्ट्रिय खेलमा फर्किएका थिए । सन्न्यास फिर्ता लिएपछि मेसीले अर्जेन्टिनालाई एकपटक फिफा विश्वकप कोपा अमेरिका उपाधि दिलाउन सफल भए । उनकै कप्तानीमा अर्जेन्टिना लगातार दुईपटक विश्वकपको फाइनलमा पुगेको थियो । २०२१ मा उनकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिका जितेको थियो । त्यसको अर्को वर्ष कतारले आयोजना गरेको विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा अर्जेन्टिनाले हराउँदै तेस्रोपटक विश्वकप जित्दा मेसी नै कप्तान थिए ।

दुई दशकको अन्तर्राष्ट्रिय करिअरमा मेसी अर्जेन्टिनाका लागि सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले राष्ट्रिय टोलीबाट २१० खेलमा १२५ गोल गरेका छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा फिनालिसीमा उपाधि जितेको थियो ।

कीर्तिमानी रूपमा आठपटकका बालोन डिअर विजेता मेसी अहिले अमेरिकन क्लब इन्टर मियामीबाट क्लब फुटबल खेलिरहेका छन् । उनको सन्न्याससँगै अर्जेन्टिनाले आफ्नो स्वर्णिम पुस्ताका अन्तिम महान् कप्तानलाई बिदाइ गरेको छ । सामाजिक सञ्जालमा मेसीले आफ्नो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भएको जनाए । ‘विश्वकपको फाइनलपछि धेरै समय सोचेँ, अब राष्ट्रिय टोलीबाट सन्न्यास लिने निर्णय गरेको छु,’ उनले सोसल मिडियामा भनेका छन्, ‘यो निर्णयले मेरो मन दुखाएको छ र अझै पनि दुखाइरहनेछ, तर म बुझ्छु, यही समय हो ।’ उनले अर्जेन्टिनाको जर्सीका लागि सधैँ आफ्नो सम्पूर्ण शक्ति दिएको बताउँदै समर्थकलाई गर्व गराउने प्रयास कहिल्यै नछोडेको उल्लेख गरेका छन् ।

मैदानबाहिर समर्थन गरिरहने वाचा
मेसीले भावुक हुँदै सन्न्यास घोषणा गर्दा आफू कहिले पनि अर्जेन्टिनी राष्ट्रिय टोलीलाई बिर्सन नसक्ने र सधैँ माया रहने उल्लेख गरेका छन् । ‘अर्जेन्टिनी जर्सीमा मैले २० वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा गरेँ, राष्ट्रिय टोलीप्रतिको आफ्नो प्रेम कहिल्यै समाप्त हुनेछैन,’ उनले भनेका छन्, ‘म राष्ट्रिय टोलीलाई माया गर्थेँ, गर्छु र सधैँ गर्नेछु । अब म मैदानभित्र होइन, बाहिरबाट तपाईँहरूसँगै अर्जेन्टिनालाई समर्थन गर्नेछु ।’ मेसीले परिवार, प्रशिक्षक, टोलीका सहकर्मी र सम्पूर्ण समर्थकप्रति आभार व्यक्त गरेका छन् ।

उनले जीवनको सबैभन्दा खुसीका रूपमा विश्वकप ट्रफी उचालेको क्षणलाई लिन्छन् । ‘मेरो दुई दशकको यात्रामा सबैभन्दा खुसी र अविस्मरणीय क्षण भनेको कतारमा हामीले विश्वकप जितेको क्षण नै हो,’ उनले भने, ‘त्यो जितेको क्षणलाई जीवनकै सबैभन्दा अविस्मरणीय सम्झनाका रूपमा रहनेछ ।’ उनले आफ्नो यात्राको क्रममा भगवान्लाई धन्यवाद दिएका छन् । ‘भगवान्, मलाई अर्जेन्टिनी बनाइदिनुभएकोमा धन्यवाद । अर्जेन्टिना, सधैँ अगाडि बढ,’ उनी भन्छन्, ‘मैले सधैँ सबैथोक दिएँ । पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडेँ ।’

उनले अर्जेन्टिनी टोलीमा युवा पुस्ताको आवश्यकता भएको जनाए । युवा पुस्ताले अर्जेन्टिनाको फुटबल इतिहास कोर्ने उनको विश्वास छ । ‘अब मसँग दिन बाँकी केही छैन । नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आउँदै छन्, उनीहरू नै यो स्थानका हकदार हुन्,’ उनले लेखेका छन्, ‘नयाँ पुस्ताका खेलाडीलाई मौका दिनुपर्छ, मेरो समय सकिँदै छ, अध्याय बन्द हुँदै छन् ।’ 

सुझावित समाचार