नेपालका रवीन्द्र रोड टु युएफसी सिजन ५ को फाइनलमा

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण
  • बझाङका बाघ भनी चिनिने नेपालका रवीन्द्र ढाँट अब उपाधिका लागि जापानका रियो ताजिमासँग भिड्ने

नेपालका एमएमए खेलाडी रवीन्द्र ढाँट ऐतिहासिक सफलता चुम्दै रोड टु युएफसी सिजन ५ को फाइनलमा पुगेका छन् । चीनको सांघाईमा शुक्रबार बान्टमवेटको सेमिफाइनलमा रवीन्द्रले न्युजिल्यान्डका कसिब मर्डकलाई तीन चरणको प्रतिस्पर्धामा स्प्लिट डिसिजनका आधारमा हराउँदै अन्तिम दुई स्थान पक्का गरेका हुन् । नेपाली खेलाडीसँग प्रतिस्पर्धा गर्नुअघि कसिब करिअरमा अपराजित थिए । रिङमा उत्रनुअघि उनले आफ्नो जित संख्या ८–० राखेका थिए । तर, उनी नेपाली खेलाडीसँग पराजित हुँदा अपराजित यात्रामा ब्रेक लागेको छ ।

रवीन्द्रले पनि आफ्नो करिअरमा ११–१ को जित निकालेका छन् । कसिबको ८–१ जित भएको छ । एमएमए करिअरमा रवीन्द्र सन् २०२३ मा इस्माइल खानसँग पराजित भएका थिए । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहिलो तथा तेस्रो राउन्डमा रवीन्द्रले आफ्नो पक्षमा राख्नु नै फाइनल यात्रा सम्भव भएको हो । पहिलो राउन्डमा जजले रवीन्द्रको पक्षमा २९–२८ स्कोर दिएका थिए । दोस्रो राउन्डमा जजले कासिबलाई २९–२८ स्कोर दिए ।

तेस्रो तथा अन्तिम चरणमा रवीन्द्रले उत्कृष्ट खेल प्रदर्शन गर्दै कसिबलाई २९–२८ ले हराउँदै उपाधि भिडन्त पक्का पारेका हुन् । रवीन्द्रका प्रतिद्वन्द्वी रियो ताजिमाले शुक्रबारै भएको सेमिफाइनलमा भारतका चुङ्ग्रेन कोरेनलाई हराएका थिए । ताजिमा युनानिमस डिसिजनका आधारमा विजयी भएका थिए । ताजिमाको व्यावसायिक एमएमए रेकर्ड १२–३ रहेको छ । उनी सैतामाको चिचिबुबाट आएका जापानी फाइटर हुन् ।

तेस्रो राउन्ड आक्रामक 
पहिलो र दोस्रो राउन्डको तुलनामा रवीन्द्र तेस्रोमा आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनले न्युजिल्यान्डका कसिबलाई प्रतिस्पर्धामा फर्कन अवसर नै दिएनन् । तेस्रो राउन्डमा उनले विपक्षी खेलाडीमाथि मुक्का बर्साएका थिए । त्यसअघि रवीन्द्र खेल जित्न संघर्ष गरिरहेका थिए । न्युजिल्यान्डका कसिब भने नेपाली फाइटरमाथि हाबी हुने कोसिसमा थिए । जसका कारण तीनवटै राउन्ड रोमाञ्चक बनेका थिए ।

रवीन्द्र गत मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै अन्तिम चारमा पुगेका थिए । इन्डोनेसियाको बालीमा अन्तिम तालिम सेसन पूरा गरेर २३ अगस्टमा रवीन्द्र सांघाई पुगेका थिए । जापानिज खेलाडीविरुद्ध फाइनल खेल जिते उनले प्रतिष्ठित एमएमए संस्था युएएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन् । यस्तो सफलता पाउने उनी पहिलो नेपाली बन्नेछन् । रवीन्द्रले आफ्नो करिअरमा आठ खेल नकआउटका रूपमा जित निकालेका छन् । उनले सबमिसन र एक निर्णयमार्फत जित हात पारेका छन् । उनी नेपालको लक एन रोल एमएमएसँग आबद्ध छन् ।

गत वर्ष पहिलो व्यावसायिक उपाधि 
रवीन्द्रले एमएमए करिअर सुरुवात गरेको छोटो समयमै उपाधि चुमे । सन् २०२५ मा उनले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ मा कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै बान्टमवेट उपाधि हात पारेका थिए । भारतका कोरेन आफ्नो विधाका एक नम्बरका खेलाडी हुन् । रवीन्द्रसँग प्रतिस्पर्धा गर्नुअघिसम्म उनी पनि अपराजित थिए । तर, नेपालका फाइटरले कोरेनको अपराजित खेल यात्रामाथि पूर्णविराम लगाउँदै करिअरकै पहिलो उपाधि जिते । त्यसपछि उनी एकाएक नेपाली समर्थकमाझ चर्चित बने । उनी व्यावसायिक एमएमए प्रमोसनमा उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् । अब उनीसमक्ष करिअरको सबैभन्दा ठुलो उपलब्धि हासिल गर्ने अवसर जुरेको छ ।

नेपालका बाढीपीडितलाई सहयोग गर्न रवीन्द्रको अपिल
रोड टु युएफसी सिजन ५ को फाइनल पुगेका नेपाली फाइटर रवीन्द्रले बाढीका कारण नेपालमा गाह्रो अवस्था रहेको भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरेका छन् । सांघाईमा ऐतिहासिक सफलता चुमेपछि उनले रिङबाट सहयोगको अपिल गरेका हुन् । ‘सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहोला,’ उनले भने ।

के हो एमएमए फाइट ?
एमएमए फाइटमिश्रित मार्सल आर्टस् कला हो । यसमा फाइटरले कराँते, तेक्वान्दो, कुस्ती, जुडो, किकबक्सिङजस्ता खेलका रणनीति र शैली रिङमा प्रयोग गर्नुपर्छ । रिङभित्र दुवै प्रतिस्पर्धीलाई मुक्का र खुट्टाले प्रहार गर्न छुट छ । साथसाथै विपक्षी खेलाडीलाई कस्सिएर भुइँमा बजार्न पनि सक्छ । भुइँमा पुगेपछि शरीरको विभिन्न भाग नियन्त्रणमा लिएर प्रहार गर्न वा विपक्षीलाई आत्मसमर्पण गर्न बाध्य पार्न सक्छ ।

फाइटरले रिङमा केही नियम मान्नुपर्छ । उसले विपक्षीका आँखामा औँला हाल्न, टोक्न, घाँटीमा खतरनाक ढंगले प्रहार गर्न वा टाउकोको पछाडितिर प्रहार गर्न पाइँदैन । यस्तो कार्य गरे तत्कालै रेफ्रीले उनलाई अयोग्य घोषणा गर्छन् । रेफ्रीले दुवै खेलाडीलाई निश्चित नियममा प्रतिस्पर्धा गराइरहेका हुन्छन् । प्रतिस्पर्धामा हरेक चरणको प्रदर्शनका आधारमा अंक खेलाडीले पाउँछन् । उत्कृष्ट प्रहार वा पन्च गर्दा खेलाडीले सर्वाधिक १० अंक पाउँछन् । दुई चरणसम्म दुवै खेलाडीले एकैनासको प्रतिस्पर्धा गरिरहँदा रेफ्रीले तेस्रो चरणसम्म खेलमा निर्णय सुनाउँछन् । युएफसीका अनुसार विश्वका एक सय ७० भन्दा बढी देशमा यो खेल प्रसारण हुन्छ । 

सुझावित समाचार