अमेरिकी सहयोग कटौतीले अफगानिस्तानलाई दिएको धक्का

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण
  • अफगानिस्तानमा ट्रम्प प्रशासनले मानवीय सहायता रोक्का गर्दा यसको मूल्य विशेषगरी महिला र बालबालिकाले चुकाउनुपरिरहेको छ

पाँच वर्षअघि यही महिना काबुल तालिबानको कब्जामा पुगेको थियो । त्यस साताका दृश्यहरूले आज पनि धेरै अमेरिकीको अफगानिस्तानप्रतिको धारणालाई परिभाषित गर्छन् : विमानस्थलका ढोकाहरूमा भएको अत्यधिक भिडभाड, काँडेतारमाथिबाट साना बालबालिकालाई अर्कोतर्फ पठाउँदै गरेका परिवारहरू र उड्न लागेका विमानको बाहिरी भाग (फ्युजलेज)लाई समातेर झुन्डिएका हतास मानिसहरू । यो अमेरिकी विदेश नीतिको एक नाटकीय र निकै चर्चामा आएको असफलता थियो । तर, त्यसपछिका वर्षहरूमा, वासिङटनले अफगान जनतालाई निराश बनाउने वा असफल हुने नयाँ र कम चर्चामा आउने तरिकाहरू अपनाएको छ । यसपटकको असफलतामा मानवीय क्षति (मृत्यु)सँग पनि जोडिएको छ, जसलाई ट्रम्प प्रशासनले अहिलेसम्म अस्वीकार गरेको छ ।

सन् २०२५ को मे महिनामा विदेशमन्त्री मार्को रुबियोले विदेशी सहायता कटौती गर्ने प्रशासनको निर्णयका कारण धेरै मानिसहरूको ज्यान गइरहेको छ भन्ने चिन्तालाई अस्वीकार गरे । उक्त कटौतीका कारण कसैको पनि मृत्यु नभएको उनले दाबी गरे । उनले कंग्रेससमक्ष भने, ‘मेरो कार्यकालमा कुनै पनि बालबालिकाको मृत्यु भइरहेको छैन ।’ यो एक असाधारण दाबी थियो र सूक्ष्म विश्लेषण गर्दा यो दाबी सत्य ठहरिँदैन ।

‘रिफ्युजिज इन्टरनेसनल’द्वारा गरिएको ६ महिना लामो अनुसन्धानले अफगानिस्तानको वास्तविक अवस्थाको कसीमा रुबियोको दाबीको परीक्षण गर्यो । सहायता कटौतीले धरातलीयस्तरमा पारेको प्रभाव बुझ्न हामीले स्वास्थ्यकर्मीहरूको सञ्जालसँग सहकार्य गर्यौँ । हामीले अफगानिस्तानका ३४ मध्ये ३० प्रान्तमा ५५५ जना अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूमाझ सर्वेक्षण गर्यौँ । तीमध्ये करिब ७० प्रतिशत अभ्यासमा रहेका सुडेनी थिए । साथै, हामीले ६ वटा प्रान्तका ३२० भन्दा बढी अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट मृत्युसम्बन्धी तथ्यांक प्रत्यक्ष रूपमा संकलन गर्यौँ ।

सर्वेक्षणका नतिजा र स्वास्थ्य संस्थाका तथ्यांकले समग्रमा एउटा धराशायी हुँदै गरेको प्रणालीको भयावह तस्बिर प्रस्तुत गर्छन्, जसको अत्यन्तै विनाशकारी मूल्य महिला र बालबालिकाले चुकाउनुपरिरहेको छ । अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य संस्था बन्द हुँदा गर्भवती महिलाहरूको मृत्यु भएको छ । समयमै दक्ष स्वास्थ्य सेवा नपाउँदा आमाको गर्भमै शिशुहरूको मृत्यु भएको छ । अमेरिकाको लगानीमा सञ्चालित अक्सिजन प्लान्ट बन्द भएपछि अक्सिजन नपाएर नवजात शिशु तथा बालबालिकाहरूको मृत्यु भएको छ ।

सन् २०२५ को सुरुतिर, ट्रम्प प्रशासनले अफगानिस्तानका लागि छुट्याइएको करिब ७३ करोड ६० लाख डलरबराबरको मानवीय सहायतासहित एक अर्ब ७० करोड डलरभन्दा बढीको सहयोग रकम खारेज वा रोक्का गर्यो । यो रकम अफगानिस्तानले पाउने कुल सहायताको करिब आधा हिस्सा थियो । अक्टोबर २०२५ सम्ममा, विश्व स्वास्थ्य संगठनले अफगानिस्तानभर ४२० भन्दा बढी स्वास्थ्य संस्था बन्द वा स्थगित भएको तथ्यांक अभिलेखीकरण गरेको थियो, जसका कारण ३० लाखभन्दा बढी मानिसहरू स्वास्थ्य सेवाबाट वञ्चित भए ।

हाम्रो अनुसन्धानले ३२० वटा स्वास्थ्य संस्थाहरूबाट मातृ तथा नवजात शिशुको मृत्युसम्बन्धी सार्वजनिक स्वास्थ्य तथ्यांकको अभिलेखमा पहुँच प्राप्त गर्यो । सहयोग कटौती हुनुअघि र त्यसपछिका मृत्युका घटनाहरूको सावधानीपूर्वक तुलना गर्दा मातृ तथा नवजात शिशुको मृत्युदरमा तीव्र वृद्धि भएको पाइयो । हेरातको अस्पतालको तथ्यांकले सन् २०२५ यता मातृ मृत्युदर पाँच गुणाले बढेको देखाएको छ । ान्गरहारमा, अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा नवजात शिशुको मृत्युदर करिब ६० प्रतिशतले बढ्यो भने कुनारमा श्वासप्रश्वासमा अवरोधका कारण हुने नवजात शिशुको मृत्यु १५६ प्रतिशतले वृद्धि भयो ।

सुडेनी र अन्य स्वास्थ्यकर्मीसँग गरिएका सर्वेक्षणहरूले अस्पतालको तथ्यांकलाई पुष्टि गरे । उत्तरदाताहरूले अमेरिकी सहयोगमा सञ्चालित स्वास्थ्य सेवाहरू ठप्प हुँदा प्रत्यक्ष रूपमा जोडिएका कम्तीमा १६१ वटा रोक्न सकिने मृत्युका घटनाहरूको विवरण दिए : जसमा ८० आमा, ३० नवजात शिशु, १४ बालबालिका र २६ वयस्कहरू समावेश थिए । यी त्यस्ता व्यक्तिगत घटनाहरू हुन् जसको विवरण उत्तरदाताले अत्यन्तै मर्माहत बनाउने किसिमले प्रस्तुत गरेका थिए । सर्वेक्षणमा सहभागी हरेक पाँचमध्ये दुई स्वास्थ्यकर्मीले सहयोग कटौतीपछि उपचार सेवा नपाएर ज्यान गुमाएका व्यक्तिलाई आफूले व्यक्तिगत रूपमा चिनेको बताए । पाँचमध्ये तीनजनाले मृत्यु नभए पनि गम्भीर स्वास्थ्य समस्याको सामना गरेका बिरामीलाई चिनेको बताए । सर्वेक्षणको नतिजाको समीक्षा गर्ने प्रमुख जनस्वास्थ्यविज्ञहरूले वास्तविक मृत्यु तथा क्षतिको संख्या पक्कै पनि अझ बढी भएको निष्कर्ष निकाले ।

मृत्यु भएका व्यक्तिहरूका परिवारका सदस्य, चिकित्सक र सुडेनीहरूको प्रत्यक्ष अनुभव तथा भनाइहरूले यी तथ्यांकहरूको पछाडिको वास्तविकता बुझ्न मद्दत गरे । जललाबादमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित परियोजनामा कार्यरत चिकित्सक शाह मोहम्मद र अन्य स्वास्थ्यकर्मीहरूले बताएअनुसार, कोष कटौतीपछि जलालाबाद र आसपासका स्वास्थ्य संस्थाहरूलाई सेवा दिने युएसएआइडी समर्थित अक्सिजन प्लान्ट बन्द भएको थियो । यसका परिणामहरू विनाशकारी थिए । उनले अनुमान गरेअनुसार, यसको प्रत्यक्ष नतिजास्वरूप अस्पताल भर्ना भएका बालबालिकामध्ये तीनदेखि चार प्रतिशतको मृत्यु भयो । निमोनियाका कारण भर्ना भएका शिशुहरू र अक्सिजन आवश्यक पर्ने नवजात शिशुहरूले संघर्ष गर्दागर्दै ज्यान गुमाए ।

काबुलमा, एक स्वास्थ्यकर्मीले गर्भावस्थाको अन्तिम चरणमा रहेकी एक महिला आपत्कालीन प्रसूति सेवाका लागि अहमद शाह बाबा अस्पताल आइपुगेको घटनाबारे बताए । कोष कटौती हुनुअघि उक्त अस्पतालको प्रसूति विभागमा ५२ जना सुडेनीहरू कार्यरत थिए । कटौतीपछि भने प्रतिसिफ्ट करिब १०० वटा प्रसूति सेवा सम्हाल्न एक वा दुईजना सुडेनी मात्र बाँकी छन् । ती महिलालाई अन्यत्र रिफर गर्नुपर्यो, तर उपचार पाउनुअघि नै उनको मृत्यु भयो ।

निमरोज प्रान्तमा, एक व्यक्तिले जुम्ल्याहा बच्चा जन्माउने तयारीमा रहेकी आफ्नी बहिनीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लैजाँदा उक्त अस्पताल बन्द अवस्थामा फेला परेको घटना सुनाए । परिवारले सवारीसाधन खोज्न निकै संघर्ष गर्नुपर्यो र त्यसपछि प्रान्तीय अस्पताल पुग्न घण्टौँको यात्रा तय गर्नुपर्यो । अस्पताल पुग्दा उनी गम्भीर बिरामी भइसकेकी थिइन् र कर्मचारीको अभावका कारण उनको उपचारमा थप ढिलाइ भयो । दुई घण्टापछि उनको मृत्यु भयो । उनका जुम्ल्याहा बच्चाहरू मृत अवस्थामा जन्मिएका थिए ।

ट्रम्प र रुबियोले भत्काएका वा समाप्त पारेका धेरैजसो संरचनाहरू निर्माण गर्न संयुक्त राज्य अमेरिकाले अफगानहरूलाई सहयोग गरेको थियो । दुई दशकभन्दा लामो समयसम्म, अमेरिकी सहयोगमार्फत ६०० भन्दा बढी अफगान स्वास्थ्य संस्थाहरूको निर्माण वा मर्मत–सम्भार गरियो र त्यहाँ सेवा प्रदान गर्ने सुडेनीहरूको एउटा पुस्तालाई तालिम दिइयो । 

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि पनि वासिङटनले त्यो सहयोग निरन्तर उपलब्ध गरायो । यस क्रममा आधारभूत मातृ तथा बाल स्वास्थ्य सेवा र अन्य मानवीय सहायतालाई राजनीतिभन्दा अलग राखियो । तर, गत वर्ष ट्रम्प प्रशासनले यो सहयोग बन्द गरिदियो ।

ट्रम्प प्रशासनले अफगानिस्तानमा मानवीय सहायता रोक्ने आफ्नो निर्णयको बचाउ गर्दै यसले तालिबानलाई वैधता दिनबाट रोक्ने तर्क गरेको छ । तर, अफगान महिला तथा किशोरीहरूका लागि पूर्वअमेरिकी विशेष दूत रिना अमिरीले भनेकी छिन् कि यस्तो कटौतीले तालिबानलाई भन्दा अफगान महिला तथा किशोरीहरूलाई नै बढी असर गर्छ । तालिबानको शासनकालमा महिला तथा किशोरीहरूले पहिले नै लैंगिक विभेदमा आधारित दमनकारी व्यवस्थाको सामना गरिरहेका छन् । उनीहरूलाई माध्यमिक विद्यालय जान र अधिकांश रोजगारीमा संलग्न हुनबाट वञ्चित गरिएको छ, साथै पुरुष संरक्षकविना सार्वजनिक जीवनमा हिँडडुल गर्न पनि रोक लगाइएको छ ।

स्वास्थ्य सेवा क्षेत्र ती अन्तिम क्षेत्रहरूमध्ये एक थियो जहाँ अफगान महिलाहरूले काम गर्न पाउँथे । यो ती अन्तिम क्षेत्रहरूमध्ये पनि एक थियो जहाँ महिलाहरूले महिला स्वास्थ्यकर्मीबाटै उपचार गराउन सक्थे । जब अमेरिकी सहयोग बन्द भयो, हामीले सर्वेक्षण गरेका करिब ७० प्रतिशत सुडेनीहरूले आफ्नो रोजगारी गुमाए, यसरी सार्वजनिक जीवनमा अफगान महिलाहरूको पहुँचको एउटा अन्तिम आधार पनि समाप्त भयो । यस कदमले तालिबानको त्यो दमनकारी व्यवस्थालाई अझ बलियो बनायो जसको विरोध गर्ने दाबी वासिङटनले गर्दै आएको छ ।

(प्रियाली आप्रवासन तथा शरणार्थी अधिकारका क्षेत्रमा केन्द्रित विज्ञ हुन् भने हार्डिन रिफ्युजिज इन्टरनेसनलका कार्यक्रम तथा नीतिसम्बन्धी उपाध्यक्ष हुन् )
– फरेन पोलिसीबाट

सुझावित समाचार