भोटेकोशी बाढीपछि शव खोजी तथा संकलन तीव्र, थप १२ सय सैनिक परिचालन

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ।

शव खोजी तथा संकलनमा ढिलाइ भएको भन्दै आएका गुनासोलाई गम्भीरतापूर्वक लिँदै सेनाले विशेष टोली परिचालन गरी शव खोजी तथा संकलन कार्यलाई तीव्र बनाएको हो।

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि आज रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ।

नेपाली सेनाले बाढी प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदीकिनारका सम्भावित स्थानहरूमा सैनिक टोलीलाई खटाएर शव खोजी तथा संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

यसअघि सेनाले बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय सैनिक जनशक्ति परिचालन गरेको थियो। आज थप १२ सय सैनिक परिचालन गरिएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति दुई हजार आठ सय पुगेको छ।

नदीमा तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद सैनिक टोलीले सम्भावित स्थानहरूमा निरन्तर खोजी गर्दै शव फेला पार्ने तथा संकलन गर्ने कार्यलाई अघि बढाइरहेको नेपाली सेनाले जनाएको छ।

सुझावित समाचार