सिपाही : जो लड्छ, तर इतिहासमा छुट्छ

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

नागरिक ढुक्कसँग रातमा निदाउन कसका कारणले सकेका छन् ? सिपाहीकै कारण । अनि सिपाहीको हालत कस्तो छ ? निरीह, दयनीय, कठिन । 

यो देश कसले बनाएको हो ? देशका निर्माता को हुन् ? देशका असली रक्षक को हुन् त ? सिपाही वा अरू कोही ? नेपालको सिमाना कुनै वेला टिस्टादेखि काँगडासम्म फैलिएको कसको योगदानमा ? टिस्टामा खुँडा पखालेर सतलजमा तरबार धोएको कसको बल र तागतमा हो ? सबैले गर्वका साथ भन्न सक्छौँ, त्यो सबै सिपाहीको बलमा भएको हो । तर, तिनको नाम छ त कतै इतिहासमा ? छैन, कतै छैन । कोही त थिए होलान् नि अहिले हामी बाँचेजस्तै मान्छे त्यो वेला पनि ? नेपालको एकीकरणमा पृथ्वीनारायण शाह, बहादुर शाह आदिको आदेशमा ती भयानक युद्ध कसले लडेको हो ? सिपाहीले । विश्वयुद्ध कसले लडेको र ती ब्रिटिसका मोहोरा बनेर विश्वका अनेकौँ मोर्चामा गोर्खालीको नामबाट लडाइँ कसले लडिदिएको हो ? सिपाहीले । अझै लद्दाख र कास्मिर भ्यालीमा को लडिदिएको छ ? भलै अर्कै देशका लागि किन नहोस् । तर, लड्ने उही बहादुर नेपाली सिपाही । 

१० वर्षे आन्तरिक सशस्त्र द्वन्द्वको कहालीलाग्दो भुमरीको अग्रिम मोर्चा कसले झेल्यो नेताले कि सिपाहीले ? जवाफ एउटै छ, सिपाहीले । को मारियो ? सत्ताको पगरी गुथ्ने नेता कि गाँसको भरमा सेवा गर्ने सिपाही ? लड्यो त नेपालका कुनाकन्दरामा जन्मेका भुइँ मान्छे, आवाजविहीन । मारियो त निर्दोष नेपाल आमाका सन्तान सिपाही । देशमा अझै कोही नपुगेको दूरदराजमा राज्य छ भनेर सन्देश प्रवाह गर्दै देश धानिदिने पनि उही सिपाही । दूरदराजमा राज्यको प्रतिनिधित्व गर्ने अर्थात् सिपाही । चोक–चोकमा, बाटो चौबाटैमा अविचलित, चारै प्रहर को उभिरहेको छ ? सिपाही । सुकिलो कपडा लगाएर क्षणभरमै धुस्रेफुस्रे भएर उभिइरहेको ट्राफिक प्रहरी एकैछिन भएन भने के हुन्छ सहरमा ? अस्तव्यस्त । कसरी धानिरहेको छ यो उकुसमुकुस त्यो मान्छेले ? नागरिक ढुक्कसँग रातमा निदाउन र दिउँसो ढुक्क हिँड्डुल गर्न कसको कारणले सकेका छन् ? सिपाहीकै कारण । अनि सिपाहीको हालत कस्तो छ त ? निरीह, दयनीय, कठिन । भन्नै नसकिने अन्योलपूर्ण, बाँच्नै धौधौको जिन्दगी । 

सडकमा चौबीसै घन्टा अविचलित खटिइरहने तप्काका बारेमा कहिल्यै विमर्श हुन सक्यो त हामीकहाँ ? सर्वदा विमर्श सत्ताको हुने गर्छ, तर सत्ता र सार्वभौमिकतालाई जोगाएर यहाँसम्म ल्याउनेको विमर्श किन हुँदैन ? बहस, छलफलको विषय किन बन्दैन सिपाही ?
 

प्रश्न यहीँ उठ्छ, यति धेरै कष्ट व्यहोरेर हरेक मोर्चामा होमिँदै आइरहेका सिपाही यति बिघ्न राप–ताप अनि पीडा–सन्तापले किन तैनाथीमा छ ? कुन प्रेरणाले भरिदिएको छ, त्यसको मन र तन अनि ऊ सदा–सदा त्यसरी आफू गुमाएर अरूका लागि मान्छेविहीन पहिचानको मान्छे निरन्तर–निरन्तर बाँचिरहेको छ । हाम्रोमा धेरैका बहस भए, तर सिपाहीको भएन, धेरैका इतिहास लेखिए, तर त्यसको लेखिएन, देश डुबाउने, गुमाउने अनि लुट्नेको पानाका पाना गाथा कोरिए, देश जोगाउनेकोे कोरिएन । सधँै किन यस्तो भइरहेछ, अन्याय निरन्तर–निरन्तर । अत्याचार एकोहोरो, एकोहोरो ! किन द्रवीभूत बन्दैन, मान्छेको मन उसको सामुन्ने भएर गुज्रिँदा पनि ? किन राज्य उपयोग मात्र गर्छ, तर पूरै बेवास्ताले लत्याउँछ गण्डकी, अरुण, आँधीखोला र काली भएर बगेका पसिनाको अनि कोसी, दरौँदी, चौमाला र राप्ती बनेर बगेका रगतको ?

दार्चुलाको टिंकरमा हिउँको थुप्रो पन्छाउँदै हाम्रा पुर्खाले आर्जेको देश यहाँसम्म हो भन्ने दृढताका साथ घरिघरि सीमास्तम्भ हेर्न गस्ती गर्न जान्छ सिपाही । हिल्सा झर्छ अनि उक्लिन्छ । ओलाङचुङगोलामा ठिही छल्दै रात काट्छ सिपाही । कोरोला नाकामा ठिहिरो छल्दै यही हो जाडोको ज्याकेट भनेर गर्मी महसुस गर्छ सिपाही । तराईमा सर्प, बिच्छीसँगै पैंतालीस डिग्रीको रापमा हुरीले उडाउला कि भनेर पाल समाउँदै सीमा रक्षा गर्छ सिपाही । त्रिशूलीमा अड्किएको बसभित्रको मान्छे निकाल्न साउने भेलमा हेलिन्छ सिपाही । राजधानीलगायतका कंक्रिटे सहरहरूमा दिनरात रुँघिरहेको हुन्छ सिपाही । सत्ताको विरोध गर्न, सिपाही लिएर वेला–वेलामा नेता जुलुस जान्छन्, धर्ना बस्छन् । सिपाही टुलुटुलु सुन्छ भाषण, टुप्पी पुरिउन्जेल नेताको गलामा मालाले पुरिन्छ, माला भुइँभरि पोखिन्छ, लत्रिन्छ, तर त्यसलाई हर थ्रेटबाट जोगाउने सिपाहीको गलामा माला कहिल्यै पर्छ ? पर्दैन । किनकि सिपाही तृप्त हो, नपाउँदा पनि । तर, मालाधारी लुब्धो हो, सदा अतृप्त । यतिसारो दुःख गरेको त्यसको जिन्दगी किन उज्यालो हुन सकिरहेको छैन ? अवकाश भएपश्चात् पनि रोजगारी खोजेर पेट पाल्नुपर्ने, बालबच्चाका लागि अनगिन्ती चिन्ताले पिल्सिइरहनुपर्ने के कारणले भएको हो सिपाहीको ? जिम्मेवार को हो ? मर्म नबुझ्ने सरकार वा बुझेर पनि बेवास्ता गरिरहने हामी करतिरुवा, सेवा पाउनु अधिकार सम्झनेहरू सबै सबै ?

यसरी हामी आमरूपमा परिचित सिपाही भन्नासाथ सुरक्षा निकायमा भर्ना हुने फौजको तल्लो दर्जा नै हो, तर सिपाही सबै हो । सबै सुरक्षा निकायमा रहेका यिनै तप्का नै वास्तवमा फौज हो देशको । हिजो देशका लागि लडेका पनि यिनै हुन् र अहिले खटिइरहेकाहरू पनि यिनै हुन् । सामान्य नागरिक जब सुरक्षा निकायमा प्रवेश गर्छ, उसलाई सुरुमा रोजगारको अभावले तान्ला या अन्य कारणले, तर सेवाको अवस्थामा म केही होइन, मेरो ज्यानभन्दा ठूलो देशको रक्षा र जनताको ज्यान ठूलो हो भनेर अभिप्रेरित हुन्छ । निकै ठूलो र महत्वपूर्ण पक्ष हो यो । युद्धको मोर्चामा लडाउनु, एक साथीको ज्यान जोगाउन आफूसँगका चारजनाको ज्यानसमेत गुमाउनुपर्ने स्थिति कठिन कार्य हो । यिनै ज्यादै जोखिमयुक्त काम गर्न सदा तम्तयार सुरक्षाकर्मी अर्थात् सिपाहीलाई उसको बलिदानको समुचित कदर गरिनुपर्छ । 

म, कर्तव्यपथमा लाग्दा मरे पनि मेरा परिवार भोकै पर्दैनन्, फेरि जुलुस निकाल्दै सरकारको ध्यानाकर्षण गर्नुपर्ने अवस्था आउँदैन भनेर ढुक्कसँग जस्तोसुकै भूमिकामा पनि मनैदेखि लाग्ने बनाउन जरुरी हुन्छ र यसका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्छ । बल्ल सिपाही देशका लागि होमिन्छ ।

म, कर्तीयपथमा लाग्दा मरे पनि मेरा परिवार भोकै पर्दैनन्, फेरि जुलुस निकाल्दै सरकारको ध्यानाकर्षण गर्नुपर्ने अवस्था आउँदैन भनेर ढुक्कसँग जस्तोसुकै भूमिकामा पनि मनैदेखि लाग्ने बनाउन जरुरी हुन्छ र यसका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्छ । अन्य देशमा यस्ता कार्यका लागि के–कस्ता व्यवस्था गरिएको छ, त्यो अध्ययन गरेर नीति तर्जुमा गरिनुपर्छ । बल्ल सिपाही देशका लागि होमिन्छ, नागरिकका लागि सदा समर्पित भइरहन्छ । म मरेमा मसँग आश्रितको बिचल्ली हुन्छ भन्ने सोच कर्तव्यपथमा आउन दिनुहुँदैन । निर्धक्क भएर लाग्ने बनाउनु जरुरी हुन्छ समयमै । वास्तवमा यो देश बनाउन, जोगाउन, अमनचयन कायम गर्न जुन जनशक्ति अन्तहीन तवरमा, हरप्रहर, लामबद्ध रूपमा खटिरहेको छ, त्यसको मनोविज्ञान, समस्या, सोच र यथार्थलाई नियाल्ने प्रयास गरिनुपर्छ । र, त्यसलाई मनन गरेर सरकारले सिपाहीका आधारभूत आवश्यकता पूरा गर्न लाग्नुपर्छ । 

हामी सबैलाई थाहा छ, सुरक्षा निकायका सिपाहीहरू, अझ प्रहरी देशको कुना–कन्दरामा पुगेको छ, उसले नचिनेको, नजानेको र नबुझेको सायदै होला । आत्मा साक्षी राखेर भन्ने हो भने सरकार छ भन्ने अनुभूति दिलाउने भनेकै सिपाहीले हो । वास्तवमा नारा सर्वहारको लगाउनेले पनि सबैभन्दा पहिला दुस्मन त्यसैलाई देखे, शत्रु तिनैलाई ठाने र त्यही वर्गको निर्दोेष सिपाहीउपर सत्ताको आवेग र रिस अनि आक्रोश पोखियो । सडकमा चौबीसै घन्टा अविचलित खटिइरहने तप्काका बारेमा साँच्चिकै कहिल्यै विमर्श हुन सक्यो त हामीकहाँ ? सर्वदा विमर्श सत्ताको हुने गर्छ, तर सत्ता र सार्वभौमिकतालाई जोगाएर यहाँसम्म ल्याउनेको विमर्श किन हुँदैन ? बहस, छलफलको विषय किन बन्दैन सिपाही ? के खान्छ सिपाहीले, कस्तो समस्या छ तिनको र आफ्नो जिन्दगी देशका लागि कटाएर के लिएर फेरि गाउँ फर्किन्छ सिपाही ? के यो मुद्दा देशको मुद्दा हुन सक्दैन ?

सिपाही किन हेपिन्छ ? किन मोहोरा बनाइन्छ, सत्ताको सदैव उसलाई । किन कहिल्यै हाँस्दैन सिपाही ? अनि त्यसको मुहारमा कान्ति ल्याउन के गरिनुपर्छ ? त्यो हाँसेको दिन, त्यसको मन खुलेको दिन कस्तो हुन्छ ? सान्त्वना मात्रै होइन कि सिपाही केही त हो भन्ने मनोविज्ञान विकसित गर्न जरुरी छ अब । नयाँ भनिएको नेपालमा सिपाही पुरानै भएर बाहिरिनुपर्ने प्रचलनको अन्त्य खोजिरहेको छ देशले । सिपाहीले सबै देख्छ, तर भन्दैन । सिपाहीले सबै बुझ्छ तर प्रतिक्रिया दिँदैन । महँगा सवारी साधनलाई हात हल्लाएर स्वागत गर्छ, तर त्यो मेरो पनि हुनेछ भनेर सपना देख्दैन जुनीभर । आफू पसिनाले कटकटिएको दुई जोर युनिफर्म बोकेर, जिन्दगीको उर्वर अवस्था यतै बिसाएर फेरि गोरखा फर्किन्छ, रानीमत्ता उक्लिन्छ र तमोरको किनारैकिनार उकालो लाग्छ, बाँकी जिन्दगी बिताउन । चुहिएको छानो, मक्किएको खाँबो फेर्न फेरि पर्म जान्छ, उतै जिन्दगी बिताउने वाचाले घरिघरि मन बहलाउँछ ऊ । वास्तवमा ती आलिसान महलअगाडि उभिएको तस्बिर र सुकिलामुकिलाहरू चिल्ला गाडीमा ओहोरदोहोर भइरहेको, तिनैका सन्तानलाई महँगा स्कुल कलेजमा छाडिरहेको र दिनुपर्नेलाई सलामी दिइरहेको झझल्कोमै बिलाउँछ ऊ । तर, जब ऊ बिउँझन्छ, झल्याँस्स हुन्छ । ह्यांगरमा झुन्डिएको पुरानो युनिफर्मले उसलाई त्यतिवेला गिज्याइरहेको हुन्छ । नयाँ नेपाल, समृद्धि, सत्य सेवा सुरक्षा, शान्ति सुरक्षा प्रतिबद्धता, रक्षा देश कल्याणको गानाहरू झंकृत भइरहन्छ मनमा । के कसो हो कुन्नि द्विविधा तेर्सिरहन्छ मनमा सिपाहीको । यही वास्तविकता हो ।

हिजो द्वन्द्वमा मुस्किलले त्यसको ज्यान साँढे सात लाखमा बिक्यो, हुनेहरूको सानो जमिनको मूल्य सात लाखबाट बढेर सत्तरी लाख पुग्दा उसको ज्यानको भाउ बल्ल १० लाख पुगेको छ । योभन्दा बढी भाउ पाउन अझै कैयौँ सिपाहीले कैयौँलाई सत्तामा चढाउन, झार्न बलि चढिदिनुपर्नेछ । आगोमा जलिदिनुपर्नेछ । लखेटी–लखेटी मारिनुपर्नेछ– अर्को घर्तीगाउँ, गाम, सतवरिया, धानखोला । अर्काे टीकापुर दोहोरिनुपर्नेछ या महोत्तरीमा थमन विक हुनुपर्नेछ । किन हुनुपर्छ यहाँ यस्तो, तर भइरहेको छ । 

यसरी देशका लागि यतिसम्म गरेको सिपाहीको अवस्था माथि उठाउन के गर्नुपर्छ त ? हुन त समग्र देश उठेपछि उसको सम्मान पनि स्वतः उठ्छ भन्ने धारणा हुन सक्छ । अझै सिपाहीमा त भाग्य नै हो रहेछ भन्ने सोच पनि उत्तिकै जबर्जस्त छ । तर, पनि सिपाहीको समस्या भने गहिरो गरेर बुझ्नुपर्ने भएको छ । नजरअन्दाज गरेर होइन, योजना बनाएर । उसलाई देश र जनताको कसम त खुवाइन्छ, तर किन ऊ बीचैमा छाडेर बिदेसिन बाध्य बन्छ ? देशको मायाले कि आफ्नै सन्ततिको भविष्यको पिरलोले । यस्तो पिरलो नहुने हो भने सिपाही कहीँ जाँदैन, यहीँ बस्छ । उसको मुहार हाँसेको दिन देश हाँस्छ अनि बन्छ पनि । सिपाहीको पसिना र रगतमा कसैको दाइँ अनि रजाइँ हुनुहुँदैन । 

सिपाहीको मोल बुझ्नु पर्नेछ सबैले । यो सुन्दर, शान्त नेपाललाई यहाँसम्म ल्याउन बगाएको पसिना र रगतको मूल्य सिपाहीले खोजेका छैनन्, खोज्दैनन् पनि । मात्र सजिलोसँग बाँच्न देऊ भनिरहेका छन् । सिपाहीको पसिना चुसेकाहरूले अब बुझ्नुपर्नेछ । सिपाहीलाई निश्चिन्त भएर काम गर्न सक्ने बनाउनु छ । अनेकौँ सन्तापहरूबाट मुक्त पार्नुपर्नेछ । त्यति भयो भने कवि दिनेश अधिकारीका शब्द सापट लिएर भन्नुपर्छ–
‘सिपाही कहिल्यै मर्दैन
यदि मरेको हो भने 
ऊ नियुक्तिकै दिन मरिसकेको हुन्छ
ऊ जुग–जुग बाँचिरहन्छ, बचाइरहन्छ सबैलाई । 
जय नेपाल सिपाही । 
(थापा सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्)

सुझावित समाचार