विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन्।

राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीहरूसँगको भेटमा सोमबार सञ्चारमन्त्री डा. तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। अब सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन चक्रसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक ढंगले निर्वाह गर्नुपर्ने उनले प्रस्ट पारे।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले केही समयअघि मात्रै राष्ट्रिय विज्ञापन नीति जारी भएको उल्लेख गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।

विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय तथा उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले पछिल्ला वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठुलो परिवर्तन आएको बताए। विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका तरिका मात्रै पर्याप्त नहुने भन्दै उनले प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। 

सुझावित समाचार