१४औँ दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानका तीन सहरमा आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति र स्थान टुंगो भएको जानकारी दिएको छ । एनओसीका महासचिव राजीव श्रेष्ठका अनुसार प्रतियोगिता आगामी २० देखि २८ चैतसम्म पाकिस्तानका इस्लामाबाद, लाहोर र पेसावर सहरमा हुनेछ ।
इस्लामाबादमा आयोजना हुने खेलस्थलको निरीक्षण भएको उनले बताए । प्रतियोगिताको उद्घाटन इस्लामाबादको जिन्ना रंगशालामा हुनेछ । यो रंगशाला ५० हजार दर्शक क्षमताको रहेको छ ।
सन् २०१९ मा नेपालले काठमाडौंको दशरथ रंगशाला, पोखरा र जनकपुरमा १३औँ साग गरेको थियो । सात वर्षअघि पाकिस्तानले नेपालबाट सागको झन्डा बोकेर गएको थियो । यसैबिच, कोभिड– १९ का कारण सन् २०२१ मा हुनुपर्ने साग हुन सकेको थिएन । त्यसपछि भारत र पाकिस्तानसँगको सम्बन्ध राम्रो हुन नसक्दा सागको मिति घोषणा हुँदा पनि भएन ।
गत साता पाकिस्तानको इस्लामाबादमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नयाँ मिति घोषणा गरेको श्रेष्ठले बताए । ‘सागमा २८ खेल समावेश छन्, यसमा केही थपघट हुन सक्छ,’ उनले भने, ‘आयोजकका अनुसार इस्लामाबादमा १५, लाहोरमा १० र पेसावरमा तीन खेल हुनेछन् ।’ नेपालबाट ५३२ खेलाडी र १५३ अफिसियल सहभागी हुने सुरुवाती खाका एनओसीले निकालेको छ ।
इस्लामाबादमा भएको बैठकमा नेपाल र पाकिस्तानसँगै भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको पनि भौतिक सहभागिता थियो । पाकिस्तानमा बैठक भएपछि भारत भने भर्चुअल सहभागी भएको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी गराए । नेपालबाट अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सिक्का सुवाल श्रेष्ठको सहभागिता थियो ।
चार हजारभन्दा बढी खेलाडी र अफिसियल सहभागी हुने
एनओसीका महासचिव श्रेष्ठका अनुसार दक्षिण एसियाली कुम्भमेलामा खेलाडी र अफिसियल गरी चार हजारभन्दा बढी सहभागी हुनेछन् । जसमा खेलाडी तीन हजार १७२ तथा अफिसियल एक हजार १९ सहभागी हुने अनुमान गरिएको छ । आयोजक पाकिस्तानबाट ६७० खेलाडी र २०२ अफिसियल, श्रीलंकाबाट ६७० खेलाडी र २५१ अफिसियल, बंगलादेशबाट ४८२ खेलाडी र १२२ अफिसियल छन् । भारतबाट ४७२ खेलाडी र २०२ अफिसियल, माल्दिभ्सबाट २६१ खेलाडी तथा ६८ अफिसियल तथा भुटानबाट ८५ खेलाडी र २१ अफिसियल सहभागी हुने अनुमान गरिएको छ ।
३४६ स्वर्णका लागि प्रतिस्पर्धा
एनओसीले १४औँ सागमा समान ३४६ स्वर्ण र रजतका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी सागमा ५१५ कांस्य पदक समावेश गरिएको छ । एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड्स तथा स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, कराँते, रोइङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबुलटेनिस, तेक्वान्दो र टेनिस छन् । यसैगरी, ट्रायथलन, भलिबल, बिच भलिबल, भारोत्तोलन, जुडो र उसु छन् ।
भारतले भाग लिन सक्ने
एनओसी अध्यक्ष श्रेष्ठले १४औँ साग तोकिएकै मितिमा आयोजना हुने बताए । चौथोपटक तोकिएको मितिमा कुनै पनि शंका नगर्न उनको आग्रह छ । प्रतियोगिता २०२१ मै हुनुपर्ने थियो । पाकिस्तान र भारतबिचको ‘जियो पोलिटिकल’ तनावका कारण प्रतियोगिता भएन । ‘भारतले आफैँ प्रतिबद्धता जाहेर गरिसकेको छ । उनीहरू जसरी पनि प्रतियोगितामा सहभागी हुन्छन् ।
पाकिस्तानबाहिर भएका हरेक बैठकमा भारत सहभागी भएको छ,’ एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘यसपटक खेल गर्न भारत आफैँ सकारात्मक छ । अब प्रतियोगिता अब रोकिँदैन ।’ अध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो बैठकमा पाकिस्तान सरकार प्रतियोगिता आयोजना गर्न अनिच्छुक रहेको अन्य ६ देशले आरोप लगाएका थिए ।
त्यसपछि पाकिस्तान खेलकुद मन्त्रालयका प्रतिनिधि नै बहराइनमा भएको बैठकमा सहभागी भएर प्रतियोगिता आयोजना गर्ने वाचा गरेको पनि श्रेष्ठले जिकिर गरे ।