रसुवामा अलपत्र मुगुका तीनजना सम्पर्कमा, १२ जना अझै बेपत्ता

सम्पर्कमा आएकाहरूले भने – आफूहरूलाई तत्काल उद्धार गरियाेस्

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका मुगुका १५ जनामध्ये तीनजना सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका उनीहरूले आफूहरूलाई तत्काल उद्धार गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

छायानाथ रारा नगरपालिका– १० घट्टेलेख गाउँका पृथ्वी सेजुवालले केही समयअघि मोबाइलमार्फत आफूहरू रसुवाको हाँकुबेँसी भन्ने स्थानमा रहेको जानकारी दिएका छन्। उनका अनुसार आफूहरूसहित करिब ७०–८० जनाको टोली उद्धारको पर्खाइमा छ।

रसुवा हाइड्रोपावरमा काम गर्दै आएका पृथ्वीले बाढी आउनुभन्दा करिब पाँच मिनेटअघि मात्रै बाढीको सूचना पाएपछि भागेर ज्यान जोगाउन सफल भएको बताए। उनीसँगै आफ्नै गाउँका २५ वर्षीय शिवराज सेजुवाल र ३४ वर्षीय चतुर सेजुवाल पनि रहेको उनले जानकारी दिए।

उनीहरूका अनुसार बुधबार राति एउटा विद्यालयमा बसेर रात बिताएका थिए। अहिले खुला ठाउँमा रहेको र नेपाली सेनाले उपलब्ध गराएको उमालेको अन्डा खाएर गुजारा गरिरहेको उनीहरूले बताएका छन्। राति कहाँ बस्ने र कता जाने भन्ने टुंगो नभएको भन्दै उनीहरूले तत्काल सुरक्षित स्थानमा उद्धार गरिदिन आग्रह गरेका छन्।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा उपलब्ध विवरणअनुसार मुगुका १५ जनामध्ये तीनजना सम्पर्कमा आए पनि १२ जना अझै सम्पर्कविहीन छन्।

सम्पर्कविहीन हुनेमा खत्याड गाउँपालिका– ९ नखर्जिगाउँका २८ वर्षीय लोकेन्द्र सार्की र उनकी २६ वर्षीया पत्नी पुष्पा सार्की रहेका छन्। उनीहरू रसुवा भन्सारमा काम गर्दै आएको बताइएको छ।

त्यस्तै, सोरु गाउँपालिका– १ धुपीका ४२ वर्षीय धनबहादुर मल्ल, सोही वडाका जवलधरताका २५ वर्षीय हिक्मत मल्ल र सोरु गाउँपालिका– ९ कालैगाउँका ५२ वर्षीय नरनाथ योगी पनि सम्पर्कविहीन छन्। उनीहरूमध्ये धनबहादुर र हिक्मत रसुवा भन्सारमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

छायानाथ रारा नगरपालिका– १० का ३२ वर्षीय लालबहादुर सेजुवाल र छायानाथ रारा नगरपालिका– ६ का ३२ वर्षीय धर्मेन्द्र भाम पनि रसुवा हाइड्रोपावरमा काम गर्दै आएका थिए। उनीहरू हालसम्म सम्पर्कमा आएका छैनन्।

त्यसैगरी, सोरु गाउँपालिका– १० का २४ वर्षीय पर्मराज जैसी, सोही ठाउँकी २६ वर्षीया सकुन्तला जैसी र उनका चार वर्षीय छोरा डिप्पन जैसी पनि सम्पर्कविहीन छन्। पर्मराज रसुवा भन्सारमा काम गर्दै आएका थिए भने सकुन्तला रसुवामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।

मुगुम कार्मारोङ गाउँपालिका– २ का काठमाडौंको बौद्धमा बसोबास गर्दै आएका ५७ वर्षीय घ्याम्पाल लामा, उनकी ५४ वर्षीया धर्मपत्नी कार्मा छेन्जोङ लामा र ७१ वर्षीया आमा साङ्गु लामा पनि रसुवामा सम्पर्कविहीन भएका छन्। उनीहरू मानसरोवर तीर्थयात्राबाट घर फर्किने क्रममा रसुवामा हेलिकाेप्टरको प्रतीक्षामा रहेको बताइएको छ।

सम्पर्कविहीन व्यक्तिहरू कहाँ छन् र कुन अवस्थामा छन् भन्ने यकिन जानकारी नहुँदा उनीहरूका परिवारमा चिन्ता बढेको छ। परिवारजनले सम्बन्धित निकायसँग तत्काल खोजी तथा उद्धार गरी उनीहरूको अवस्थाबारे जानकारी गराउन आग्रह गरेका छन्।

सुझावित समाचार